विकासन्युज

ज्योति विकास बैंकको नयाँ शाखा दमकमा, थप १० वटा शाखा संचालनमा ल्याउने

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय दमकमा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमकका अध्यक्ष टेकबहादुर थापाले मंगलबार एक कार्यक्रमका बीच उक्त शाखाकाे उद्घाटन गरेका छन् । यस बैंकको निकट भविष्यमा नै १०वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश संगठन कमिटीका संयोजकबाट केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसका लागि माघ २१ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनुअगावै प्रशिक्षणको व्यवस्था गरिने भएको छ । राष्ट्रियसभाका लागि तय भएका एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापनलगायतका कार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ । कामचलाउ सरकारका निर्णयको निन्दा एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान कामचलाउ सरकारका संविधान, कानून, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । एमालेलगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत् र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै कामचलाउ सरकारले गरेका राष्ट्रिय ढुकुटी दुरुपयोग, मनपरी नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी निर्णयको बैठकले भत्र्सना गरेको छ । प्रदेशसभा सदस्यका भूमिकाबारे छलफल गरिने स्थायी कमिटी बैठकले सातै प्रदेशका प्रदेश प्रमुखबाट सम्बन्धित प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको हुँदा प्रदेशसभाको प्रथम बैठकअगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने र प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तय गरेको छ । बैठकले संसदीय दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने तय गरेको छ । पार्टीले प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने भएको छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्ने छ । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्नेछ । प्रदेशसभा संसदीय दलको नेताका लागि एकभन्दा बढीको उम्मेदवारी परेमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ । दलका नेता वा सभामुखको निर्वाचनलगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने÷हुन नदिने निर्णय पनि बैठकले निर्णय गरेको छ । रासस

महिन्द्रा टु ह्वीलरको केयर क्बल अन्तर्गत विशेष सुविधा, निःशुल्क सर्भिसिङ्ग गर्न सकिने

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था मिलाएको छ । यो सुविधा माघ १७ गते देखि सुचारु गरिएको छ । साथै, माघ १९ गतेसम्म ३ दिनका लागि काठमाडौं, सामाखुसीको सर्भिस सेन्टरमाफ्रि सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको छ । आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय एवं जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । यस क्लवमा आवद्ध भए पछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन् । कम्पनीका अनुसार यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्ने छ । यसका साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२०० (भ्याट सहित) रुपैयाँ तिरी यो विशेष सदस्यता लिन सकिने कम्पनीले जनाएको छ ।

विद्युत् नियमन आयोग गठनका लागि अर्थ मन्त्रालयद्धारा स्वीकृति

काठमाडौं । चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार आइतबार अर्थ मन्त्रालयले आयोगको नियमावलीलाई स्वीकृति दिएको हो । अर्थबाट प्राप्त भएको स्वीकृतिलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको आवश्यक रायसहित सुझाव प्राप्त भएपछि आयोग गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी ऊर्जा मन्त्रालयले गरेको छ । प्रवक्ता घिमिरेले आयोग गठनको बाटो खुलेको र लामो समयदेखिको अपेक्षा सम्बोधन हुनलागेको जानकारी दिए । व्यवस्थापिका-संसद्ले गत साउन २७ गते विद्युत् नियमन आयोग गठनसम्बन्धी विधेयक पारित गरेको हो । जलविद्युत् विकास नीति, २०५८ जारी भएपछि ‘विद्युत् नियमन आयोग ऐन’ र ‘विद्युत् ऐन’को मस्यौदा तयार गर्न शुरु भए पनि प्रक्रियागत ढिलाइले कुनै काम हुनसकेको थिएन । सरकारले २०७२ फागुन ६ गते जारी गरेको ‘ऊर्जा संकट निर्वारण कार्ययोजना, २०७२’ मा समेत अधिकार सम्पन्न विद्युत् नियमन आयोग गठन गरिने प्रावधान समेटिएको थियो । अधिकार सम्पन्न आयोग गठन भएपछि हाल गठन आदेशअनुसार सञ्चालन हुँदै आएको विद्युत् महसुल निर्धारण आयोग खारेज हुनेछ । आयोगले विद्युत्को गुणस्तर निर्धारणका साथै विद्युत् उपभोक्ताको हक, हितको संरक्षण गर्नेछ । आयोगले नेपाल विद्युत् प्राधिकरणमा सीमित रहेको एकल अधिकारलाई अन्त्य गरी प्रसारणलाइन, विद्युत् खरिद, महशुल निर्धारण, कार्यान्वयन जस्ता विषयलाई नियमन गर्नेछ । आयोगको निर्णय एवं निर्देशन बाध्यकारी हुने भएकाले हाल जलविद्युत्का क्षेत्रमा देखिएका अनियमितता र अराजकता अन्त्य हुने विश्वास लिइएको छ । आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहनेछन् । अध्यक्ष तथा सदस्य अनुभवी तथा सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र त्यसरी नियुक्त गर्दा संवैधानिक भावनाअनुरूप कम्तीमा एकजना महिलासहित समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । आयोगले विद्युत् सेवा सम्बन्धी ग्रिडसंहिता जारी गर्ने, अनुगमन गर्ने, विद्युत् सेवाको सञ्चालन तथा मर्मतसम्भारको स्तर कायम गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाउने, विद्युत् प्रणाली सञ्चालकको दायित्व निर्धारण गर्नेछ । विद्यमान कानूनमा यस सम्बन्धी कुनै व्यवस्था नभएका कारण नियमन तथा अनुगमनमा समस्या हुँदै आएको थियो । आयोगले विद्युत्को महसुल निर्धारण, विद्युत् खरिद बिक्रीको नियमन, उत्पादित विद्युत् खरिद बिक्री गर्न अनुमतिपत्र प्राप्त व्यक्तिबीच विद्युत् खरिद सम्झौता गर्न सहमति दिने, प्रसारण तथा वितरण दस्तुर निर्धारण गर्ने र विद्युत्को लागत कम गर्न आवश्यक उपायको पहिचान गरी लागू गराउने अधिकार रहेको छ । विद्युत् सम्बन्धी महत्वपूर्ण निर्णय यसै आयोगको स्वीकृतिसँगै मात्रै कार्यान्वयन हुनेछन् भने जलविद्युत् क्षेत्रसँग सम्बन्धित सबै निकायलाई यसले समन्वय र नियमन गर्नेछ । अन्य मुलुकसँग हुने विद्युत् खरिद बिक्रीको स्वीकृति दिने र शुल्क निर्धारण गर्नेछ । आयोगले विद्युत् चोरी नियन्त्रणमा समेत प्रभावकारी नीति निर्देशन जारी गर्न सक्नेछ । आयोगको कार्यक्षेत्र समेत वृहत् तथा कार्यकारी अधिकारसहितको रहेको छ । आयोग गठन भएपछि विद्युत्को गुणस्तर निर्धारण, विद्युत् महसुल दरको नियमन तथा विद्युत् उपभोक्ताको हक, हितको संरक्षण तथा प्रतिस्पर्धा कायम गरी नियमन गर्न सहज हुनेछ । विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाउन, विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत् महसुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्ने काममा आयोग क्रियाशील हुने ऊर्जाको विश्वास छ । राजनीतिक होइन विज्ञ व्यक्ति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था९इपान०ले आयोगलाई राजनीतिक कार्यकर्ता नियुक्त गर्ने निकायको रुपमा नलिन सरकारलाई आग्रह गरेको छ । कार्यकर्ता नियुक्त गर्ने थलो बनाइए आयोगको कुनै स्वतन्त्र अस्तित्व नरहने भएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लामो समयदेखि योगदान दिएका र सम्बन्धित क्षेत्रको जानकारलाई नियुक्त गर्न इपानले अनुरोध गरेको हो । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले भने, “उच्च नैतिक आचरण भएका र सम्बन्धित क्षेत्रका विज्ञलाई आयोगमा नियुक्त गरिनुपर्दछ । सम्बन्धित क्षेत्रमा कुनै पनि जानकारी नभएका व्यक्तिलाई ल्याइनुहुँदैन ।” अरु आयोग जस्तै विद्युत् नियमन आयोगलाई पनि अधिकार सम्पन्न बनाउन निजी क्षेत्रले सहयोग गर्ने उनको भनाइ छ । रासस

देउराली जनता फर्मास्यूटिकल्सले नशा रोग र मनोचिकित्साको औषधि उत्पादन गर्ने

काठमाडौं । विभिन्न रोगको औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्यूटिकल्सले अब अत्यावश्यक नशारोग र मनोचिकित्सा लगायतकोे औषधि उत्पादन गर्ने भएको छ । विभिन्न ३ सय २० थरीका औषधि उत्पादन गरिरहेको उक्त कम्पनीले राजधानीमा मंगलबार आफ्नो २७ औं वार्षिकोत्सव समारोह मनाउने क्रममा आगामी दिनमा अत्यावश्यक नशारोग र मनोचिकित्साको औषधि उत्पादन गरी बजारमा बिक्री गर्ने जनाएको हो । समारोहमा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले अहिले सबै राजनैतिक दलहरुले आर्थिक समृद्धिको वकालत गरिरेहेको भन्दै त्यसलाई ब्यवहारमा उतार्न पर्नेमा जोड दिए । ‘सरकारले आर्थिक समृद्धिको पाटोलाई व्यवहारमा उतार्ने हो भने निजी क्षेत्र २४ घण्टै अहोरात्र काममा खटिन तयार छ,’ उनले भने ‘सरकारले चाहेमा आगामी दश वर्षभित्र मुलुकबाट गरिबी हटाउन सम्भव छ।’ त्यस दिशामा सरकार अघि बढ्न पर्ने उनको भनाइ छ । कम्पनीको क्षमताको अहिले ६५ प्रतिशत मात्र प्रयोग भइरहेको छ । बाँकीे ४५ प्रतिशत क्षमता प्रयोग हुन बाँकी छ । त्यसलाई प्रयोग गरी नशारोग र मनोकित्साको औषधी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले हाल मुटु, मधुमेह, चर्म लगायतका सबै खाले सरुवा रोगहरुको ३२० थरी औंषधीहरु अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी उत्पादन गर्दै आइरहेको छ । यसैगरी कम्पनीले अगामी दिनमा उत्पन्न गरिने औषधि अनुसन्धानको लागि छुट्टै विभागको व्यवस्था गरेको बताएको छ । कुल एक अर्ब ३२ करोड लागतमा सञ्चालन भएको देउराली जनता फर्मास्यूटिकल्सलले ४ सय ५० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । त्यस्तै १० हजारभन्दा बढी संख्यामा अप्रत्यक्ष रुपमा कम्पनीको माध्यमबाट लाभान्वित भएक कम्पनीका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बताए । कम्पनीले उत्पादन गर्ने गरेको औंषधिले गुणस्तरिय छ । अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमत भएता पनि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको उनको दुखेसो छ । हाल नेपाली बजारमा ५५ प्रतिशत विभिन्न औषधिहरु मुलुकबाहिरबाट आयात गरिन्छ । ४५ प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुनेगरेको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण ढकाल, नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो । लामो समय काम गरेका तथा महोत्सवको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न खेलका विजयीहरुलाई कार्यक्रमको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग, चैतदेखि मात्र वितरण गर्ने निर्णय

काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ । सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध-वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो । विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए । “सरकारले गरेको निर्णय हामीलाई मन्त्रालयबाट कार्यान्वयन गर्न निर्देशन आउनुपर्छ”, उनले भने, “ निर्देशन आएपछि तेस्रो चौमासिकबाट मात्र वितरण सक्छौ । ” “मन्त्रालयको वितरण गर्ने निर्देशनपछि हामीले तथ्याङ्क विभागबाट ६५ वर्ष उमेर पुगेका वृद्धको तथ्याङ्क संकलन गर्छौ । शाखा अधिकृत बस्नेतले भने, “अनि चैतदेखि मात्र वितरण गर्न सक्छौँ।” विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ । रासस

एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक जंगबहादुर बिष्ट सम्मानीत

काठमाडौं । एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक तथा समाजसेवी जंगबहादुर बिष्ट सम्मानित भएका छन् । योगी नरहररिनाथ ट्रष्ट अध्यात्मिक परिषदको तत्वाधानमा आयोजित २९६ औँ श्री ५ पृथ्वीजयन्ती तथा राष्टिय एकतादिवस भब्यताका साथ मनाउन प्राप्त सहयोग र सहभागीताको प्रशंसाका साथ उल्लेखनीय योगदानको कदर गर्दै समाजसेवी बिष्ट सम्मानित भएका हुन् । समाजसेवी बिष्ट लगायत समाजसेवी कल्याण बिष्ट, देदिप्य रिमाल, सिद्धार्थनाथ रिमाल, रुस्तम दुलाल तथा केशव घिमिरेलाई ट्रष्टका अध्यक्ष तथा कार्यक्रम सयोंजक शंकर पौडेलले एक कार्यक्रमका बिच सम्मान गरेका छन् । बि.स २०६३ साल देखी देशभरी नै ५ पृथ्वीजयन्ती तथा राष्टिय एकतादिवस भब्य रुपमा मनाउँदै आएको योगी नरहरीनाथ ट्रष्ट अध्यात्मिक परिषदका अध्यक्ष शंकर पौडेलले बताएका छन् ।

गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख

काठमाडौं गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख पुगेको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा आफ्नो नाफा ११ लाखले बढाएको हो । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ९७ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैंयाँ रहेको छ । गुडविलले ४ अर्ब ७९ करोड निक्षेप संकलन गरेर ४ अर्ब ७ करोड कर्जा लगानी गरेको छ । कम्पनीले ब्याज आम्दानी २८ करोड गरेको छ भने ब्याज खर्च २२ करोड रहेको छ । कम्पनीले २.२१ प्रतिशत खराब कर्जा रहेको कम्पनीले २४ लाख प्रोभिजन गरेको छ । कम्पनीको सिडी रेसियो ७२.७८ प्रतिशत रहेको छ । ७.७२ रुपैँया प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ११८.५९ रुपैंयाँ रहेको छ ।