बुधबारदेखि सुरु भयो यातायात महासंघको महाधिवेशन
काठमाडौं । चितवनमा बुधबारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अधिवेशन सुरु भएको छ । उक्त पाँचौं महाधिवेशन शुक्रबारसम्म चल्ने महासंघले जनाएको छ । देशभरबाट यातायात व्यवसायीहरुको प्रतिनिधित्व हुने उक्त महाधिवेशन सभ्य र भव्य हुने महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी गराएका छन् । महासंघमा बस, मिनिबस, माइक्रोबस लगायत करिब ३ सय वटा संघ/समिति/प्रालिहरु तथा विभिन्न प्रकृतिका सार्वजनिक यातायातहरु आबद्ध छन् । महासंघका अनुसार यातायात क्षेत्रमा निजी क्षेत्रका व्यवसायीहरुको झण्डै साढे ५ खर्ब लगानी भइसकेको छ । विभिन्न प्रकृतिका करिब ४ लाख सार्वजनिक सवारीका साधन देशभर सञ्चालन हुदै आएको छ भने करिब २० लाख जनशक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।
घटेको मूल्यमा सिमेन्ट बेच्न विभागको निर्देशन
काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुलाई घटेको मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिएको छ । बुधबार विभागले राजधानीको विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुमा गरेको अनुगमनको क्रममा ती कम्पनीहरुले सिमेन्ट उत्पादक उद्योगहरुले सिमेन्टको भाउ घटाए पनि बिक्रेता कम्पनीले नघटाएको फेला पारेपछि विभागले घटाएर बेच्न निर्देशन दिएको हो । अनुगमनको क्रममा विभागले काठमाडौं स्थित कोटेश्वरको न्यू त्रिवेणी हार्डवेयर, सोही ठाँउको ओम् सत्य साई ट्रेडर्स, स्पार्क इन्टरप्राइजेज लगायतले सिमेन्टको भाउ नघटाइ बिक्री गरेको भेटिएपछि घटाउन निर्देशन दिएको विभागको निर्देशक निरज पौडेलले जनाएका छन् ।
नेपाल बङ्गलादेश बैंकको ५५औं शाखा अर्घाखाँचीमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले गरेका हुन् । यस शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४९ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रतियोगिता सम्पन्न, विजेतालाई वृज सिमेन्ट ट्रफी प्रदान
काठमाडौं । माघ १५ गतेबाट सुरु भएको नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । “समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निमार्ण”, भन्ने नाराका साथ शुरु भएको उक्त प्रदर्शनी माघ १७ गतेसम्म सञ्चालनमा आएको थियो । प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन र पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ६ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लिकेडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पिपिसि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गतवृज सुपर पावर व्राण्डउत्पादन गर्दछ । गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देशवासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा ३ दिनसम्म चलेको थियो ।
ग्राहकहरुको अधिक माग पछि एम आई ए १ मोबाइल रातो कलरमा
काठमाडौं । नेपालमा मोबाइल बिक्री गर्दै आएको साओमी वत्सल इम्पेक्स प्रा.लिले ग्राहकहरुको अधिक माग पछि एम आई सिरीज अन्तर्गत एम आई ए १ फोन रोतो कलरमा पनि उपलब्ध गरेको छ । रातो प्रिमियम कलरमा रहेको एम आई ए १ फोनमा ५.५ इन्चको स्कृनको प्रयोग गरिएको छ । १२ मेगाफिक्सल डबल क्यामेरा रहेको उक्त मोबाइलमा ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक संञ्चय क्षमता रहेको कम्पनीले जनाएको छ । नयाँ कलरमा ल्याइएको फोनमा ३०८० एम ए एच को ब्याट्री सहित फिङ्गर सेन्सरको पनि प्रयोग गरिएको छ । यस मोबाइलको बजार मूल्य कम्पनीले २७ हजार राखेको छ ।
अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले पाए आइफोन एक्स
काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स प्राप्त गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई उक्त उपहार प्रदान गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई आइफोन प्रदान गर्दै यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।
कृषि तथा पशुपंक्षी कर्जा महंगियो, बैंकले आधार दरका आधारमा ब्याज लिन पाउने
काठमाडौं । व्यसायिक कृषि तथा पशुपंक्षी कर्जा अब महंगो हुने भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर महंगो भएपछि यसको असर कृषि तथा पशुपंक्षी कर्जाको ब्याजदर महंगिएको हो । सरकारले यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिदै आएको छ । यस्तो कर्जामा बैंकले आधार दरका आधार ब्याज तोक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी आधार दरका आधारमा कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपछि महंगो हुने भएको हो । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी छ । ब्याजदरको सीमा खुला गरेपछि आधार दरका आधारमा बैंकले यस क्षेत्रमा कर्जा प्रवाह गर्न सक्ने छन् ।
१४ गुणा ठूलो चन्द्रमा हेर्दा कसलाई फाइदा कसलाई नोक्सान ?
काठमाडौं । आजको खग्रास चन्द्र ग्रहण साँझ ५ बजेर ३२ मिनेटबाट लागे पनि हाम्रो देशमा चन्द्रोदय ५ बजेर ५५ मिनेटमा हुने भएकाले चन्द्रोदय भएपछि मात्र केहि अंश चन्द्रग्रहण लागिसकेको अवस्थामा देख्न सकिन्छ । यो खग्रास चन्द्र ग्रहण साँझ ६ बजेर ३६ मा पूर्ण सम्मिलन भई साँझ ७ बजेर १६ मिनेटमा मध्य हुने ज्योतिष नारायणप्रसाद दुलालले बताएका छन् । त्यसैगरी, साँझ ७ बजेर ५३ मिनेटमा उन्मिलन भई ८ बजेर ५७ मा पूर्ण मोक्ष हुनेछ । अतः खग्रास चन्द्र ग्रहणको कुल समयावधी ३ घण्टा २ मिनेटको हुनेछ भने पुरै ढाकिएको ग्रस्तोदित चन्द्रग्रहण १ घण्टा १७ मिनेटको हुनेछ । आजको चन्द्रमा पृथ्वीको नजिकै रहेका कारण १४ गुणा ठूलो र ३० गुणा बढी चम्किलो देखिनेछ । आर्थिक ग्रहण फल निम्न व्यक्ति, जातक, कार्यालय, संघसंस्था आदिलाई यस खग्रास चन्द्रग्रहणले पार्ने आर्थिक पक्षहरु: मेष– स्वास्थ्य एवं विमापक्षलाई नोक्सानी हुनेछ । वृष– बैंक तथा वित्तीय संस्थालाई अधिक लाभ मिल्नेछ । मिथुन– शैक्षिक व्यवसायका साथै फेन्सी एवं सर–सजावटी क्षेत्रमा धन हानी हुनेछ । कर्कट– वाहनको कारोबारमा नेक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ । सिंह– उत्पादनमूलक कलकारखानाबाट आर्थिक नोक्सानी तथा लगानी डुब्ने भय छ । कर्कट– वाहनको कारोबारमा नोक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ । कन्या–शैक्षिक व्यवसाय फष्टाउने छ साथै रोकिएका ठाउँबाट धनआर्जन हुनेछ । तुला– आर्थिक पक्ष निकै सबल छ साथै नयाँ कार्यको विभिन्न अवसर मिल्नेछ । वृश्चिक– कामको स्तर घट्नेछ र सबै व्यापारिक प्रतिष्ठामा वाधा आउनेछ । धनु–विमापक्षलाई कमजोर हुनेछ र तरल पदार्थको कार्यबाट नोक्सानी मिल्नेछ । मकर–होटल व्यवसायमा व्यवधार आउनुका साथै कार्यक्षेत्रमा अवरोध आउनेछ । कुम्भ–धातुजन्य पदार्थलाई लाभ मिल्नुका साथै बैंक तथा वित्तीय संस्थालाई फाइदा हुनेछ । मीन– वस्त्र, आभूषण, सजावटीका व्यवसायमा आर्थिक स्थिती कमजोर रहने छ ।