विकासन्युज

१०० मेगावाटकाे सुपर त्रिशुली आयोजना निर्माण कात्तिकदेखि, २०७९ असोजमा बिजुली उत्पादन हुने

काठमाडौं । आगामी २०७५ कात्तिकदेखि १ सय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ ।प्रवद्र्धक ब्लु इनर्जी प्रालिले एक साताअघि विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएपछि आयोजना निर्माण हुने अवस्थामा पुगेको हो । आयोजना स्वदेशी तथा विदेशी संयुक्त लगानीमा निर्माण हुनेछ । आयोजनाबाट २०७९ असोज १४ गते ( सन् २०२२ को अक्टुबर) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने भएको छ । यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । आयोजनालाई विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण लगानी हुने उनले जानकारी दिए । यस्तै नागरिक लगानी कोषले पनि लगानी गर्ने प्रतिवद्धता दिएको उनले बताए । नेपाल विद्युत् प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएपछि लगानी जुट्ने रेग्मीले बताए । उनकाअनुसार आयोजना बनाउन १५ देखि १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक संभाव्यता अध्ययनले देखाएको छ । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनर्माणको काम सक्ने निर्देशक रेग्मीले जानकारी दिए । आयोजनाका लागि आवश्यक पर्ने ७० प्रतिशत जग्गा अधिग्रहण गरिसकेको उनले बताए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको छ । पीपीए) को लाइनमा रहेको रेग्मीले बताए । सुपर त्रिशुलीलको लेउ वा देउ (टेक अर पे) मा पीपीए हुनेछ । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माण लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनामा इक्विटीको समस्या नभएको उनले स्पष्टपारे । काम सुरु गरेको ३ वर्ष ९ महिनामा आयोजना सम्पन्न हुनेछ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । यस्तो बाँध भएको सुपर त्रिशुली नेपालको पहिलो आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

सत्यको हत्या र भ्रमको खेती, रक्सि पियर ख्याति पाईन्छ ?

मेरो मनमा पलाएको एउटा जिज्ञासा यहाँ प्रस्तुत गर्न मन लाग्यो । कडा दुःख र परिश्रम गरेर माथि पुगेका, मेहेनतकै भरले उचाइ चुमेका, कठोर समस्यासँग जुधेर बिशिष्टता हासिल गरेका, आफुले पीडा सहेर अन्यलाई मदत गरेका मान्छेका कथाहरु दूर्लभ बस्तु भएका छन् हाम्रो देशमा । कुनै ब्यापारी वा लेखक वा कवि, संगितकार वा गायक, कलाकार वा फिल्म निर्देशक वा निर्माता, खेलाडी वा प्रशिक्षक, कुनै प्राबिधिक वा आविष्कारक, बगैचे वा कुनै पसले वा अन्य कुनै क्षेत्रमा लागेका मानिसले आफ्नो प्रगति र उत्थानको लागि गरेको दुःख,वेदना,कष्ट वा मेहेनतको कथा खासै सुन्न पाइदैन यहाँ । यस्तोमा कलम चलाउनेहरुको पनि खडेरी नै छ । मलाई लाग्छ, यो बिडम्बनापूर्ण अवस्था हो, देश उँभो लाग्ने संकेत हैन । अन्य देशमा यस्ता सफलताको नेपथ्यका कथाहरु वा आत्मकथाहरु प्रसस्तै पढ्न पाइन्छ जसले मान्छेमा परिश्रम गरेर कहीँ पुगी छाड्ने जाँगर र हिम्मत पलाउँछ । अन्यलाई सहयोग गर्ने प्रेरणा दिन्छ । नेपालका अन्य पेशा वा क्षेत्रको भन्दा राजनीतिक नेताहरुको हकमा चाहिँ खुब लेखिएका छन् – जेल परेको र त्यहाँ पाइएको दुःखहरु, पुलिसले पिटेका घटनाहरु । तर नेताहरुको त्यस्तो दावि हालको नेपालको अवस्थामा धेरै हदसम्म अप्रासंगिक भइसके, म्याद नाघेको औषधि जस्तै । नयाँ पुस्ताका युवाहरु अब जेल बसेर आफ्नो जीवन छोट्याउने वा निष्कृय पार्ने बारेमा सोच्न सक्दैननन्, जेल बसिसकेकाहरु प्रति नतमष्तक पनि देखिदैनन् । बरु जेल बसेर समय काट्नेहरु प्रति नकारात्मक धारणा राख्लान् । द्रुत गतिमा परिवर्तन भइरहेको यस संसारले देखेका नयाँ नयाँ आबिस्कारसँग आफ्नो सम्बन्ध गाँस्न उत्सुक नयाँ पुस्ता अब जेलमा बिना अर्थको दुःखको कथा सुन्न चाहदैनन् । मेरो आंकलन हो यो । नेताहरुले यसलाई आफ्नो गौरवपुर्ण गाथाको रुपमा बेच्ने काम नगर्दा राम्रो हुन्छ । तर यहाँको अहिलेको चर्चा गैर-राजनीतिक हो । गएको शनिवार माघ २० गते मात्र कथाकार मनु ब्राजाकीको निधनको खबर आयो । उहाँको परिवार प्रति हार्दिक सम्बेदना अर्पण गर्छु । निधनको खबर सँगै राजधानीबाट प्रकाशित दैनिक अखबारहरुमा मनुजीको बारेमा धेरैले कलम चलाए । लेख्नमा ‘उहाँ राम्रो कथाकार हुनुहुन्थ्यो, बेजोडको कथा लेख्नुहुन्थ्यो’ भनिएको छ । तर राम्रो कथाकार बन्नको लागि मनुजीले कति र कस्तो मेहेनत गर्नु भो, कति अनुसन्धान गर्नु भो, कथा लेख्ने क्रममा कहाँ कहाँ पुगेर तथ्याङ्कहरु संकलन गर्नु भो, कति दुःख झेल्नु भो, कति ह्युमिलेसन सहनु भो, कतिले गरेको हेँलालाई पचाउनु भो, कतै पनि पढ्न पाइएको छैन । यसको सट्टामा बरु ‘उनी खुब रक्सी पिउँथे, मसँग पैसा मागिरहन्थे, मलाई भेट्न घरमा आइराख्थे, भट्टिमा हाम्रो भेट हुन्थ्यो’ भन्ने नितान्त वैयक्तिक बखानको ब्याख्या गर्ने वाक्यांसहरु खुबै पढ्न पर्‍यो। सार्वजनिक उपभोगका दृष्टिले सर्बथा अनाबश्यक र अनुपयुक्त वाक्यहरु जोडेर लेखको रुप दिइन्छ जसमा मेहेनतको अंश कम, लेखक हुने आकांक्षा बढी प्रतिबिम्बित हुन्छ । त्यस्ता लेखमा केही हदसम्म रुपलाई ध्यान दिइएको हुन सक्ला, तर सार भने शुन्य प्रायः हुन्छ । यसै गरी माघ २१ गते आइतबारको साप्ताहिक ‘नेपाल’ को अंकमा भूपी शेरचनको बारेमा एक संस्मरणत्मक लेख प्रकाशित भएको छ । यस लेखमा नेपालका सर्बाधिक लोकप्रिय कवि बन्नको लागि भूपी शेरचनले गर्नु भएको दुःखको बारेमा उल्लेख छैन, रक्सी खाने उहाँको बानीको खुबै चर्चा छ । संस्मरणमा ‘पिउन थालेपछि भूपी बेहिसाब पिउथेँ’, ‘कोही मानिस अगाडि नहुँदा पनि भूपीले एक दिन नयाँ सडकमा गाडिको हर्न बजाएको बजायै गरे’ भनिएको छ । कुनै दुःखै नगरी, मेहेनतै नगरी भूपीका कविताहरु हिट भएका होलान् त ? नाम कमाउने काम सजिलो त पक्कै छैन । लामो समयसम्मको निरन्तर कठोर मेहेनतबाट मात्र नाम कमाइन सम्भव हुन्छ, यो सबैको हकमा लागु हुन्छ । मेहेनत बिना नाम कमाइन्छ भने त्यसलाई अनर्थ मान्नु पर्छ । मानव जीवनका यावत पक्षमा दुःख र मेहेनतका साथ हासिल भएका सफलताका कथाहरु जुन सुकै समाजमा पनि पछिल्लो पुस्ताको लागि प्रेरणाको श्रोत बन्छन् । कलिला बाल बच्चाले कुन नेपालीको जीवन भोगाइ र विताइलाई हेरेर वा पढेर आफ्नो लक्ष निर्धारण गर्ने ? हाम्रा छोरा छोरीहरुको रोल मोडेल हुन सक्ने व्यक्तित्व के हाम्रो देशमा हुँदै नभएको हो ? के त हाम्रो नेपालमा कुनै दुःख वा मेहेनतै नगरी नाम कमाइन्छ ? प्रेसले उछालेकै भरमा कोही तलबाट एक्कासी माथि पुग्छ ? कि ती नाम कमाउनेहरुले गरेको दुःख र मेहेनतको बारेमा हामीले ध्यान नदिएको हो ? कुन सत्य हो, कृपया भनिदिनुस न साथी हो, म अलि अलमलमा परेँ ।

१६ प्रतिशत हिस्सा ओगट्दै आइटेल

काठमाडौं। आइटेल ब्राण्डले नेपाली मोबाइल बजारमा १६ प्रतिशत हिस्सा ओगटेको जनाएको छ । ट्रान्ससन् होल्डिङ मोबाइलले आइटेल ब्राण्ड नेपाली बजारमा सार्बजनिक गरेको हो । गएको वर्षको सेप्टेम्बरमा कम्पनी विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको हो । विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ प्रतिशत बजार अंश ओगटेको कम्पनीको दावी छ । ट्रान्ससन् नेपालले करिब ४ महिना अघि आइटेल, टेक्नो मोवाइल र ओराइमो सेट बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको कम्पनीको भनाइ छ । कम्पनीले पछिल्लो समय क्यामन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु बजारमा बिक्री गर्न सुरु गरिसकेको जनाएको छ । क्यामन आई सिरिजका नयाँ सेटमा १३ मेगापिक्सेलको रियर क्यामेरा, क्वाड एलइडी लेन्स् फ्ल्यास लगायतका विशेषतारु रहेको जनाइएको छ । ३ जिबी रर्याम, ३२ जीवी रोम रहेको उक्त मोबाइल सेटको मूल्य रू. १८ हजार ५ सय कम्पनीले तोकेको छ ।

सामसङकाे ‘ग्यालेक्सी ट्याब ए ७.०’ नेपाली बजारमा, मूल्य १५ हजार ९०० रुपैयाँ

काठमाडौं । सामसङले नयाँ ‘ग्यालेक्सी ट्याब ए ७.०’ मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यस मोबाइलले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले “हामीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याव ए मासुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ” । यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै यापलाई नियन्त्रित गर्न सकिन्छ । साथै एपमा बिताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । १.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको र्याम तथा ८ जिबिको इन्टरनल मेमोरि ( माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ । नेपाली बजारमा यस मोबाइलको मूल्य १५ हजार ९०० रुपैयाँ तोकिएको छ । यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याक रहेका छन् । यस मोबाइल नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा यहि माघ २३ गते देखि उपलब्ध रहने कम्पनीले जनाएको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्स र नवकान्तिपुर बहुउद्देश्यीय सहकारीबीच बीमालेख बिक्री वितरण गर्ने सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच नवकान्तिपुरले संस्थागत अभिकर्ताको रुपमा आफ्ना सदस्यहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेख बिक्री वितरण गर्ने सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नवकान्तिपुरको तर्फबाट संस्थाका प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलाले हस्ताक्षर गरेका हुन् । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । यस कम्पनीको कुल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

फागुनमा पाथीभारा महोत्सव हुने, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काडमाडौं । नेपालको सबैभन्दा उचाइमा रहेको पाथिभारा मन्दिरमा महोत्सव आयोजना हुने भएको छ । १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित पाथिभारामा महोत्सव आयोजना गर्न लागिएको हो । पाथीभारा संरक्षण समितीले पत्रकार सम्मेलन गर्दै फागुन १ गते देखि ३ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, पाथीभारा म्याराथुन र विविध साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । यसैगरी आयोजक समितिले पाथिभाराको प्रचार प्रसार गर्नको लागी ५ हजार दुत बनाउने जनाएको छ । प्रमुख दुतमा नेकपा एमलेको सचिव योगेश भट्टराईलाई बनाएको छ ।    

धितोपत्र बोर्डले दियो २७ अर्ब ७६ करोडको सेयर निष्कासन अनुमति

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक सेयर निष्कासन ३०.४५ प्रतिशत बढेको छ ।  चालु आवको पुससम्म नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) थप निष्कासन (एफपीओ), हकप्रद सेयर र सामुहिक लगानी कोष (म्युचअल फण्ड) गरी ४६ संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँको निष्कासन गर्न अनुमति दिएको हो । यसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब ८६ करोड रुपैयाँ बराबरको आईपीओ, ३ वटालाई २ अर्ब ६७ करोड रकम बराबरको एफपीओ र ४ वटा योजनाको ४ अर्ब ७० करोड रकम बरावरको म्युचअल फण्डको इकाई र ३० कम्पनीको १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ । यस अवधिमा बोर्डले संगठित संस्थाकोे नाफाबाट भएको जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त सेयरको रुपमा विद्यमान शेयरधनीलाई प्रदान गरिने ३० वटा संगठित संस्थाको ७ अर्ब ८२ करोड रुपैयाँ बरावरको बोनस सेयर दर्ता गरेको छ । गत आवको सोही अवधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरिएको थियो ।बोर्डले चालु आव सुरु भएयता ६ महिनाको अवधिको निष्कासन अनुमति विवरण सार्वजनिक गरी जानकारी गराएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले ७ कार्य दिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा आवश्यकताअनुसार सुझाव दिने र सुझावअनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको ५ कार्य दिनभित्र निष्कासन अनुमति प्रदान गर्दै आएको छ । फास्ट ट्रयाकको रुपमा गरिएकोले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्कासनका लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको बोर्डले जनाएको छ । १७ कम्पनीले हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएकोमा ३ वटा संस्थालाई अनुमति दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । यस्तै ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भईरहेको छ । ११ वटा कम्पनीको “हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको बोर्डले जनाएको छ । आवेदन दिएका १५ संस्थाको आईपीओ निष्कासनको ३ अर्ब ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्कसनको रकम ११ अर्ब ७६ करोड रहेको बोर्डले जानकारी दिएको छ ।  

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रौतहटको बिजयपुरमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहट जिल्लाकोे फतुवा बिजयपुरमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शाखा प्रमुख रवि थापाले गरेका हुन् । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेश प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।