विकासन्युज

३० अर्ब खर्चेर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै

काठमाडौँ । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । ६ अर्ब ५० करोड रूपैयाँ बढी खर्चेर स्थानीय तहको निर्वाचन ३ चरणमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणको निर्वाचनमा भएको खर्चको भुक्तानी भने यसै आर्थिक वर्षमा निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि सरकारले  ५ अर्ब रूपैयाँ खर्च गर्न आयोगलाई अनुमति दिएको छ । आवश्यकताअनुसार अर्थ मन्त्रालयले आयोगलाई खर्च अनुमति तथा भुक्तानी उपलब्ध गराउँदै जानेछ । तर निर्वाचन आयोगले नै गर्ने खर्चभन्दा पनि सुरक्षा व्यवस्थापनका लागि बढी खर्च हुने गर्छ । निर्वाचनका लागि आवश्यक पर्ने खर्चमा कुनै कमी नआओस् भनेर अर्थ मन्त्रालयले  ३० अर्ब रूपैयाँ निर्वाचनका लागि छुट्टाएको अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले जानकारी दिए । उनले भने , “निर्वाचनमा कति खर्च हुन्छ सोहीअनुसार भुक्तानी दिँदै जानेछौँ ।” निर्वाचनमा शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन, मतगणना, निर्वाचन शिक्षा, ढुवानी तथा तालीमजस्ता कार्यमा ठूलो रकम खर्च हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि लगभग रु २० अर्बदेखि रु २५ अर्ब खर्च हुने अनुमान रहेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताउनुभयो । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चालु आव २०७४/७५ को बजेट तयार पार्दा यस आवलाई संविधान कार्यान्वयनको वर्ष भन्दै तीनै तहको निर्वाचनका लागि यथेष्ठ बजेट उपलब्ध गराउने घोषणा गरेका िथए । निर्वाचनमा खटिने प्रहरी, म्यादी प्रहरीको नियुक्ति, उनीहरुको तलब तथा कपडा, सशस्त्र प्रहरी एवं नेपाली सेनाका लागि खर्च हुने गर्छ । निर्वाचन प्रक्रियाका प्राविधिक एवं व्यवस्थापकीय पक्षलाई सवल बनाउनका लागि आर्थिकरुपमा कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बारम्बार बताउँदै आएका छन् । निर्वाचन आयोगले नै गर्ने खर्चमा कार्यालय व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी, सुरक्षासम्बन्धी व्यवस्थाजस्ता महत्वपूर्ण विषयमा खर्च हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको कानून तथा निर्देशिकाअनुसार निर्वाचन गराउन आवश्यक पर्ने महत्वपूर्ण कार्यका लागि खर्च गरिने छ । निर्वाचन आयोगले गर्ने खर्च  आयोगले नै गर्ने खर्चमा कार्यालय व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी, सुरक्षासम्बन्धी खर्च नै मुख्य हुन् । त्यसका अलवा निर्वाचनमा भत्ता, पानी तथा बिजुली, सञ्चार महशुललगायत कार्यालय स्थापनामा खर्च हुन्छ । निर्वाचन कार्यालय खर्चअन्तर्गत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले कार्यालयसम्बन्धी कामका लागि एकमुष्ट १ लाख ५० हजार र १लाख ६० हजार रूपैयाँ खर्च गर्नसक्ने व्यवस्था छ । घरभाडा खर्च मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय प्रयोजनको लागि मासिक रु ३० हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । उनीहरुले सवारी मर्मत तथा सम्भारका लागि  ५० हजारसम्म खर्च गर्नसक्ने छन् । निर्वाचन अवधिभरका लागि कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तथा अन्य मर्मतका लागि एकमुष्ठ  १५ हजारसम्म खर्च गर्न सकिने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४, निर्वाचन सञ्चालन तथा व्यवस्थापन स्रोत पुस्तिकामा उल्लेख छ । इन्धन तथा अन्य इन्धनका लागि क्रमशः  ५० हजार र  ४५ हजार खर्च गर्न सकिने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले क्रमशः  ५० हजार र  ४० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ । मतगणना जनशक्ति र खर्च गर्न पर्याप्त रकम व्यवस्था गरिएको छ । त्यसैगरी मतगणना व्यवस्थापन खर्च  २० हजार रहेको छ । मतगणनासम्बन्धी चियापान खर्च  ५ हजार छुट्टाइएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले आवश्यकताअनुसार भ्रमण भत्ता पाउने व्यवस्था गरिएको छ । मतदान केन्द्रमा खटिने कर्मचारीको दर्जाअनुसारको प्रतिदिन दैनिक भ्रमण भत्ताको व्यवस्था गरिएको छ । मतदान अधिकृतको थप सुविधा, स्वयंसेवक खर्च, मतदान केन्द्र निर्माण खर्च, बत्ती तथा अन्य विविध खर्च गर्न पाउने व्यवस्था छ । त्यसैगरी मतपेटिका ढुवानी खर्च, घुम्ती टोलीले पाउने खर्च, मतदान निरीक्षण खर्च एकमुष्ठ  ३० हजार हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायतलाई कानूनअनुसार भर्पाई गरेर र थप खर्चका लागि पूर्व स्वीकृति लिएर व्यवस्था गरिएको छ । आगामी मंसिर १० हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ३२ जिल्लाका ७०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३७ पद र प्रदेश सभामा ७४ पदका लागि निर्वाचन हुँदैछ । बाँकी जिल्लाका पदमा भने मंसिर २१ गते निर्वाचन हुँदैछ । रासस

काठमाडौं र पोखराबाट स्मार्टसेलको फोरजी सेवा सुरु, एक सेकेण्डमा एक पैसामा कल सुविधा

काठमाडौं । स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको सेवा फोरजी सुरु गर्ने भएको छ । अर्को महिनादेखि व्यवसायीकरुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको स्मार्ट सेलले भोलीदेखि परिक्षणका लागि सफ्ट लञ्च गर्नेछ । नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै स्मार्टसेल ग्राहकले भोलि आइतबारबाट काठमाडौं उपत्यकाभित्र र पोखरामा यो सेवा लिन सक्नेछन् । ३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठुलो दुर सञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । ३ करोड सेयर पूँजी रहेको स्मार्टसेलको वार्षिक कारोबार ५० करोड रुपैयाँ रहेको छ । ‘फोरजीका लागि प्राविधिक तयारी पुरा भएको छ, यद्यपी प्राविधिक पक्ष भएकाले हामी यसलाई थप कहि समय परिक्षणका रुपमा सञ्चालनमा ल्याउछौं,’ स्मार्टसेलका प्रमुख प्रशासकीय अधिकृत सजीनराज भण्डारीले भने । केही समयपछि नेपालगञ्ज, चितवन र विरगञ्जमा पनि फोरजी पुर्‍याउने योजना सहित नेटवर्क परिक्षण गरिरहेको स्मार्टसेलले जानकारी दिएको छ । पाँच महिनाअघि स्मार्टसेलले फोरजीको इजाजत (लाइसेन्स) प्राप्त गरेको थियो । कम्पनीका अनुसार फोर जी सञ्चालनका लागि १० मेगाहर्ज प्रयोग गरिएको छ, जसले नेपालमा अहिलेसम्मकै तिव्रगती ७० मेगाहर्ज प्रति सेकेण्डसम्मको फोरजी दिनेछ । अफर पनि स्मार्टसेलका ग्राहकले प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निशुल्क कल गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् । स्मार्टसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ७ दिनमा ५०० एमबी डाटा ८५ रुपैयाँमा प्रदान गर्ने जनाएको छ । साथै १ दिनका लागि ७५ एमबी डाटा १५ रुपैयाँमा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर बद्ली

काठमाडौं ।  वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा बद्ली भएको छ ।  पूर्वी भूभागको दक्षिण क्षेत्र सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायु मण्डलमा न्यूनचापीय रेखा रहेकाले यसको प्रभावस्वरुप बद्ली भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। “देशभर पहाडी क्षेत्रमा पूर्ण बद्ली छ जलवास्पयुक्त हावाको कमीले गर्दा एक÷दुई स्थानमा मात्र पानी पर्ने सम्भावना छ,”– उनले भने । पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्रको विकास भएकाले सामान्य बद्ली रहेको छ । मौसमविद् अर्यालका अनुसार देशका पहाडी र मध्य तथा पूर्वी भेगमा अझै दुई दिन बद्ली रहनेछ । राति आकासमा बादल लागेकाले आज काठमाडौँको न्यूनतम तापक्रम बढेर १३.६ डिग्रिसेल्सियस पुगेको छ । कात्तिकको पहिलो साता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौदेखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम १३.६ र अधिकतम २६.६ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा तीन र सबैभन्दा बढी सिमरामा र भैरहवामा ३० डिग्रिसेल्सियस रहेको छ । पूर्वका ओखलढुंगाललगायत पहाडी क्षेत्रमा वर्षात्को सम्भावना रहेको महाशाखाको अनुमान छ । रासस

जलवायु परिवर्तनले मध्य पहाडका फलफूल उच्च हिमाली भेकमा फल्न थाले

जुम्ला  । एक दशकअघि उच्च हिमाली भेकमा हलुवावेद नाम सुन्दा यो के हो भनेर सोध्ने गरिन्थ्यो । अनार फल त दारिमजस्तै हुँदो रहेछ, यो हाम्रो ठाउँमा फल्छ होला भनेर अड्कल काटिन्थ्यो । अमिलो लिन कालीकोट, दैलख र सुर्खेतसम्म पुग्थे, यहाँका नागरिक । टिमुर नासोको रुपमा जाजरकोटबाट मगाइन्थ्यो । अहिले यी सबै फलफूल भने जुम्लाका केही बस्तीमा फल्दै आएका छन् । समुद्री सतहदेखि करिब २  हजार ३०० मिटर उचाइमा रहेको चन्दननाथ–३ को सिमखाडा गाउँमा यी सबै फलफूल स्थानीय कृषक लक्ष्मीबहादुर खत्रीले उत्पादन गर्दै आएका छन् । कृषक खत्रीले १५ वर्षअघि जुम्ला कर्णाली प्राविधिक शिक्षालयबाट हलुवावेदको बोट ल्याएर लगाएको ७ वर्षपछि फल दिन थालेको बताए । “यसले शुरुका दिनमा दुई/चार फल दियो, अहिले डेढ क्विन्टल जति फल्छ र बजारमा प्रति गोटा  ५ देखि १० मा बिक्री गर्छौं” उनले भने । त्यस्तै, अनार र अमिलो पनि आफ्नै आँगनमा फलाउँदै आएको उनले बताए । उहाँका अनुसार औषधिजन्य गुण भएको मसलाजन्य चीज टिमुर लगाउँदा पनि यसले फल दिन थालेको छ । समुद्री सतहबाट एक हजार २०० देखि एक हजार ४०० मिटर उचाइमा फल्ने हलुवावेद हिमाली जिल्लामा फल्नु जलवायु परिवर्तनको प्रभाव एक मुख्य कारण भएको बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका वरिष्ठ वैज्ञानिक युवराज भुसालले बताए । उनले भने , “पहाडी भेकमा फल्ने यो फल जुम्लामा फल्नु हावापानीको विशिष्टता र चिसो सहन क्षमताको जात अर्को कारण हुन सक्छ ।” विगतको जस्तो चिसो घटेर ताप बढ्दै जाँदा यी फलफूल उत्पादन भएको हुनसक्ने स्थानीय जगन्नाथ उपाध्यायले बताए । हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाका अनुसार दुई वर्षदेखि जुम्लाको अधिकतम तापक्रम २८–३२ डिग्री सेन्टिग्रेड पुगेको छ भने न्यूनतम तापक्रम माइनस आठ डिग्री सेन्टीग्रेड छ । जहाँ कि आजभन्दा एक दशकअघि जुम्लाको अधिकतम ताफक्रम २४–२६ र न्यूनतम तापक्रम माइनस १२–१४ डिग्री सेन्टिग्रेड रहेको फिल्ड कार्यालयको अभिलेखमा छ । जुम्लाको तातोपानीमा हलुवावेद राम्रोसँग फल्दै आएको छ भने साविकको कुडारी गाविसको साँपुल्ली गाउँमा अनार पाइन्छ । हिजो स्याउ फल्ने ठाउँमा आज हलुवावेदको विकास हुन थालेको छ । स्याउले भने २ हजार ६०० देखि तीन हजार मिटरको उचाइमा राम्रो उत्पादन दिन थालेको कृषि विज्ञले बताउँदै आएका छन् । रासस

अर्बपतिमा अमेरिकालाई उछिन्यो एशियाले, एशियाली अर्बपतिको सम्पती ३२ प्रतिशतले बढ्यो

काठमाडौं । पहिलोपटक अर्बपतिको संख्यामा एशियाले अमेरिकालाई उछिनेको छ । अहिले एशियामा अर्बपतिको संख्या अमेरिका भन्दा बढी रहेको पाइएको छ । यूबीएस तथा प्राइस वाटर हाउस कूपर्सले गरेको अनुसन्धानले यो तथ्य सार्वजनिक गरेको हो । अहिले अमेरिकी अर्बपतिहरुसँग १ हजार ७ सय ८९ खर्ब अमेरिकी डलर सम्पती छ । एशियाली अर्बपतिहरुसँग १ हजार २ सय ७७ खर्ब सम्पती छ । सन् २०१५ को तुलनामा २०१६ मा अमेरिकी अर्बपतिहरुको सम्पती १० प्रतिशतले वृद्धि भएको छ । एशियाली अर्बपतिहरुको सम्पती भने ३२ प्रतिशतले बढेको छ । यद्दपी अमेरिका अर्बपतिहरुको सम्पतीमा भने अगाडी नै रहेको छ । एशियाली मुलुक चीनमा हरेक तेस्रो सातामा एक व्यक्ति अर्बपति बन्ने गरेका छन् । यदी यो गति अनुसार एशियमा अर्बपतिको संख्या बढ्ने हो भने आगामी चार वर्षमा अर्बपतिको सम्पतिमा पनि तुलनात्मक रुपमा यसले अमेरिकालाई उछिन्ने छ । विज्ञहरुका अनुसार अर्बपतिहरुको संख्या बढ्नाले कला र खेलको क्षेत्रमा अभूतपूर्व विकास भइरहेको छ । यसको तथ्यांक अनुसार दुनियाँमा नयाँ अर्बपतिहरु ७५ प्रतिशत मानिस चीन र भारतका रहेका छन् । हाल एसियामा करिब ६१७ अर्बपति छन्, जसमा ११७ जना नयाँ छन् ।

प्रभु बैंकको थप दुई शाखा कैलाली र पाँचथरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो थप दुई शाखा कैलाली र पाँचथर जिल्लामा विस्तार गरेको छ । बैंकले शुक्रबार मात्रै कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा गरी २ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन क्रमश नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाङले गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय कार्यालय प्रमुखहरु त्था व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो । बैंकले असोज मसान्तसम्म ८३ अर्ब रुपैयाँ निक्षेप संकलन ६३ अर्ब रुपैयाँ बराबर रकम लगानी गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने बताएको छ ।

लोडसेडिङ हटाउन भारतबाट १६० मेगावाट बिजुली किन्ने सम्झौता, प्रतियुनिट ५.७६ रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट १६० मेगावाट बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको म्याद अक्टुबरमा सकिने भएपछि विद्युत् प्राधिकरण र भारतको एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच शुक्रबार भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात भइरहेको छ । सो बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३ रुपैयाँ ६० पैसा भारुमा खरिद गर्ने सहमति भएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी डिसेम्बरसम्मका लागि अतिरित्त बिजुली खरिदको सम्झौता भएको छ । त्यसपछि पुन एनभीभीएनसंग सम्झौता हुने उनले बताए । उनकाअनुसार सो प्रसारणलाइनबाट बिजुली आपूर्ति गरेवापत वार्षिक १ अर्ब ९ करोड रुपैयाँ ट्रान्समिसन कम्पनीलाई तिर्नुपर्ने छ । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् । दुबै देशका सचिवस्तरिय बैठक बसेर आउदो जनवरीदेखि बिजुली आयातको म्याद थप हुने अधिकारीले बताए । यो प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर २ सय मेगावाट ल्याउने विद्युत प्राधिकरणको तयारी थियो । ढल्केबरमा सवस्टेशन बन्न ढिलाइ भएपछि १६० मेगावाट बिजुली आयातलाई प्राधिकरणले निरन्तरता दिएको छ । ढल्केबरमा सवस्टेशन निर्माण गरिरहेको चिनियाँ ठेकेदारसंग ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेकेदार छनौटको तयारी भइरहेको छ । प्राधिकरणले टनकपुरबाट थप ३० मेगावाट बिजुली आयातको पनि सम्झौता गरिसकेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४८० मेगाावाटसम्म बिजुली आयातको तयारी गरेको छ । यसका लागि आवश्यक पुर्वांधार तयार भइसकेको छ ।      

सार्वजनिक विदाको दिन पनि बैंक, बीमा र अत्यावश्यक सेवाप्रदायक कम्पनी खुला राख्न माग

काठमाडौं । सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा घोषणा गरेको र उद्योग, व्यापार तथा व्यवसाय गर्ने वातावरण विगारेको भन्दै नेपाल चेम्बर अफ कमर्शले सरकारको आलोचना गरेको छ । ‘संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको छ’ नेपाल चेम्बर अफ कमर्शले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘व्यापार घाटाले मुलुक आक्रान्त वनेको छ भने सरकारी कामका सेवाग्राही पीडित भएका छन् ।’ छठ पर्वको नाममा सरकारले २ दिन सार्वजनिक विदा दिएपछि चेम्बरले सरकारको आलोचना गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो । ‘नेपाल धेरै जातजाति, भाषा, धर्म, संस्कृतिको बसोबास भएको देश हो । हामी नेपालीहरुका धेरै परम्परा, जात्रा पर्वहरु पनि छन् । यहाँंका चाँंडपर्व उल्लासमय रुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो’ चेम्बर अफ कमर्शले जारी गरको विज्ञप्तीमा भनिएको छ–‘तर यसप्रकार विदाहरु दिंदा आर्थिक एवं वित्तीय संस्थाहरुमा सुचारु रुपले सञ्चालन हुनुपर्छ ।’ सरकारले सार्वजनिक विदा गरेको दिन पनि यायायात, सञ्चार, पर्यटन क्षेत्र सुचारु भए जस्तै बैंक, बीमा लगायत सार्वजनिक तथा अत्यावश्यक सेवा सुचारु हुनुपर्ने माग चेम्वरले सरकारलाई पटक पटक राखेको स्मरण गराएको छ ।