रेमिट्यान्स वृद्धिदर रोकियो, अर्थतन्त्रमा अब के हाेला ?
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएपछि यसको असर परेको हो । गत वर्ष १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबर रेमिट्यान्स प्राप्त भएको थियो । रेमिट्यान्स आप्रवाह घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) घट्ने संभावना छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । रेमिट्यान्स वृद्धिमा ब्रेक लाग्ने क्रमले निरन्तरता पाए मुलुकको विदेशी मुद्रा संचितीमा असर गर्ने अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । यसले आगामी दिनमा गरिवी न्युनीकरण र उपभोगमा असर गर्ने उनको तर्क छ । “अहिले नै यसले खासै असर गर्देन, निरन्तर यो अवस्था रहेमा सरकारले विकल्प सोच्नु पर्ने अवस्था आएको छ” शर्माले भने ।
ग्याँस कमिशन दोब्बरले बढाउन व्यवसायीको माग, माग पूरा नभए वितरण रोक्ने चेतावनी
काठमाडौं । ग्याँस बिक्रेताहरुले ग्याँसको कमिसन दोब्बरले बढाउन माग गर्दै सरकारलाई दबाव दिएका छन् । ग्याँस बिक्रेता महासंघले कमिशन नबढेकोमा आपत्ति प्रकट गर्दै कमिशन बढाउन माग गरेको हो । अहिले ग्याँसको मूल्य प्रति सिलिन्डर १३२५ रुपैयाँ रहेको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्याँस मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको छ । उनीहरुले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६५ रुपैयाँ बढाउन माग गरेका हुन् । महासंघले आइतबार आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलरहरुले सरकारलाई ग्याँस वितरण नगर्ने चेतावनी दिएको छ । गत साउनमा सरकारले कमिशन नबढाई ग्यासको मूल्य कायम गरेकोमा आपत्ती प्रकट गरेको छ । आफ्नो माग सम्बोधन नभए ग्याँसको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ । आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ । दिनदिनै भइरहेको मूल्य वृद्धिलाई थेग्न नसक्दा ग्यास व्यवसायी पलायन हुनुपर्ने अवस्था रहेको महासंघको भनाई छ । नेपाल आयल निगमले ग्यासको भाउ बढाउने तर व्यवसायीले पाउने मूनाफा कहिले वृद्धि नभएको उनिहरुले बताएका छन् । उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघले विगत ५ वर्षदेखि सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा कमिसन बढाउनुपर्ने बताएको छ । यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण समेत ठप्प पार्ने चेतावनी दिएका छन् । साथै व्यवसायीले बिक्रेताको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारेका छन् । ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने महासंघले सरकारसमक्ष माग राखेको छ । एलपि ग्यास सर्वसाधरणको चुलोमा अतिआवश्यक भएकाले यसमा भ्याट हटाउनुपर्ने उनीहरुको माग छ । देशमा एलपि ग्यासको कुल खपत मध्ये ४० प्रतिशत ठुला घराना र ६० प्रतिशत सर्वसाधारणले प्रयोग गरिरहेको महासंघले जानकारी दिएको छ । ग्यास दुर्घटनालाई न्युनिकरण गर्न डिलरलाई इजाजत दिँदा राम्रो जानकारी भएको र तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् । उपभोक्ताहित प्रतिकुल माग गरेको भन्दै उपभोक्ताकर्मीले ग्यास बिक्रेताको विरोध गरेका छन् । निगम र ग्यास व्यवसायीको आन्तरिक विवादले उपभोक्तालाई प्रतिकुल असर पार्न खोजेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनले भने, ‘अहिले व्यवसायीको कमिशन बढाउँदा र ग्यासको वितरण रोक्ने धम्की दिदाँ त्यसको सिधा असर उपभोक्तालाई पर्छ । सर्वसाधारणलाई असर पार्ने किसिमले कमिसन बढाउने र वितरण रोक्ने धम्कीपूर्ण मागप्रति हाम्रो विरोध छ ।’
एशियन लाईफ इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन लाईफको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । यस मार्फत बैंकका ग्राहकलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस सम्झौता मार्फत एशियन लाईफका बीमा योेजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग जनता बैंक नेपालका सम्पूर्ण शाखाबाट समेत लिन सकिने छ । एशियन लाईफको हाल ७२ वटा उपाशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई निःशुल्क तालिम दिइने
काठमाडौं । सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न यस तालिम दिन लागेको हो । वैदेशिक रोजगार प्रवद्रधन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो । तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । तालिमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइने उनले बताए । बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर/वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ । यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालिम लिएकाले विदेश गएपछि बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ । निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यही मध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालिममा सहभागी हुन उनको आग्रह छ । सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीम पश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिम प्राप्त गर्ने रोजगारीमा जानेछन् । रासस
टेलिकमको जिएसएम सेवा बाजुराको बाधु र बिच्छामा, ४ हजार घरधुरी लाभान्वित हुने
काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । यो भन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामि कार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी-रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । त्यसैगरी, बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् । बाजुराको सदरमुकाम मार्तडीबाट बाधु र बिच्छासम्म बिटिएसका सामान पु¥याउनका लागि कठिन भौगोलिक बनावटका कारण केही भागमा ट्रयाक्टर र भरियाको प्रयोग गरिएको थियो । सदरमुकाम मार्तडीबाट बाधु पुग्न करिब दुई दिन र बिच्छा पुग्न करिब चार दिन लाग्छ । सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई/तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको हो । आगामी केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ । हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप यी दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।
‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण
काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
ब्याजदर घट्दा पनि बैंकको लागत दोब्बरले वृद्धि, सीईओ भन्छन्-गत वर्षका असर अझै छ
काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेर ब्याज दर घट्न थाले पनि बैंकहरुको पुँजीगत लागत (कस्ट अफ फण्ड) भने उकालो लागेको छ । ३ वटा वाणिज्य बैंकले सार्वजनिक गरको चालु आर्थिक वर्षको अपरिष्कृत त्रैमाशिक वित्तीय विवरणअनुसार लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । वित्तीय विवरण प्रकाशित गर्ने सानिमा बैंक, सिटिजन्स बैंक र एभरेष्ट बैंकको लागत बढेको हो । वित्तीय विवरण प्रकाशित गर्नेमा सबैभन्दा बढी लागत सिटिजन्सको छ । सिटिजन्सको लागत बढेर ८.०२ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमाशमा सिटिजन्सको लागत ४.३४ प्रतिशत थियो । यस्तै, सानिमाको पनि लागत दोब्बर बढेको छ । चालु आवको पहिलो त्रैमाशमा सानिमाको लागत दोब्बर बढेर ७.४३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा सानिमाको लागत ३.७७ र गत असारमा ५.३५ प्रतिशत थियो । यस्तै, वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्टको लागत सिटिजन्स र सानिमाको भन्दा कम छ । असोजसम्म बैंकको लागत बढेर ४.८५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा एभरेष्टको लागत २.३२ प्रतिशत थियो । गत असारमा लागत ४.८२ प्रतिशत भएको एभरेष्टले जनाएको छ । बैंकको लागत बढेपछि यसको असर नाफामा पर्छ । निक्षेपको ब्याजदर बढेपछि लागत बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको भनाई छ । सस्तोमा निक्षेप नपाएसम्म लागत बढ्ने उनीहरुको तर्क छ । हाल बचतको ब्याजदर औसत ८ प्रतिशत रहेको सीईओहरुको भनाई छ । गतवर्ष कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम राख्न बैंकले महंगो ब्याजदरमा निक्षेप उठाउँदा हालसम्म यसको असर देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । निक्षेपको ब्याजदर बढेपछि यसको असर बैंकको लागतमा पर्ने उनको भनाई छ । गत वर्षको असर अहिलेसम्म देखिएको बताउँदै उनले भने “निक्षेपको ब्याज दर पनि कम हुँदै गएकाले घट्ने संभावना पनि त्यत्तिकै छ ।” उनले माछापुच्छे्रको लागत पनि ७.३ प्रतिशतको हारहारीमा रहेको जानकारी दिए । निक्षेपको ब्याजदर घटेर औसत साढे ८ प्रतिशत पुगेको बताउँदै उनले माछापुच्छ्रेको आधार दर अझै १० प्रतिशत रहेको उनले सुनाए । हाल बैंकिङ प्रणालीमा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । लगानी गर्न पुँजीको अभाव नभएको सीईओहरुको भनाई छ । गत वर्ष बजारमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि बैंकहरुले महंगो दरमा निक्षेप उठाउदा लागत दोब्बर बढेको थियो । महंगो दरमा निक्षेप परिचालन गर्दा लागत बढेको सानिमाको सीईओ भुवनकुमार दाहाल बताउँछन् । निक्षेप नबढेसम्म ब्याज दर नघटे्ने र बैंकको लागत बढ्ने उनको तर्क छ । साधारण बचतमा अझै ८ प्रतिशत ब्याज दिइरहेको उनको भनाई छ । बैंकको नाफा बढेपनि वृद्धि दरमा पनि कमी आएको उनी बताउँछन् ।
सेयर बजार राताम्मे, नेप्से दोहोरो अंकले घट्दा ५० करोडको कारोबार
काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ । दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कुल १५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयरहरु किनबेच भएका छन् । सो दिन कारोबारमा आएका ९ वटै समूहका परिसुचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३८, उत्पादनमूलक ३७, विकास बैंक १७, हाइड्रोपावर १५ र बैंकिङ समूह १२ अंकले ओरालो लागेका छन् । त्यस्तै, बाँकी रहेका ट्रेडिङ, फाइनान्स र अन्य समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । उता मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने बजार घट्दा पनि ९.७३ प्रतिशत कमाएका छन् ।