विकासन्युज

इरानले उत्पादन बढाउने भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्यो, नेपालमा के होला ?

काठमाडौं । इरानले पेट्रोलियम पदार्थ उत्पादन बढाउने भएपछि यसको मूल्यमा गिरावट आएको छ । इरानले उत्पादन बढाउने सार्वजनिक रुपमा घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर प्रतिव्यारेल ६५ अमेरिकी डलरमा झरेको छ । यो महिनामा मात्र पेट्रोलियमको मूल्यमा दुई पटक गिरावट आई रेकर्ड कायम गरेको भारतको फाइनान्सियल एक्सप्रेसको अनलाईन संस्करणमा उल्लेख छ । भारतमा पेट्रोल र डिजेलको मूल्य क्रमश २ पैसा र ४ पैसा भारु घटेको छ । भारतको पेट्रोलियम वेभसाइटका अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७३.३५, कोलकतामा ७६, मुम्बइमा ८१.२१, चेन्नइमा ७६ भारुमा झरेको छ । यस्तै डिजेलको दिल्लीमा ६४.११, कोलकतामा ६६.७८, मुम्बईमा ६८.२७ र चेन्नइमा ६७.६२ भारु रहेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । रसियाले कच्चा तेल उत्पादन घटाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ बढेर ७० डलर पुगेको थियो । इरानले उत्पादन बढाउने घोषणा गरेपछि मूल्य घटेको हो । यसैबीचमा अमेरिकामा पनि पेट्रोलियम उत्पादन बढ्नु पनि भाउ घट्नुको अर्को प्रमुख कारण भएको एक्सप्रेसले जानकारी दिएको छ । गत अक्टुवरदेखि अन्तराष्ट्रिय बजारमा भाउ बढ्न थालेको हो । गत अक्टुवरदेखि फेब्रुअरीसम्म अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ व्यारेलको १३ डलरसम्म बढेको थियो । नेपालमा पेट्रोलको मुल्य लिटरको १०४ र डिजेलको ८३ रुपैयाँ छ ।

आगामी मंसिरमा दोश्रो दाता सम्मेलन, ४१० अर्बमध्ये कति आयो पैसा ?

काठमाडौं । सरकारले भूकम्पपछिको पुननिर्माणका लागि दोश्रो दाता सम्मेलनको तयारी गरेको छ । शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दोश्रो दाता सम्मेलनको आवश्यकतालाई औपचारिक रुपमा उठाएका छन् । त्यस अघि प्राधिकरणका सिइओ युवराज भुषालले नियुक्त लिएको भोली पल्टै अर्थात कात्तिक ८ गते नै दोश्रो दाता सम्मेलनको आवश्यकता औल्याएका थिए । ‘मैले नियुक्त लिएको भोलीपल्टै दोश्रो दाता सम्मेलनको आवश्यकता बारे कुरा उठाएको थिएँ, योजना आयोगका उपाध्यक्षले निर्देशक समितिमा यो बिषयलाई औपचारिक रुपमा उठाउनु भएको छ’, प्राधिकरणका सिइओ भुषालले विकासन्युजसँग भने । उनले आगामी कात्तिक।मंसिरमा दोश्रो दाता सम्मेलन गर्नेबारे प्रारम्भिक छलफल भएको समेत बताए ।‘भूकम्पपछिको पुननिर्माण र तराईको डुबान समस्या समाधानका लागि हामीले गरेको कार्य प्रगति देखाएर फेरी सहयोगका लागि आग्रह गर्न दोश्रो दाता सम्मेलनको आवश्यकता छ, त्यसका लागि २०७५ मंसिर उपयुक्त हुन सक्छ’, सिइओ भुषालले भने । यसअघि गरिएको दाता सम्मेलनमा ४ खर्ब १० अर्बको सहयोग प्रतिवद्धता आएको थियो । सोमध्ये एक खर्ब ९६ अर्ब बजेटरी सहयोग थियो भने बाँकी दाताहरुले आफैं खर्च गर्ने योजनाका रकम थिए । सो एक खर्ब ९६ अर्बमध्ये पनि ३४ अर्ब मात्रै प्राप्त भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार सम्पन्न उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता मार्फत बैंकले गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो । साथै, यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यस इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

लहानमा यामाहाले खोल्यो थ्रिएस शोरुम, एक्सचेन्जसहित फाइनान्सको पनि सुविधा दिइने

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचनाबाट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रिएस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरेको कम्पनीले बताएको छ । नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१७ का निकिता चन्दले गरेकी बताइएको छ । एसएस अटो सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल तथा स्कुटरहरुको ‘थ्रिएस’सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा दिने जनाइएको छ । ‘यामाहा मोटरसाइकलको माग निरन्तर बढिरहेको छ,’ एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव शाहले भने ‘शोरुमबाट हाईटेक वर्कसप, तालिमद्वरा मोटरसाइकलको गुणस्तरीय सर्भिसीङ दिनेछौं ।’  बजारमा हाल यामाहाको विभिन्न किसिमको मोटरसाइक तथा स्कुटरहरु छन् । मोटरसाइकलमा एफजेड-एस एफआई, आर १५, एसजीआरआर र स्कुटरमा फेसिनो, रेजेडआर, रेजी लगायत बजारमा उपलब्ध छन् ।

बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू, विकास निर्माणका लागि डोजर र ट्रिपर पनि

काठमाडौं । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ शुक्रबारदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्म चल्ने छ । भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सवडिलर र बिक्रेताले निर्माण व्यवसाय तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने छन् । यहाँ विकास निर्माणका लागि आवश्यक डोजर, ट्रिपरलगायत राखिएको छ । त्यसैगरी, प्रदर्शनीमा घर बनाउन आवश्यक निर्माण तथा काठ क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, बिल्डर्स तथा इन्टिरियर डिजाइनरको समेत सहभागिता रहेको छ । प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले प्रदर्शनीले नेपालको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । भारतलगायत अन्य मुलुकको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारतले सधैँभरि नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास चाहेको बताएका छन् । रासस

एनआईसी एशिया बैंकको २ नयाँ शाखा बझाङ र धादिङ्गमा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा विस्तार भएको छ । शुक्रबार जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको उद्घाटन गरेका हुन् । उक्त नयाँ विस्तारित शाखा सहित यस बैंकले १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

६ कम्पनीको एक करोड ९७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको करिब दुर्इ करोड कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा उक्त कम्पनीको बोनस, हकप्रद र एफपीओ गरी एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर सेयर सूचिकृत भएका छन् । कुल सूचिकृत सेयर मध्ये एक करोड १३ लाख एक हजार ४२२ कित्ता बोनस सेयर, २३ लाख कित्ता हकप्रद र ६१ लाख ५८ हजार ०६७ कित्ता एफपीओ सूचिकृत भएको छ । साताभर ४ कम्पनीको बोनस, १ को हकप्रद र बाँकी एकको एफपीओ नेप्सेमा थपिएका छन् । सेयर सूचिकृत  हुने ६ कम्पनी, कसको कति  ?

हप्तादिनमै रजिष्ट्रारको कार्यालयले बनायो दुई नियम, कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्ने–होमेगाँई

काठमाडौं। हप्तादिनको अन्तरमा कम्पनी रजिष्ट्रारको कार्यालयले दुई ओटा नियम बनाएको छ । कार्यालयले आफ्नो कार्य तथा दिदै आएको सेवा सुबिधालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ती नियमहरु बनाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी होमेगाँईले कम्पनीको कामकाजलाई सहज र सुरक्षित बनाउन हप्दानिको अन्तरालमा कानुन अनुसार दुई ओटा नियम लागु गरेको बताइन् । उनका अनुसार कार्यालयमा पेश गर्ने कागजात नेपाली भाषमा अनुवाद गरी पेश गर्नु पर्ने र कम्पनी सचिव र अख्तियारवलाहरुले अनिवार्य परिचयपत्र ल्याउन पर्ने नियम राखिएको छ । उनका अनुसार यसअघि कम्पनीहरुले मनपरी ढङ्गले विभिन्न भाषामा कागजातहरु ल्याउने गरेका थिए । ‘विशेषगरी अङ्ग्रजी लगायतका आफुलाई पायक पर्ने चाइनिज भाषामा कागजातहरु ल्याउथे,’ उनले भनिन् ‘त्यसलाई नियन्त्रण गर्न कार्यालयमा पेश गर्ने आवश्यक काजजात अनिवार्य नेपालीमा हुन पर्ने नियम बनाएका हौं ।’ कम्पनीले माघ १४ गतेदेखि सो नियमलाई लागु गरिसकेको बताएको छ । कम्पनीहरुले कार्यालयमा कम्पनीको साधारण सभाको निर्णय पुस्तिका वा निर्णय उतार, सञ्चालन समितिको निर्णय, शेयर लागत, शेयर खरिद बिक्री सम्बन्धी कागजात लगायत नियमित कागजातरु अनिवार्य रुपमा नेपाली भाषामा पेश गर्नु पर्ने हुन्छ । त्यस्तै विभिन्न कम्पनीहरुबाट कार्यालयको लागि कामको सिलसिलामा आएका कम्पनी सचिव तथा आधिकारिक अख्तियारवालाहरुले अनिवार्य कम्पनीबाट जारी भएको आधिकारीक परिचयपत्र लगाउन पर्ने अर्को नियम रहेको रजिष्ट्रार कार्यालयका प्रमुख होमेगाँईले बताइन् । उनका अनुसार कम्पनीमा अनावश्यक मानिसहरु आउन सक्ने, कागजात तथा फाइलहरु हराउन सक्ने लगायत जोखिमलाई मध्यनजर गर्दै कम्पनी सचिव तथा अख्तियारवलाले आधिकारीक परिचयपत्र लागाउन पर्ने नियम राखिएको हो । जसबाट कार्यालयमा रहेको फाइलको सुरक्षा हुने, भिडभाड घट्ने लगायत कार्र्यमा सहयोग मिल्ने उनको बुझाइ छ । केही दिन अघिदेखि मात्रै उक्त नियम राजिस्ट्रारको कार्यालयमा लागु गरिएको हो ।