प्रत्यक्षतर्फको मतपत्रको आजैबाट छपाई सुरु, राजधानीमा दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण कार्यक्रम’
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाई आजबाट सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको जानकारी दिए । निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु गरेको छ । प्रमुख आयुक्त यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरेका छन् । उनले निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यादवले सम्मानित सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताए । उनले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए । यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए । माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना गर्नुपर्ने बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको क्रममा छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिँदै निर्वाचन आयुक्त शाहले भने– ‘‘निर्वाचनका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’ उनले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारीसमेत दिनुभयो । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुराहरु तल्लो तहसम्म पुर्याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
सुजुकी मोटरसाइकलको नयाँ शोरुम पोखरामा
काठमाडौं । नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वर्ल्डले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले गरेका हुन् । कार्यक्रममा पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुटरको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा छिटो छरितो हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराए । हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको कम्पनीले जनाएको छ । उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिए । साथै, सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ । कार्यक्रममा हिमालय अटो वर्ल्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने बताएका छन् ।
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा २९ करोड बढी राजस्व
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्म लक्ष्य भन्दा २९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ । विभागले ३ महिनाको अवधिमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिसम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड रुपैयाँ थियो । गत वर्षको असोजसम्मको असुलीको तुलनामा याे असाेजमा २४ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार आयकर तर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड र अन्तःशुल्क तर्फ १२ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो । त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको विभागले जनाएकाे छ । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई चालु अावका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ लक्ष्य तोकिएको छ । विभागलाई लक्ष्यभन्दा अझै २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक किशोरजंग कार्कीले निर्देशन दिएका छन् । कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन उक्त निर्देशन दिएका हुन् ।
सिप्रदी ट्रेडिङद्धारा एश्वर्य चलचित्रको र्याली आयोजना
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो । कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे । कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार एश्वर्य चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ । र्यालीमा एश्वर्य चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
व्यवसायीलाई चुनाव दशा कि दशैं, कति दिन्छन् चन्दा ?
काठमाडौं । ‘हाम्रो जस्तो मुलुकको चुनावमा दल र उम्मेदवारले चन्दा माग्नु स्वभिावक हो, मन परेका उम्मेदवार र दललाई चन्दा दिने हो तर कति दिन्छौं भन्ने चाँही खुलाउने कुरा होइन’, यो भनाई हो नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि वर्तमान विश्व परिवेशमा चन्दा अनिवार्य सर्त जस्तै भएको र नेपाली उद्यमी व्यवसायीले पनि त्यसलाई सहज रुपमा लिएको बताउँछन् । ‘राजनीतिक दल पनि समाजकै अंग हुन, चुनाव लड्न पैसा चाहिन्छ र हामी उद्यमी व्यवसायीले पनि चन्दा दिन्छौँ तर जबरजस्ती गर्न भने पाइँदैन’, गोल्छाले भने । परिसंघ अध्यक्ष शर्मा, महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छा र चेम्बर महासचिव अग्रवाल नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले भने उद्यमी व्यवसायी नै राजनीति र चुनाव मैत्री बन्दै गएको पनि बताए । ‘निर्वाचन, चन्दा र व्यवसायी एक अर्काका परिपूरक नै हुन, अहिले त व्यवसायी पनि राजनीति र चुनावमैत्री भैसकेका छन, कतिपय व्यवसायी नै उम्मेदवार बनिरहेका छन्’, चेम्बर महासचिव अग्रवालले भने । उनले पनि चन्दा कति दिने भन्ने कुरा सार्वजनिक गर्न नमिल्ने दावी गरे । ‘सिस्टमले चन्दा कति दिने भन्नेबारे बोलेको छ, त्यो हुबहु कार्यान्वयन हुने अवस्था छैन, त्यसैले चन्दा कसलाई कति दिईयो भनेर सार्वजनिक गर्नै मिल्दैन’, अग्रवालले भने । तर हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरुले जबरजस्ती चन्दा माग्ने गरेको गुनासो महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छाको छ । यसपालीको चुनावमा पनि जबरजस्ती चन्दा मागिएको गुनासो देशभरका व्यवसायीले गरिरहेको उनले बताए । गोल्छाले चेकमा चन्दा दिन पाउनुपर्ने र त्यसलाई खर्चमा गणना गर्न पाउनुपर्ने माग समेत गरे । तर दलहरुले चन्दा नगदमै माग्ने गरेको तथा त्यसलाई खर्चका रुपमा उल्लेख गराउने व्यवस्था नभएकोमा उनले गुनासो पनि पोखे । दल र चिनजानका उम्मेदवारहरुलाई कतिसम्म चन्दा दिने गर्नु भएको छ ? भन्ने प्रश्नमा गोल्छा भन्छन,‘यो नितान्त व्यक्तिगत कुरा हो, चन्दा कसलाई कति दिने भन्ने कुरा खुलाउन मिल्दैन ।’ चुनाव दशैं कि दशा ? चुनावमा सरकारी कोष र दल तथा उम्मेदवारले समेत मोटो रकम खर्च गर्ने भएकाले अर्थतन्त्रका लागि भने यसलाई सुखद मानिन्छ । निर्वाचन भएका वर्षहरुमा आर्थिक वृद्धिदर समेत राम्रो हुने गरेको छ । एकातिर व्यापार बढ्ने र अर्का तिर चन्दा दिनुपर्ने भएकाले व्यवसायीले चुनावलाई दशैं र दशाका रुपमा पनि लिने गरेका छन् । ‘एकथरी व्यवसायीको व्यापार बढ्छ, उनीहरुका लागि यो दशैं हो, अर्काथरी चन्दाको दवावमा हुन्छन, उनीहरुका लागि चुनाव दशा हो, तर चुनावपछि स्थायीत्व आउने आसमा हामीले दशैंका रुपमा लिने गरेका छौं’, परिसंघका अध्यक्ष शर्मा भन्छन् । चुनावले उपभोग बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने भएपनि औद्योगीक उत्पादन बढाउन भने यसको खासै ठूलो योगदान नहुने उनको तर्क छ । गोल्छा पनि स्थिर राजनीति र लगानी मैत्री वातावरणका लागि चुनावलाई दशापछिको दशैं पर्वको आसमा लिने गरेको बताउँछन् ‘चन्दाको त्रास भएपनि चुनावपछि लगानी मैत्री वातावरणका लागि हामीले दशैंको प्रतिक्षा गरे जस्तै हो’, गोल्छाले सुनाए । संसारका अधिकांश मुलुकमा चन्दाबाटै राजनीतिक दलहरुले चुनाव खर्चको जोहो गर्दै आएका छन् । नेपालमा पनि राजनीतिक दलहरुका लागि चन्दा नै चुनावी अर्थतन्त्रको मुल अस्त्र बन्दै आएको छ ।
बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत भण्डारीले पाए ६ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट साे मात्रकाे रकम प्राप्त गरेका हुन् । दशैं तिहारको अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जस मार्फत ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मको तत्काल निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत धेरै जना ग्राहकहरुले नगद पुरस्कार जितिसकेका छन् । सो योजना अहिले पनि सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनी हो।
नारायणगढ-मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु, लागत २७ करोड
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । ती पुलको चौडाइ भने ११ मिटर हुने इन्जिनियर खनालले बताए । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिने भएकाले सवारी आवागमनमा पुलले कुनै बाधा नपुर्याउने बताइएको छ । जलवीरे पुल रू १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट पुल निर्माणको काम शुरु हुने इन्जिनियर खनालले जानकारी दिए। सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकको स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगिरहेका बेला पुल पनि फराकिला बनाइने भएको हो । हाल सो सडकमा रहेका पुल पाँच मिटर हाराहारी मात्र चौडा रहेका छन् । रासस
एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यस अन्तर्गत एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मजा लिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत ग्राहकले आईफ्लिक्समा रहेका कन्टेन्टहरु मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् । विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्ने कम्पनीले जनाएको छ । आईफ्लिक्स बारे विश्वको विकासशील बजारमा आईफ्लिक्स एउटा अग्रणी मनोरञ्जन सेवा प्रदायक हो जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ । सबैको प्रिय कमेडी, ड्रामा, के-ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्याउने काम आईफ्लिक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिह शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् । हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् ।