विकासन्युज

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गकाे १५ प्रतिशत बोनस सेयर पारित, हकप्रद किन्नेले पनि पाउने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को सेयरधनीलाई १५.७९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । आइतबार(आज) सम्पन्न संस्थाको १६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम संस्थाले आ.व. २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त सेयर हालै निष्काशन भई बाडँफाँड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी पारित भएको सभामा जानकारी गराइएको छ । अर्थात संस्थाकाे ४० प्रतिशत हकप्रद किन्नेले पनि सो मात्राको बोनस सेयर पाउने संस्थाले बताएको छ । उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हाल सम्ममा निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाले १ करोड ३९ लाख रुपैयँँ संचालन मुनाफा कमाउन सफल भएको संस्थाबाट जारी विज्ञप्तीमा उल्लेख छ । हाल सम्म यस संस्थाको आठ वटा शाखा कार्यालय रहेको छ । साथै, संस्थाले आगामी दिनमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी गर्दैछ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ६५ प्रतिशत लाभांशले लगानीकर्ता लोभिए, आइतबार सबैभन्दा बढी कारोबार

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता लोभिएका छन् । लाभांश सार्वजनिक भएपछि आईतबार नेपाल स्टक एक्चेन्ज लिमिटेडमा फरवार्डको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अघिल्लो साता संस्थाले गत आर्थिक वर्षमा गरको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता झुम्मिएका हुन् । फरवार्डले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । आइतबार फरवार्डको प्रतिकित्ता ३ हजार ३८१ रुपैयाँमा १ करोड ९३ लाख ८५ हजार रुपैयाँ बराबर ५ हजार ६३८ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ता लोभिए पनि फरवार्डको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ घटेको छ । बिहीबार फरवार्डको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५०४ रुपैयाँ थियो । चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको संस्थाको बोनस सेयर वितरणपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र साधारण सेयर (आइपीओ) निष्कासन गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । फरवार्डको संचित कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । संस्थाको सेयर मूल्य धेरै भएकाले बोनस पाउने लोभमा सेयर खरिद गर्नु पछिका लागि फाइदा नहुने संभावना त्यत्तिकै छ । केही महिना अघिसम्म फरवार्डको सेयर मूल्य प्रतिकित्ता ४ हजार रुपैयाँ थियो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर १ हजार ७८६ रुपैयाँमा १ करोड ५२ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो साता प्रतिकित्ता १ हजार ८८९ रुपैयाँसम्म पुगेको नेपाल लाइफको सेयर मूल्य घटेको छ । पछिल्लो समयमा नेपाल लाइफका लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ गुमाएका छन् । बढी लाभांश दिने हल्ला चलेपछि नेपाल लाइफको सेयर कारोबार बढी हुदै आएको छ । सानिमामाई हाइड्रोपावर लिमिटेडले थप आयोजना बनाउन लगानी बढाउने भएपछि यसको पनि कारोबार धेरै भएको छ । आइतबार सानिमाको प्रतिकित्ता ४५१ रुपैयाँमा १ करोड ४२ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

९ अंकले ओरालो लागेको बजारमा चिलिमेका लगानीकर्ताले कमाए सबैभन्दा बढी

काठमाडौं । आइतबारको नेप्से परिसूचक ९.१९ अंकले ओरालो लागेको छ । सो दिन बजार खुले पश्चात लगातार ओरालो लागेको परिसूचक बजार बन्द हुँदा भने १४३१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएका छन् । झण्डै दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन यस हाइड्रोका लगानीकर्ताले करिब ७ (अर्थात ६.९५)प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीका सेयर मूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । उता सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी (अर्थात ६.२९ प्रतिशत) गुमाएका छन् । सेयर बजारमा हाइड्रो र अन्य समूहको परिसूचक बाहेक बाँकी अन्य समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो र अन्य समूहको परिसूचक क्रमशः ५५ र ३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ९७ अंकले ओरालो लागेको छ ।

महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै बैंकको साधारणसभाले अनुमोदन गरे पश्चात मात्र सेयरधनीलाई वितरण गरिने छ ।

नेप्सेमा सिद्धार्थ इक्विटी फण्डको कारोबार खुला, मूल्य प्रतिइकाई १० रुपैयाँ

काठमाडौं । आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको इकाई कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ । सिद्धार्थ क्यापिटल अन्तर्गत संचालित यस सिद्धार्थ इक्विटीको कारोबार पुस ३० गते (आइतबार)देखि मात्रै खुलेको हो । हाल सम्म यस फण्डको एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ करोड इकाई नेप्सेमा सूचिकृत रहेको छ ।

भिसा कार्डबाट सपिङ गर्नुस्, भोली पल्टै खातामा थपिन्छ १० प्रतिशत नगद

काठमाडौं । के तपाईले भिसा कार्डबाट सपिङ गरिरहनु भएको छ, त्यसो भए अब तपाईको खातामा थपिनेछ १० प्रतिशतसम्म नगद । भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोली पल्टै तपाईको बैंक खातामा १० प्रतिशत क्यास ब्याक जम्मा हुनेछ । यस्तो सुविधासहितका सेवा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रदायक बैंकहरुले ल्याएका हुन् । माघ १ गतेदेखि ३० गतेसम्म लागु हुने योजनामा ८ वटा बाणिज्य बैंक र ३ वटा विकास बैंकका कार्ड प्रयोगकर्ताले उपयोग गर्न सक्नेछन् । सेञ्चुरी, ग्लोबल आईएमई, कुमारी, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले यस्तो क्यास ब्याक अफर उपयोग गर्न पाउनेछन् । ‘भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोलीपल्टै अधिकतम १० प्रतिशत वा एक हजारसम्मको क्यास ब्याक सम्बन्धीत खरिदकर्ताकै बैंक खातामा जम्मा हुनेछ’, नेपाल इन्भेष्टमेन्ट बैंककी रिना चन्दले भनिन् । कस्तो छ नियम ? यो अफरका लागि न्युनतम ५ सय रुपैंयाँसम्मको वस्तु तथा सेवा खरिद गर्नुपर्नेछ । एक देखि ३ वटासम्म कारोबारमा २ प्रतिशत वा एक सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । ४ देखि १५ वटा कारोबारमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । त्यस्तै १६ देखि ३० वटासम्म कारोबार गर्दा ५ प्रतिशत वा ५ सय क्यास ब्याक पाइन्छ भने ३१ देखि ५० वटासम्म कारोबार गर्दा १० प्रतिशत वा एक हजारसम्म क्यास ब्याक पाइनेछ । कति छन् पल्स मेसिन ? हाल मुलुकका प्रमुख शहरहरुमा ४५ सय वटा पल्स मेसिनहरु रहेका छन् । तीमध्ये २ हजार वटा पल्स मेसिन नेपाल इन्भेष्टमेन्ट बैंककोे नेटवर्कमा आवद्ध रहेका छन् । सबै पल्स मेसिनहरुबाट हुने वस्तु तथा सेवा खरिदमा क्यास ब्याक अफर लागु हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रोभाइडर बैंक अन्तर्गत १६ लाख कार्ड होल्डर रहेका छन् । दशैं तिहारपछिको उत्साह यी बैंकहरुले दशै, तिहार तथा छठको अवसरमा भिसा कार्डबाट हुने खरिदमा १० प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएका थिए । सो अफरका कारण कार्डबाट हुने खरिद ५२ प्रतिशत बढेपछि बैंकहरुले उत्साहित हुँदै अहिले नयाँ पुनः सोही प्रकारको अफर ल्याएको बताएका छन् । क्यासलेस कारोबारको गतिलाई बढाउने उदेश्यले यस्तो सेवा आरम्भ गरेको उनीहरुको दावी छ ।  

मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । साथै, यस संस्था ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । फाइनान्सले सो मात्राको हकप्रद जारी गर्नको लागि संस्थाको विशेष साधारणसभाले अनुमोदन तथा धितोपत्र बोर्डले अन्तिम स्विकृती दिनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा कम्पनीले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर दिने कम्पनीको प्रस्ताव रहेको छ । प्रस्तावित बोनस तथा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

८३ प्रतिशत हकप्रद पछि श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ८३ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ थियो ।