विकासन्युज

कैलाश विकास बैंक रुपन्देहीको भैरहवामा, थप तीन शाखा संचालन गर्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा आफ्नो ४३ औँ शाखा स्थापना गरी माघ २६ गते(आज)देखि कारोबारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले एक समारोहका बिच गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४३ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप तीन शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हालसम्म १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न, १५ अर्ब रूपैयाँ लागत

दार्चुला । सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । शैल्यशिखर नगरपालिका-१ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छभने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो । सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । आठ अर्ब ३४ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रूपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब रूपैयाँ गुमाउन पुगेको छ । प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए । रासस

उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत पुस २१ गतेदेखि २५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये १५ हजार १५ जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । उक्त सर्वसाधारणलाई गोलाप्रथाबाट १० कित्ताका दरले जम्मा एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ । कुल आवेदक मध्ये २ लाख ४४ हजार ४२७ जनाको आवेदन बाँडफाँड भएको थियो । त्यसमा २ हजार ४६७ आवेदन रद्द भएको छ भने दुई लाख २९ हजार ४१२ जनाको हात खाली भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । हाल यस संस्थाको चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । सो मात्राको आईपीओ पश्चात कम्पनीको पुँजी साँढे ५ करोड रुपैयाँ नाघ्ने छ ।

७ वटा जीवन बीमा कम्पनीको प्रीमियम १५ अर्ब, ४८ प्रतिशत हिस्सा नेपाल लाइफको(सूचीसहित)

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको प्रीमियम करिब १५ अर्ब पुगेको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९८ करोड ३६ लाख प्रीमियम संकलन गरेका हुन् । ती कम्पनीहरुले बीमा समितिमा बुझाएको प्रारम्भिक विवरण अनुसार ३७ लाख ४७ हजार ८ सय १७ जना बिमितहरुबाट सो प्रिमियम संकलन गरिएको हो । हालसम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मेटलाइफ, एसियन लाईफ, सुर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तको वित्तिय विवरण बीमा समितिलाई बुझाएका छन् । पुस मसान्त अवधीमा संकलित कुल प्रीमियममा ४८.२२ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै ओगटेको देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्त अवधीमा १० लाख ८० हजार २ सय ६६ बिमितबाट ७ अर्ब २२ करोड ५१ लाख रुपैंयाँ बराबरको प्रीमियम संकलन गरेको हो । त्यस्तै, नेशनल लाइफले २ अर्ब ६० करोड प्रीमियम संकलन गरेको छ भने प्राइम लाइफ, एसियन लाइफ र मेट लाइफले एक अर्ब भन्दा बढि प्रीमियम संकलन गर्न सफल भएका छन् । पुस मसान्त अवधीमा सबै भन्दा थोरै प्रीमियम गुराँस लाइफले संकलन गरेको छ । गुराँसले जम्मा ५९ करोड ८३ लाख प्रीमियम संकलन गरेको हो ।

नारायणगढ-मुग्लिन सडकको ७४ प्रतिशत काम सम्पन्न, अझै तीन महिना मिति थप्ने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिँदैछ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताए । ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । उनले भने, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ । दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताए। उनले भने, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ । हालसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । सडकलाई तीनखण्ड गरेर ठेक्का दिइएको छ । पहिलोखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ छ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त सडकखण्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ । खनालका अनुसार यही गतिमा काम भएमा सो खण्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खण्ड पनि चैतसम्ममा भित्तो काट्नु पर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उनले बताए । सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नु पर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ । घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो । उता तेस्रो सडकखण्डको भने चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताए । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । रासस

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि बिहीबारदेखिनै भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख ७० हजार स्टीक गुलाफ फेब्रुवरी १३ सम्ममा भारतबाट मुलुकमा भित्रिसक्ने व्यवसायीहरुले बताएका छन् । फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले भ्यालेन्टाइन डेको चहलपहल सुरु भइसकेको बताए । उनका अनुसार बिहीबारदेखि नै भारतबाट गुलाफको आयात हुन थालिसकेको छ । यो भ्यालेन्टाइन डेको लागि खुद्रा पुष्प व्यवासयीहरुबाट २ लाख २० हजार स्टीक गुलाफको माग भएको छ । ‘सो माग गएको वर्षभन्दा करिब १६ प्रतिशत बढी हो,’ उनले भने ‘गएको वर्षको भ्यालेन्टाइन डेमा १ लाख ९० हजार स्टीक गुलाफको कारोबार भएको थियो ।’ प्रत्येक वर्ष २०/३० हजार गुलाफको माग बढीरहेको उनको भनाइ छ । उनले अझै पनि भ्यालेन्टाइनको लागि माग अनुुसार स्वदेशमै गुलाफको उत्पादन हुन नसकेको बताए । ‘यो सिजनमा भ्यालेन्टाइन डेको लागि ५० हजार स्टीक गुलाफ मात्रै स्वदेशमा उत्पादन भएको छ,’ उनले भने ‘बाँकी गुलाफ भारतबाट आयात हुने गरेको छ ।’ पुष्पा व्यवसायीहरुका अनुसार यो भ्यालेन्टाइनमा प्रतिस्टीक गुलाफ ५० देखि ११० रुपैयाँसम्ममा उपलब्ध हुनेछ । हाल बजारमा १३/१४ किसिमका गुलाबहरु उपलब्ध छन् । जसमध्ये भ्यालेन्टाइनको समयमा ९० प्रतिशत रातो गुलाब खपत हुदै आएको छ । भ्यालेनटाइनबाहेकको अबधिमा पनि आन्तरिक उत्पादन भएको ५/७ हजार स्टीक गुलाफ बिक्री हुनेगरेको छ । एशोसिएशनको अनुसार भ्यालेन्टाइनबाहेकको सयमा गुलाबको बजार आन्तरिक उत्पादनलेनै धान्ने गरेको छ । यद्यपि भ्यालेन्टाइनको समय पुस, माघ र फागुनमा महिनामा भने जाडो मौसम भएको कारणले स्वदेशी उत्पादन घटेर १५ प्रतिशतमा मात्रै सिमित हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै पुष्प व्यवसायीहरुले आयातीत गुलाफलाई प्रतिस्थापन गर्न गुणस्तरीय गुलाफ फार्म, हाइटेक ग्रिनहाउस लगायतको विकास गर्नेक्रममा रहेको व्यवसायीहरुले जानकारी दिएका छन् । एशोसिएशनको अध्यक्ष श्रेष्ठले समग्र पुष्प व्यवसायमा गुलाफको व्यापारको हिस्सा ६/७ प्रतिशत हुने गरेको बताए । उनका अनुसार मुलुकको पुष्प व्यवसायको आकार १ अर्ब ७१ करोड रुपैयाँकोे छ । ‘जसमा यो भ्यालेन्टाइनको अबधिमा मात्रै करिब २ करोड रुपैयाँको गुलाफको कारोबार हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

नेपाल इन्टरमोडेल यातायातमा २३ जनालाई सरकारी जागीर खाने अवसर

काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त फारम खोलेको हो । यातायातले प्रशाासन तर्फ ११ जना, प्रविधिक तर्फ ८ जना र विविधमा ४ जनाको लागि विज्ञापन खुलाएको छ । दरखास्त दिन इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित फागुन २६ सम्म अनलाइन फारम भर्न सक्नेछन् । यातायतले जारी गरेको सूचना अनुसार फारम भर्नको लागि दिनको ११ बजे देखि ३ बजेसम्म पाइनेछ । यातायातले तह १० को लागि १५ सय ५०, तह ९ को लागि १२ सय ५०, तह ८ को लागि १०५०, तह ७ को लागि ९ सय ५०, तह ५ को लागि ६ सय २५, तह र ४ को लागि ५ सय २५ रुपैंया परिक्षा शुल्क तोकेको छ । इन्टरमोडेल यातायातले हाल नेपालको विभिन्न स्थानमा सुख्खा बन्दारगाह निर्माण गर्दै आएको छ । यसैगरी चोभारमा १०५४ रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निमार्ण गरिरहेको छ ।

सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने, हाइड्रो पावर र माइक्रोफाइनान्सबाट धेरैले हात धुनुपर्ने

काठमाडौं । अब सूचिकृत कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धी निर्देशिका मार्फत सूचिकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको हो । यो व्यवस्था आगामी साउन १ गतेदेखि कुनै पनि सूचिकृत कम्पनीमा कार्यकारी अध्यक्ष बन्न नपाउने व्यवस्था लागु गर्न लागेको हो । हाल कार्यकारी अध्यक्षले सञ्चालन गरिरहेका कम्पनीहरुले असार मसान्तसम्ममा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फरक फरक व्यक्ति बनाईसक्नुपर्नेछ । हाल अधिकांश हाइड्रो पावर कम्पनी र माईक्रोफाइनान्स कम्पनीहरुमा एउटै व्यक्ति अध्यक्ष र प्रमुख कार्यकारीको जिम्मेवारीमा छन् । साउन १ गतेदेखि भने त्यस्ता कम्पनीहरुले अनिवार्यरुपमा अध्यक्ष र कार्यकारी प्रमुख अलग अगल व्यक्तिलाई तोक्नुपर्नेछ । धितोपत्र बोर्डले एकाघर भित्रका सदस्यहरु एक भन्दा बढिलाई एउटै कम्पनीमा एक जना भन्दा बढि सञ्चालक बनेमा बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरेको छ । त्यस्तै कुनै पनि सूचिकृत कम्पनीमा सञ्चालकको नियुक्त साधारण सभाले मात्रै गर्न पाउने व्यवस्था समेत निर्देशिकामा गरिएको छ । अब सञ्चालकहरुको भत्ता तथा अन्य सुविधा समेत साधारण सभाले पारित गरेपछि मात्रै लागु हुनेछ । बिशेष गरि गुरु न्यौपानेको परिवार जोडिएक हाइड्रो पावर कम्पनीमा कार्यकारी अध्यक्षको अभ्यास रहेको छ । त्यस्तै अधिकांश माइक्रोफाइनान्स कम्पनीमा समेत त्यस्तै व्यवस्था रहेको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले नै माइक्रोफाइनान्स कम्पनीहरुमा कार्यकारी अध्यक्षको व्यवस्था रहन सक्ने सुबिधा दिएको थियो ।