एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०८४ रुपैयाँ
काठमाडौं । शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।
जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का, एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० कि २१० रुपैयाँ ?
काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ । एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो । एउटै कम्पनीकाे संस्थापक सेयर मूल्य देखिएकाे यति ठूलाे अन्तर संयाेग मात्र हाे वा कपाेर्रेट वार हाे ? भविष्यमा खुल्दै जाने छ ।
छुट्टै महिला समिति बनाउने निर्णय गर्दै, सकियो साफा मम्मेलन
काठमाडौं। राजधानीमा गएको मंगलबारदेखि सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन बिहीबार सम्पन्न भएको छ । सम्मेलनको ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले साफामा छुट्टै महिला लेखा व्यवसायी सम्बन्धि समिति बनाउने निर्णय गरेको हो । सार्क क्षेत्रमा महिलाहरुको लेखा व्यवसायमा बढीभन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकले त्यस्तो सैद्धान्तिक सहमति गरेको छ । सहमति अनुसार बन्ने महिला समितिमा सम्पूर्ण पदाधिकारी महिला नै हुने बताइएको छ ।
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य समायोजन गरेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर एक सय अमेरिकी डलर बढाएको छ । मूल्य समायोजन गरेपछि पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य क्रमशः १०४, डिजेल र मट्टीतेललाई ८३ रुपैयाँ पर्ने भएको छ । मूल्य बढे पनि निगमलाई यो पाक्षिक (१५ दिन)मा १४ करोड ९२ लाख रुपैयाँ घाटा हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।
एनसीसी बैंक महाराजगञ्जमा
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको महाराजगञ्जमा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरे । महानगरपालिका, वडा नम्बर ३ का वडा अध्यक्ष दिपक के.सीले एनसीसीसंग नजिक बसेर काम गर्न ईच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताए ।बैंक अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले शाखाबाट उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटै राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको जानकारी दिए ।
स्थानीय तहमा ३ हजार कर्मचारी अपुग
काठमाडौ । स्थानीय तहमा अझै करिब ३ हजार कर्मचारीको अभाव भएको छ । ७५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब ३ हजार कर्मचारी अभाव भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले जानकारी दिए । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ १४४ जना र वडाका सचिवतर्फ १ हजार ५८ पद रिक्त रहेका छन् । अहिले ती ठाउँमा निमित्तले काम गरिरहेको उनले बताए । सबै स्थानीय तहमा करिब ६ हजार १०० वडा कार्यालय रहेका छन् । पहिलेका कार्यकारी प्रमुखलाई अहिले प्रमुख प्रशासकीय अधिकृत भनिन थालेको हो । उहाँका अनुसार विराटनगर र वीरगञ्जमा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै नभएको बताए । त्यहाँ सहसचिवको दरबन्दी भए पनि उपसचिवले काम चलाइरहेका छन् । यसैगरी १३ वटा उपमहानगरमा भने प्रमुख प्रशासकीय अधिकृत पुगेका छन् । यस्तै २७६ नगरपालिकामध्ये २१ वटामा प्रमुख प्रशासकीय अधिकृत रहेका छैनन् भने ६९ मा शाखा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सञ्चालन गरेका छन् । नगरपालिकामा उपसचिव रहने व्यवस्था गरिएको छ । यस्तै ४६० गाउँपालिकामध्ये ५२ स्थानमा प्रमुख प्रशासकीय रिक्त रहेका छन् । गाउँपालिकामा भने शाखा अधिकृत रहने व्यवस्था गरिएको छ । कर्मचारी अभाव भएपछि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग हजार १४६ कर्मचारीमा माग गरेको उनले जानकारी दिए । करिब २ महिनाअघि कर्मचारी अपुग भएपछि सुब्बा र खरदार माग गरिएको छ । तर अहिलेसम्म सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएको उनले बताए । स्थानीय तह शासन आदेश २०७४ ले नयाँ गाउँपालिका र नगरपालिकामा नौ जना कर्मचारी र वडामा तीन जनाका दरले कर्मचारी व्यवस्था गरिएको छ । रासस
अनिल शाह नविल बैंकको डेपुटी सीईओ नियुक्त, सेवा सुविधा स्थायी दरबन्दीअनुसार
काठमाडौं । नविल बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिलकेशरी शाहलाई नियुक्त गरेको छ ।बिहीबार बसेको बैंक सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो । गत पुस १३ गते बैंक सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर राष्ट्र बैंकले सोही दिन परिपत्र गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एउटा बैंक छोडेर अर्को बैंकमा नियुक्ती पाउन कम्तिमा ६ महिना कुर्नु पर्ने निर्देशन दिएपछि नविलमा सीईओ बन्न शाहलाई समस्या भएको थियो । पुस १५ गते बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा शाहलाई नियुक्त गर्ने पुरानो निर्णय रद्द गरेको थियो । तीन दिनपछि पुन बैंठक बसी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो । शाहलाई बैंकले आगामी साउनमा प्रमुख कार्यकारी नियुक्त गर्ने पक्का भएको छ । ‘बैंकमा दक्ष मान्छेको अभाव छ । शाह नविल बैंकको सीईओ भएर राम्रो काम गरेको व्यक्ति हो । उहाँको क्षमतामा शंका छैन । विधि प्रक्रिया मिलाएर उहाँलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने विषयमा बैंकमा एक मत भएर नै डेपुटी सीईओ नियुक्त गरिएको हो’ बैंकका एक सञ्चालकले भने । डेपुटी सीईओलाई नै कामु सीईओको जिम्मेवारी दिएर बैंक चलाउने योजना बैंकको रहेको छ । हाललाई शाह डेपुटी सीईओ भए पनि ६ महिनापछि सीईओ हुने भएका छन् ।
धितोपत्र बोर्डले भन्योः बुटबल पावरको एफपीओ नियम संगत
काठमाडौं । धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) लाई नियमावली तथा निर्देशिकामा भएको व्यवस्थाअनुसार थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमती दिएको स्पष्ट पारेको छ । धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थाबमोजिम सूचिकृत संगठित संस्थाले पुँजी बृद्धि गर्नु परेमा हकप्रद सेयर वा एफपीओ निष्कासन गर्न सक्ने व्यवस्था रहेको बोर्डले जानकारी दिएको छ । बीपीसीले सरकारको स्वामित्वमा रहेको सेयर अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धकमार्फत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी नेप्सेमा सूचीकृत गराई कारोबार भएकाे बोर्डका प्रवत्ता निरज गिरीले बताए । बीपीसीले प्रबद्र्धन गरेको आयोजनाका लागि आवश्यक पूँजी निर्माण र परिचालन गर्न साधारणसभाबाट निर्णय गराई एफपीओका लागि अनुमति माग गरेकोमा नियमावली तथा निर्देशिकाको व्यवस्थाअनुसार निष्कासन गर्न अनुमति दिएको उनले स्पष्ट पारे । बीपीसीको एफपीओको बारेमा बजारमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि बोर्डले स्पष्ट पारेको हो । बीपीसीको चुक्तापूँजीको ७५ प्रतिशत शेयर निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई ०५९ माघ १५ मा बिक्री गरी हस्तान्तरण गरेको र त्यसपछि ०६० असोज ६ मा सरकारले थप १२ प्रतिशत शेयर सर्वसाधारण तथा कर्मचारीलाई नागरिक लगानी कोषको प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्कासन गरेको पाइएको गिरीको भनाई छ । निष्कासन भएका सेयरहरु नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा ०६१ पुस २८ मा सूचीकरण भई हाल दोश्रो बजारमा कारोवार भइरहेको बोर्डको भनाई छ । सोहीबमोजिम कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको प्रतिनिधित्व समेत रहेको जानकारी दिएको छ । यस प्रकारको सार्वजनिक निष्कासनमार्फत नेपाल टेलिकमले समेत सरकारको स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्र बजारमा सूचीकृत भएर दोश्रो बजारमा कारोबार समेत भईरहेको उनले बताए । एफपीओको मूल्य निर्धारण सम्बन्धमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएका मापदण्ड र पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र बोर्डमा निवेदन दिनुभन्दा ७ दिन अगाडिको १८० दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औसत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई एफपीओको मूल्य कायम गरेको बोर्डले जनाएको छ । बीपीसीले ३७.५ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण गर्न साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकाे छ । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने भएका छन् ।