गण्डकी विकास बैंकको थप दुई शाखा सञ्चालनमा, २६ वटा शाखा थप्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकैदिन औपचारिक उद्घाटन गरेको छ । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरेका हुन् । कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले कञ्चन क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताउँदै बैंकको सफलताको शुभकामना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकका सेवालाई विविधकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमको बारेमा जानकारी दिएका छन् । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी÷आईपीएस, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ । हाल बैंकले ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा सम्पूर्ण बैकिङ्ग सेवा दिँदै आएको छ । साथै बैकले यसै आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा २६ वटा शाखाहरु थप गरी ७७ वटा शाखा पुर्याउने लक्ष्य लिएको छ ।
३ अर्बको रिचार्ज कार्ड बेच्ने एफ १ सफ्टदेखि २ लाख खर्च गर्ने कुलमानसम्मलाई टेलिकमको सम्मान
काठमाडौं। नेपाल टेलिकमले मोवाइल सेवा प्रयोग गरेवापत बढी रकम भुक्तानी गर्नेलाई सम्मान गरेको छ ।१४ औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा एफ १ सफ्ट इन्टरनेसनल प्रालि, सूर्य नेपाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान् गरेको छ । एफ १ सफ्टले सबैभन्दा बढी रिचार्ज कार्डको बिक्री गरेको, सूर्य नेपाल प्रालिलाई संस्थागततर्फ विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक टेलिफोन विल भुक्तानी गरेको र घिसिङलाई जीएसएम पोस्पेडमा व्यक्तिगततर्फबाट सर्वाधिक बढी रकम भुत्तानी गरेको भन्दै टेलिकमले सम्मान गरेको हो । एफ वानले ३ अर्ब २५ करोड रुपैयाँको रिचार्ज बिक्री गरेको, सूय नेपालले ९ लाख ४६ हजार र कुलमानले १ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको टेलिकमले जनाएको छ । टेलिकमकाअनुसार एकीकृत सेवातर्फ ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, गोल्डमाइन बिजिनेस ग्रुप, कन्टीनेन्टल मार्केटीङ लगायतका एक दर्जन कम्पनीहरुलाई सम्मान गरिएको थियो । ती कम्पनीहरुले ५० करोडदेखि २ अर्ब १५ करोड रुपैयाँसम्मको रिचार्ज सेवा तथा कार्ड बिक्री गरेका छन् । त्यस्तै संस्थागततर्फ टेलिकमको सेवा प्रयोग गरी सर्वाधिक विल भुक्तानी गर्ने नव ज्योति इम्पेक्स (सीडीएमए), सिनो हाइड्रो कर्पोरेसन (वाईम्याक्स), सर्बोच्च अदालत (लिजलाईन), त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई (पिएसटीएन ल्याण्डलाइन) सम्मान् गरिएको छ । टेलिकमको अनुसार ती संस्थाहरुले क्रमशः १८ हजार ६ सय, ८८ हजार, १ करोड ६८ लाख र ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ । व्यक्तिगततर्फ टेलिकमको सेवा प्रयोग गरी सर्वाधिक विल भुक्तानी गर्ने पुष्प दुलाल (जीएसएम प्रिपेड), मोरङका दिलबहादुर लावती (सीडीएमए पोस्पेड), महेन्द्र नगरका बिदुर परियार (सीडीएमए प्रिपेड), कञ्चनपुरका रामप्रकाश राना (पिएसटीएन ल्याण्डलाइन) रहेका छन् । उनीहरुले क्रमशः ६४ हजार, ३७ हजार, २ लाख २१ हजार, १ लाख २६ हजार रुपैयाँ विल भुक्तानी गरेको टेलिकमले जनाएको छ ।
मुआब्जा वितरणले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो
वीरगञ्ज । जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्म अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्को लाग्न थालेपछि आयोजनाले पनि निर्माण प्रक्रियालाई तीव्रता दिन थालेको हो । आयोजनाले एक वर्ष अगाडि विमानस्थलको चारकिल्ला छुट्याउन वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि मुआब्जालिन आलटाल गर्नेहरू अब मुआब्जाका लागि आयोजना कार्यालयमा धाउने गरेको आयोजनाका व्यवस्थापक रामहरि महर्जनले बताए । कोलहबी नगरपालिकाअन्तर्गत पर्ने काट गाउँका १० बिगाहा र ककडीका १०० बिगाहा जग्गा विमानस्थलभित्र पर्ने भएको छ । नम्बरी जग्गा भएका ती गाउँका बासिन्दाले जग्गा मूल्य निर्धारण समितिद्वारा निर्धारण गरिएको मूल्यअनुसार कतिपयले मुआब्जा लगिसकेका छन् भने कतिपयले निवेदन दिने क्रममा रहेको सूचना अधिकारी विजय यादवको भनाइ छ । काँटगाउँ र ककडीका ५५ घरधुरीले मुआब्जाको लागि निवेदन दिएका छन् भने बाँकी ५० घरधुरीले निवेदन दिन बाँकी रहे पनि आयोजनाले काममा तीव्रता दिएको हो । विमानस्थल निर्माणका लागि ११ हजार ८७५ बिगाहा क्षेत्रफलमध्ये ११० बिगाहा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ । अहिलेसम्म रु साढे सात करोड खर्च गरेर पसहा खोलामा तटबन्ध निर्माण गर्न लागिएको छ भने विमानस्थल एरिया छुट्याउने काम अगाडि बढेको छ । विमानस्थल निर्माण गर्न ठूलो सानो गरी करिब सात लाख रुख काट्नुपर्ने भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिइएको छ भने डिपीआर निर्माण भएपछि कसरी विमानस्थल बनाउने सोही आधारमा निर्माण हुने सूचना अधिकारी यादवको भनाइ छ । विमानस्थलको धावनमार्गमा रहेको टांगिया बस्तीलाई मुआब्जा दिने नदिनेबारे भने आयोजना मौन छ । आयोजनाका अधिकारी भन्छन्–टांगियाका बासिन्दाले जंगल फडानी गरी बसेको बस्ती बसाएको र उनीहरुसँग लालपूर्जा नभएकाले यसबारेमा सरकारले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढने आयोजनाका पदाधिकारीको भनाइ छ । सरकारले विमानस्थलको डिपीआर तयार गर्न कन्सनटेन्सी छनोट गरिरहेको छ । अबको सात वर्षभित्र विमानस्थल निर्माण गरी सञ्चालन गरिसक्नुपर्ने आयोजनाको लक्ष्य छ । रासस
रेडक्रसले ७ हजार घरधुरीलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ७ हजार घरधुरी लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, रौतहट, उदयपुर, र बर्दिया जिल्लाका बाढी पिडीतलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम गर्न लागेको हो । अन्तर्राष्ट्रिय रेडक्रसकोे सहयोगमा बाढीबाट प्रभावित व्यक्तिहलाई जिविकोपार्जन, आवास, स्वास्थ्य, पानी तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको बाढी पिडीत सम्बन्धी चितवनमा बसेको भेलाले ६ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका अध्यक्ष हरी निरौलाले विपद व्यावस्थापनका लागी स्थानीय तहमा बजेट निकासी भएकोले सो बजेट विपद पुर्व तयारीमा प्रयोग गर्नु पर्ने बताए । ६ महिनामा विपद जोखिम न्यूनिकरण, अपतकालिन आवास व्यावस्थापन, पानीको गुणस्तर परिक्षण र चेतनामूलक जिविकोपार्जन सम्बन्धी पुनर्लाभ कार्यक्रम समावेस हुने छ । कार्यक्रमको लागि आवश्यक जनशक्ति जिल्ला –जिल्लामा खटाइसकेको बाढी पिडीत कार्यक्रमका प्रमुख डा. कृष्ण देवकोटाले जानकारी दिए ।
गुँरास लाईफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी
काठमाडौं । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोकको खानीखोलाका सुमन तामाङ्ग थिङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेक उनको अर्को छोरा धनबहादुर थिङ्गलाई १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् । तामाङ्गले यस कम्पनीमा म्यादी जीवन बीमा गराएका थिए ।
३७८ ठूला ग्राहकको लाइन काटियाे, ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी
काठमाडौं । ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी छ । लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी नियन्त्रण अभियानलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले पछिल्ला दिनमा लामाटार, लाँकुरी भञ्ज्याङ र च्यासल क्षेत्रमा हुकिङ हटाउन अभियानलाई तीव्र पारेको छ । प्रमुख यादवका अनुसार स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजका अगुवाको सहयोगमा दैनिक तीन दर्जनभन्दा बढी हुकिङ हटाउने र चोरीका उपकरण जफत गर्न थालिएको छ । प्राधिकरणले हुकिङ सामग्रीसहित स्थानीयवासीलाई पक्राउ गर्दै कारबाहीको प्रक्रिया शुरु गरेको छ । एक सातामा मात्रै रु छ लाख ५० हजार बराबरको जरिवाना रकमसमेत उठेको छ । चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा सञ्चालन गरिएपछि एकै ग्राहकले रु एक लाख ५० हजारसम्म तिर्न थालेका छन् । प्राधिकरणले मिटर नभएका ग्राहकलाई निवेदन दिएको सात दिनभित्र मिटर उपलब्ध गराउन थालेको छ । महानगर, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयमा नै विद्युत् मिटर उपलब्ध गराउन शुरु गरिएको प्रमुख यादवले बताए । अटेर गर्नेलाई भने कारबाही गर्ने र कुनै पनि दबाबलाई स्वीकार नगर्ने रणनीतिका साथ प्राधिकरण चोरी नियन्त्रण अभियानमा लागेको जनाइएको छ । प्राधिकरणका अनुसार ललितपुरमा मात्रै रु ५० करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ । रासस
विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक क्षमता बढ्यो
काठमाडौं । विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२/७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो । आव २०७२/७३ मा औद्योगिक क्षमता ४८ दशमलव २ प्रतिशत रहेकामा आव २०७३/७४ मा ५७ दशमलव ३ प्रतिशतमा पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगमा पस्मिना उद्योग रहेको छ । सो उद्योगले ९८ दशमलव ५ प्रतिशत क्षमता उपयोग गरेको छ । यस्तै बियर उद्योग ८२ दशमलव १ प्रतिशत, चाउचाउ उद्योग ७९ दशमलव १ प्रतिशत र प्रशोधित चिया उत्पादन गर्ने उद्योग ७८ दशमलव ६ प्रतिशत क्षमता उपयोग गरेका छन् । गत वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८ प्रतिशत, ६२ दशमलव ८ प्रतिशत, ८३ दशमलव ३ प्रतिशत र ६५ दशमलव ५ प्रतिशत रहेको थियो । बैंकका अनुसार सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा चामल उद्योग २८ दशमलव ८ प्रतिशत, चिनी उद्योग ३१ दशमलव २ प्रतिशत र इँटा उत्पादन गर्ने उद्योग ३५ दशमलव ७ प्रतिशत रहेका छन् । ऊर्जा आपूर्तिमा सुधार भएको, बन्द हडताललगायतका आपूर्तिजन्य अवरोधमा कमी आएको, पुनःनिर्माण कार्यका कारण निर्माणजन्य सामग्रीको मागमा वृद्धि भएको तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आएको बैंकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाका अनुसार सहज ऊर्जाको उपभोग नै औद्योगिक क्षमता बढ्नुको खास कारणका रुपमा पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोगका लागि २४सै घण्टा विद्युत् उपलब्ध गराए पनि औद्योगिक करिडोरमा भने गत वर्ष दैनिक चार घण्टा र यस वर्ष दैनिक तीन घण्टामात्रै विद्युत्भार कटौती गर्दै आएको छ । महासंघका अध्यक्ष राणा उद्योगले २४सै घण्टा विद्युत् पाउने हो भने औद्योगिक क्षमता वार्षिक रुपमा १५ प्रतिशतभन्दा बढी पुग्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले केही दिन पहिले आयोजना गरेको कार्यक्रममा राणाले औद्योगिक क्षमता वृद्धिको प्रमुख आधार ऊर्जा नै भएकाले थप सहजीकरण हुनुपर्ने बताएका थिए। समीक्षा अवधिमा वनस्पति घ्यू तथा तेल समूहको उत्पादन ३९ दशमलव २, समग्र पेय पदार्थको उत्पादन २७ दशमलव २ र लत्ताकपडा समूहको (धागो, सिन्थेटिक कपडा र पस्मिनाको औसत) उत्पादन २८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अन्न तथा पशुदाना समूहको उत्पादन १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूहअन्तर्गत बिस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ भने चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५ दशमलव ३ प्रतिशतले ह्रास आएको छ । क्षेत्रगत रुपमा काठमाडौँ क्षेत्रमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधि, जुत्ता आदिको उत्पादन हुने गरेको छ । विराटनगर क्षेत्रमा वनस्पति घ्यू, तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लास्टिकका सामान, फलामको छड तथा पत्ती, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख रहेका छन् । यस्तै जनकपुर क्षेत्रमा चिनी, मदिरा, कागज, इँटा, सिमेन्ट आदिको उत्पादन बढी छ भने वीरगञ्ज क्षेत्रमा मुख्य रुपमा वनस्पति घ्यूउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला र औषधि उत्पादन हुने गरेको छ । यस्तै पोखरा क्षेत्रमा बिस्कुट, चाउचाउ, रबरजन्य वस्तु आदिको उत्पादन हुन्छ भने सिद्धार्थनगर क्षेत्रमा गहुँको पिठो, पेय पदार्थ, औषधि र सिमेन्ट उत्पादन हुने गरेको छ । वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा २१ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेका छन् । केन्द्रीय बैंकका अनुसार औद्योगिक क्षेत्रमा रु छ खर्ब ३७ अर्ब १८ करोड लगानी पुगेको छ । अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाले कूल औद्योगिक कर्जा लगानीमा काठमाडौं ५८ दशमलव ९, विराटनगर ११ दशमलव ४, वीरगञ्ज ९ दशमलव २, पोखरा ६ दशमलव ७, सिद्धार्थनगर ६ दशमलव ४, नेपालगञ्ज ३ दशमलव ४, धनगढी २ दशमलव २ प्रतिशत र जनकपुर क्षेत्रमा कूल १ दशमलव ८ प्रतिशत लगानी बढाएका छन् । ठूला बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडाँैमा नै रहेका र कर्जा लगानीसम्बन्धी अख्तियारी रहिरहने भएकाले पनि कूल कर्जा लगानी बढी काठमाडौँमा नै देखिएको हो । पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाको पुनःनिर्मार्णले गति लिएको तथा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा पूर्वाधार क्षेत्रमा निर्माणजन्य सामग्री इँटा, सिमेन्ट र फलामे छड बढी आवश्यक पर्ने भएकाले ती उत्पादन बढ्ने देखिएको बैंकको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण उद्योगलाई बढीभन्दा बढी विद्युत् उपलब्ध गराउन प्रयासरत रहेको बताउँछन् । उद्योगमा एक युनिट विद्युत् बराबर रु १०० बराबरको औद्योगिक क्षमता बढ्न जान्छ । सहज विद्युत् आपूर्तिपछि सिमेन्ट तथा छड उद्योगको क्षमतामा समेत उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारी स्वामित्वको हेटौँडा र उदयपुर सिमेन्ट उद्योग धेरै वर्षपछि नाफामा गएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सबै उद्योगलाई २४सै घण्टा विद्युत् उपलब्ध गराइने जानकारी दिए । रासस
सन्तपुरको मुसहर बस्ती बनाउन पुर्व सांसदको एक लाख सहयोग
काठमाडौं । पुर्व सासंद रामकुमार भट्टराईले सन्तपुरमा निर्माण भैरहेको मुसहर बस्तीका लागि एक लाख एक हजार एक सय एक रुपैंयाँ सहयोग गरेका छन् । नमुना बस्ती निर्माण अभियन्ता सिताराम कट्टेल(धुर्मुस)लाई पुर्व सांसद भट्टराईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले गरिबीको निरपेक्ष रेखामुनी रहेका मुसहरहरुका लागि घर बनाउने पवित्र कर्ममा सहयोग गर्न पाउँदा खुसी लागेको पनि बताए । ‘म आफैं गरिबी उन्मुलनका लागि राजनीतिक आन्दोलनमा लागेको मान्छे हु, समाजिक अभियन्ताले सुरु गरेको काममा सहयोग गर्नु आफ्नो कर्तव्य ठान्छु’, नेकपा(एमाले)का नेता समेत रहेका पुर्व सांसद भट्टराईले भने । उनले गत मंसिरमा चन्द्रपुर बिस्फोटनमा घाइते भएकी सरिता राई र जैविक राईको फलोअप उपचारका लागि १० हजार नगद दिएर चितवन समेत पाठएका छन् । बिस्फोटनमा परी खुट्टा गुमाएकी सरिता राईको परिवारका लागि घर बनाइदिने अभियानमा आफु जुटेको पनि भट्टराईले बताए । ‘सरिताको परिवारका लागि घर र हात गुमाएका जैविक र उनका भाईलाई निःशुल्क शिक्षा दिलाउने अभियानमा जुटेको छु’, भट्टराईले भने । उनै भट्टराईले जमानी बसेर सरिता र जैविकलाई चितवन मेडिकल कलेजबाट डिस्चार्ज गराएका थिए । उनले क्यान्टिन र खाना वापतको ५० हजार रुपैंयाँ भने आफैंले तिरिदिएका थिए ।