स्वास्थ्य बीमाबाट ५० हजार लाभान्वित, तीन करोड ५० लाख रुपैयाँ राजश्व संकलन
पाल्पा । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् । आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेसम्म १४ हजारभन्दा बढी घर परिवारले स्वास्थ्य बीमा दर्ता गरेका छन् । सामाजिक सुरक्षा विकास समितिले २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क अधिकृत गौरिशंकर सिंहका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट तीन करोड ५० लाख रुपैयाँ राजश्व संकलन भएको छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र ताहु, खस्यौली, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेका छन् । पाँच जनाको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी भएकाको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । एक वर्षका लागि बीमा गरेका व्यक्तिले वार्षिकरुपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क पाउने व्यवस्था छ । स्वास्थ्य बीमाका कारण नियमितरुपमा औषधि सेवन गर्ने दीर्घ रोगीका लागि अत्यन्त सहज भएको रैनादेवी गाउँपालिका– ६ छहराकी दमयन्ती रानाले बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियो थेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् । रासस
उद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्दो
काठमाडौं । यस वर्षउद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्नुका साथै उत्पादन तथा प्रशोधन क्षेत्रमा परियोजना संख्यामा वृद्धि भएकाे छ ।२०७३ सालको औद्योगिक योजनाको तथ्याङ्कलाई हेर्दा परियोजना संख्या ४ ले वृद्धि भई २६ पुगेको छ । त्यसैगरि खनिज पदार्थ उद्योगमा १ मात्रै परियोजना रहेको थियो तर पछिल्लो समयमा पनि एउटै परियोजना छ भने यस क्षेत्रको हालको योजनामा लगानी भने वृद्धि भएको छ । यसको परियोजना भित्र ४०० जना रोजगार रहेका छन् । वन तथा कृषि क्षेत्रको उद्योगमा ९ परियोजना छन् जसमा २४० जना रोजगार, उर्जा क्षेत्रमा ३ परियोजनमा ३०१ जना रोजगार, सेवा सुविधाको क्षेत्रमा ४६ परियोजनामा १५१६ जना रोजगार रहेका छन् । पर्यटन क्षेत्रमा भने पछिल्लो समयमा परियोजनाको संख्या ७२ बाट ४६ मा घटेसंगै वैदेशिक लगानी पनि घटेको देखिन्छ । यस क्षेत्रमा १४७२ जना रोजगार रहेका छन् । तुलनात्मक रूपमा २०७३ भन्दा २०७४ सालको औद्योगिक परियोजनामा विस्तारसंगै वैदेशिक लगानी ठूलो मात्रामा वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा उद्योग क्षेत्रको वैदेशिक लगानीमा पछिल्लो वर्षमा बढ्दै गएको छ । अबको बन्दै गरेको संघीय सरकारद्धारा राजनितिक स्थिरता कायम गर्दै आर्थिक बृद्धि गर्ने अपेक्षाका तथा वैदेशिक लगानी वृद्धि भएको हो । उद्योग विभागका अनुसार औद्योगिक उत्पादन तथा प्रशोधन क्षेत्रमा वैदेशिक लगानि बढि देखिन्छ । ‘परियोजना वृद्धिसंगै वैदेशिक लगानी ठूलो मात्रामा बढेको छ । परियोजनाका प्रकृतिअनुसार लगानी बढ्ने घट्ने गर्छ । उद्योगका ठूलठूला परियोजना भएकोले लगानी प्रतिबद्धता बढेको हो । हामीलाई सीमित परियोजनामा ठूलो लगानी आउन आवश्यक रहने’ उद्योग विभागका प्रवक्ता दुर्गा प्रसादले बताएका छन् । भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरूको निर्माण कार्यले गर्दा पनि पछिल्लो समय भन्दा अहिलेको समयमा वैदेशिक लगानी वृद्धि भएको हो ।
अाजदेखि काठमाडौंकाे सात वटा वडाका भित्री शहरमा चारपाङ्ग्रे निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आज(मंगलबार)देखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन सो निर्णय गरिएको बताउँदै उनले भने, “सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसलाई नियन्त्रण गर्न आवश्यक छ ।” जबर्जस्ती कसैले निषेध गरिएका स्थानमा सवारी साधन चलाएमा रु ५०० देखि रु एक हजारसम्म जरिवाना र अन्य थप कारबाहीसम्म पनि हुने कामपाले जनाएको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । चारपाङ्ग्रे सवारी साधनलाई भोटाहिटीबाट असन चोकसम्म एकतर्फी निषेध गरिएको छ । यस्तै नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बाङ्गेमुढा हुँदै भेडासिं, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल, बाङ्गेमुढा भेडासिं हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने व्यवस्था मिलाइएको छ । साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिं, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको छ । बेलुकी ७ देखि बिहान ७ बजेसम्म भने सबैखालका सवारी साधन उक्त स्थानमा आवतजावत गर्न पाउनेछन् । रासस
फाष्ट ट्रयाकको डीपीआर सेना आफैले बनाउने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौं दुर्त मार्ग(फाष्ट ट्रयाक) को डीपीआर सेना आफैले बनाउने भएको छ । सेनाले एसियन डेभलपमेन्ट बैंकको सम्भाब्यता अध्ययन रिर्पोटको आधारमा डीपीआरकाे काम अघि बढाउने भएको छ । सेनाको आयोजना उपप्रमुख सुर्यप्रसाद खनालले चालु आर्थिक वर्ष भित्रै डीपीआर बनाई सक्ने बताएका छन् । सेनाले आगामी चार वर्ष भित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ७६.२ किलोमिटर लम्बाई रहेको उक्त डीपीआर एसियाली मापदण्डको बाटो हो ।
अष्ट्रेलियन एजुकेशन फेयर सुरु, ३४ कोर्षका प्रदायक संस्थाहरु सहभागी हुने
काठमाडौं। आज (मंगलबार)बाट अष्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका ईमिग्रेसन पोलिसी, कोर्ष, विश्वविद्यालय सम्बन्धि उपयुक्त परामर्श लगायत विषयमा सल्लाह, सुझाब दिने उद्देश्यले एईसीसी ग्लोबलले अष्ट्रेलियन एड्मिसनस् डे २०१८ मनाउने क्रममा एजुकेशन फेयर सुरु गरेको हो । एजुकेशन फेयरको सुरु दिन जनवरी १६ (मंगलबार) काठमाडौंको होटल याक एण्ड यतीमा फेयर एण्ड इभेण्ट सञ्चालन भइरहेको छ । आयोजकको अनुसार उक्त फेयर जनवरी १८ मा चितवनको भरतपूर गार्डेन रिसोर्ट र जनवरी १९ मा पोखराको होटल पोखरा ग्राण्डीमा मनाइने भएको छ । काठमाडौंमा सञ्चालित एजुकेशन फेयरमा ३४ कोर्षका प्रदायक संस्थाहरु सहभागी रहने आयोजकले जनाएको छ । त्यस्तै पोखरा तथा चितवनमा हुने फेयरमा १४ कोर्ष प्रदायकहरुको सहभागिता रहनेछ । एईसीसी ग्लोबलका निर्देशक रन्जित कुमार अग्रवालले यस अष्ट्रेलिन एजुकेशन फेयरको अबधिमा काठमाडौंमा एक हजार, चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागित हुने अपेक्षा गरेकोे बताए । फेयरमा विद्यार्थी तथा तिनका अभिभावकलाई प्रत्यक्ष अष्ट्रेलिन कोर्ष प्रदायकसँग भेटी गराइने एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले बताए । ‘जसबाट विद्यार्थीहरुलाई भर्ना, छात्रबृत्ति तथा भिसा डक्युण्टेसनसँग सम्बन्धित जिज्ञासा मेट्न सहयोग पुग्नेछ,’ उनले भने ‘फेयर वर्षको दुई पटक आयोजना गर्दै आइरहेका छौं ।’ सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालनमा रहेको जनाइएको छ । एईसीसीले न्यूजील्याण्ड, क्यानेडा, युएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ ।
यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सो पदमा नियुक्त गरेको हो । नवनियुक्त उपाध्यायले आगामी ४ वर्षसम्म यस कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
बोनस सेयरपछि कनकाई विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।
मेलम्चीको सुरुङमा चट्टानी अवरोधः एक दिन खन्ने, अर्काे दिन अड्याउने
काठमाडौं । हामीले चट्टानी अडानलाई कडा रोकावटका रुपमा बुझ्ने गरेका छौं तर मेलम्ची खानेपानी आयोजनाको सुरुङमा भने कमजोर चट्टानले नै अवरोध गरिरहेको छ । मेलम्चीको सुरुङ अझै ४८८.५९ मिटर खन्न बाँकी छ । जनवरी १ तारिख देखि एक दिन सुरुङ खन्ने र अर्काे दिन अड्याउने काम भैरहेको छ । जसले गर्दा मार्च २६ मा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्यमै धक्का लाग्ने सम्भावना देखिन्छ । ‘कमजोर चट्टानका कारण एक दिन खन्ने र एक दिन अड्याउने काम गरिरहेका छौं, कमजोर चट्टानले काममा अवरोध गरिरहेको छ ।’, मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले विकासन्युजसँग भने । पन्तका अनुसार सिन्धुदेखि ग्याल्थुमसँगको सुरुङमा कमजोर चट्टान देखिएकाले समस्या देखिएको हो । सुरुङ खनि सकिएको ठाउँमा ३ किलोमिटर फिनिसिङको काम सम्पन्न भएको छ । | फिनिसिङका लागि ८ वटा मेसिन ल्याईएको छ । ती मेसिनहरुको उपयोगले ३ महिना भित्रै फिनिसिङ गर्ने योजना रहेको पनि पन्तले जानकारी दिए । मुहानमा पानी फर्काउन डाइभर्ससन बाँध र इन्टेक बनाउने काम अबको ६ महिनाभित्र सम्पन्न गर्ने तालिकासहित काम अघि बढेको पनि उनले जानकारी दिए । मुहानमा बाँध बनाउन नसकिए पाइप राखेरै भएपनि नयाँ बर्षमा राजधानी बासीका धारामा पानी ल्याउने तयारी गरिएको पनि उनले जानकारी दिए ।