विकासन्युज

सन नेपाल लाइफको ६० करोडको आईपीओ पारित, अध्यक्षमा अनुज क्याल निर्वाचित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित पारित भएको छ । संचालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न कम्पनीको प्रथम बार्षिक सााधारण सभाले पारित गरेको हो । सभाले पारित गरे बमोझिम इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँका दरले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । साथै, कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट ४ जनाः अनुज क्याल, नारायण रुंगटा, किरण के.सी., सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै, संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरेको छ । सो अवधिसम्म कम्पनीले १० करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरी ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  

भारतले नेपालका लागि पेट्रोलियमको भाउ घटाउदा आयल निगमले घटाएन किन ?

काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ घटाएको सूची पठाए पनि नेपाल आयल निगम लिमिटेड (एनओसी) ले मूल्य नघटाउने भएको छ । आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सुचि नेपाल आयल निगमलाई पठाउने गरेको छ । यो पटक आईओसीले पेट्रोलियमको भाउ घटेको मूल्य सुचि पठाए पनि एनओसीले नघटाउने भएको हो । भारतमा बढ्दा नेपालमा पनि बढ्ने र त्यहाँ घट्दा यहाँ पनि घट्ने स्वचालित मूल्य प्रणाली विपरित निगमले मूल्य समायोजन नगर्ने भएको हो । निगमले करोडौ रुपैयाँ अझै संचित नोक्सान भएको जिकिर गर्दै मूल्य नघटाउने बताएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेको निगमले भारतबाट भाउ बढेको मूल्य सूचि आउने वित्तिकै यहाँ पनि मूल्य बढाउने गरेको छ । अन्तराष्ट्रिय बजारमा निरन्तर भाउमा कमी आएपछि भारतमा पनि पेट्रोलियमको मूल्य घटेको छ । १० दिनदेखि भारतमा लगातार पेट्रोलियम पदार्थको भाउमा गिरावट आइरहेको फाइनान्सियल एक्सप्रेसले अनलाईन संस्करणमा उल्लेख गरेको छ । शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य घटेर प्रतिव्यारेल ६४.३३ डलरमा झरेको छ । अघिल्लो महिना प्रतिव्यारेल ७१ डलर थियो । भारतमा पेट्रेलमा ८९ पैसा र डिजेलमा १ रुपैयाँ भारु भाउ घटेको छ । पेट्रोलियम पदार्थमा केही महिनादेखि निगम घाटामा गएको भन्दै मूल्य यथावत राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए । भारतबाट केही मात्रामा पेट्रोल र डिजेलको मूल्य घटेर आएको गोइतले स्वीकारे । केही महिनादेखिको घाटा अझैसम्म कायम रहेकोले निगमले मूल्य नघटाएको उनको तर्क छ । उनले गएको १५ दिनको अबधिमा निगमलाई १४ करोड ९२ लाख रुपैयाँ घाटा भएकोमा अहिले पेट्रोल र डिजेलको मूल्य घटेर आएकोले आगामी १५ दिनको अबधिमा ७ करोड १५ लाख रुपैयाँ मात्रै घटा हुने बताए । ‘गएको पाक्षिकको तुलनामा आगमी पक्षिकमा पेट्रोलियम पदार्थबाट हुने घाटा घट्नेछ,’ उनले भने । गोइतकाअनुसार गएको पाक्षिकमा प्रतिलिटर डिजलबाट निगमलाई ३ रुपैयाँ ७३ पैसा घाटा भएकोमा अब १ रुपैयाँ ७६ पैसामा झरेको छ । यस्तै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८६ पैसा नाफा छ । जबकी गएको पाक्षिक उक्त पेट्रोलमा २ रुपैयाँ १ पैसा मात्रै नाफा थियो । मट्टीतेलमा प्रतिलिटर १५.७९ पैसा नाफा रहेको प्रवक्ता गोईतले जानकारी दिएका छन् । तर एलपीजी ग्याँसमा प्रतिसिलिण्डर अहिले निगमलाई २०२ रुपैयाँ २५ पैसा घाटा भइरहेको उनले बताए । अहिलेसम्म भारतबाट पेट्रोल र डिजेलको मूल्य मात्रै पठाएकोले एलपीजी ग्याँस लगायको पेट्रोलियम पदार्थको मूल्य भने थपघट हुन सक्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा भने इरानमा पेट्रोलियम पदार्थको उत्पादन बढाउने भएपछि पेट्रोलियम पदार्थको मूल्य गिरावट आइरहेको छ । जसको प्रत्यक्ष प्रभाव भारतको पेट्रोलियम पदार्थको मूल्य घट्नेक्रम जारी रहेको देखिएको छ ।

आइएमई जनरल इन्स्योरेन्स अब सुर्खेतमा पनि, थप १२ शाखा खोल्ने तयारी

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप १ शाखा कार्यालय सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराएका छन् । साथै, उनले स्थानिय उद्योगी व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यवसाय तथा सम्पत्तिको बीमा गराएर बीमा सेवा लिन आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न आग्रह गरेका छन् । आज उद्घाटन भएको शाखा सहित कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान कम्पनीले जनाएको छ ।  

नेपालको पहिलो खेल जिम्बावेसँग, प्रतियोगितामा नेपाल समूह ‘बी’ मा

काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन् । सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् । समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् । रासस

३९ कम्पनीको करिब १० अर्बको बोनस सेयर सूचिकृत, कसले दियो सबैभन्दा बढीे ?

काठमाडौं । चालू आर्थिक बर्ष शुरु भएयता धितोपत्र बजारमा बोनसबाट मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको सेयर थपिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ६ महिनाको अवधिमा करिब १० करोड ७६ लाख कित्ता बराबरको बोनस सेयर सूचिकृत भएको हो । बोर्डका अनुसार ०७४ साउन एक गतेदेखि ०७४ माघ १९ गतेसम्ममा ३९ कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । उक्त ६ महिनाको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटल र अन्य गरी कुल ९ अर्ब ९८ करोड ७५ लाख ९० हजार ३५० रुपैयाँ बराबरको बोनस सूचिकृत भएको हो । सो मध्ये राष्ट्रिय बीमा संस्थानले सबैभन्दा बढी बोनस सेयर दिएको छ । यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ११४.२७ प्रतिशत बोनस वितरण गरेको हो । त्यस्तै, सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी र बरुण हाइड्रोपावरले ५/५ प्रतिशत बोनस सेयर वितरण गरेका छन् । बोनस सूचिकृत गर्ने मध्ये अन्य बाँकी ३६ कम्पनीको विवरण हेर्नलाई यसमा क्लिक गर्नुहोस् । नेपाल राष्ट्र बैंकले पूँजीवृद्धि योजना सार्वजनिक गरेपश्चात नेप्सेमा सूचिकृत कम्पनीहरुले बोनस सेयर वितरणलाई प्राथमिकता दिँदै आएका हुन् ।

ढुकुटीको साँचो कुर्दै एमालेका चार भाई, कस्लाई रोज्लान् ओलीले ?

काठमाडौं । स्थिर सरकारको उपमा दिईएको ओली सरकारको अर्थमन्त्री को होला ? यतिबेला ठूलै चर्चाको बिषय बनेको छ । अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री बन्छन् वा ओलीले आफु निकटका नेता रोज्छन् ? यो पनि अर्काे प्रश्नका रुपमा खडा भएको छ । एमालेका चार जना हस्तीहरु यतिबेला मुलुकको ढुकुटीको साँचो हात पार्ने दाउमा छन् । ती हुन एमाले महासचिव ईश्वर पोखरेल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र बिष्णु पौडेल तथा एमाले सचिव प्रदिप ज्ञवाली । एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक सन्तुलन र अर्थतन्त्रको दिगो विकासका लागि पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई रोज्ने सम्भावना रहेको छ । माधव नेपाल प्रधानमन्त्री हुँदा पाण्डेले सफलरुपमा अर्थमन्त्रालय चलाएका थिए । उनी माधव नेपाल समुहका हुन र पछिल्लो समय ओली–नेपाल सम्बन्ध सुधारको बाटोमा अघि बढेकाले पाण्डेको सम्भावनालाई नकार्न सकिन्न । त्यसो त एमाले महासचिव ईश्वर पोखरेल पनि लामो समयदेखि मन्त्री नबनेका शक्तिशाली नेता हुन् । ओलीले उनलाई अर्थमन्त्री बनाउन सक्ने सम्भवना पनि छ । ओलीले अघिल्लो प्रधानमन्त्री कार्यकालमा अर्थमन्त्री बनाएका एमाले उप महासचिव विष्णु पौडेललाई रोज्न सक्ने सम्भावना पनि छ । तर पौडेल यसपाली पार्टी काममा सक्रिय बन्ने तर्फ लाग्न सक्ने आंकलन पनि गरिएको छ । पछिल्लो समय एमाले वृतमा सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्रीको प्रबल दावेदार मानिँदै आएको छ । ओलीका विश्वास पात्र भित्रै पर्ने ज्ञवालीलाई ओलीले बिहिबार नै मन्त्री बनाउने तयारी गरेर अन्तिम समयमा निर्णय बदलेका थिए । ‘चार जना नेताको सम्भावना छ, अध्यक्षले कसलाई रोज्नु हुन्छ, हेर्न बाँकी छ’, एमाले उच्च श्रोतले ।

कुकुर खोज्दै भक्तपुरका मेयर

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता छोडेर मेयर सुनिल प्रजापति शुक्रबार बिहान ६ बजे नै भक्तपुर दरवार स्क्वायरमा भेटिए । प्रतियोगिता सम्पन्न गर्न आयोजक भक्तपुर नगरापालिकाका मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समितिका संयोजक प्रजापति त्यहाँं पुजाआजा गर्दै गर्दा भेटिएका भने होइनन्, बरु कुकुरहरु खोज्न व्यस्त रहेको देखिएका थिए । त्यसैका लागि उनी केही वडा अध्यक्षहरु राजकृष्ण गोरा, उकेश कवां, हरिराम सुवाल लगायतकाहरु सहित दर्जनौ मानिसहरुको नेतृत्व गर्दै थिए । उनले भने, ‘आज यहाँं भएभरका कुकुरहरुलाई पक्रनुपर्छ ।’ यसैका लागि कोही कुकुरलाई बिस्कुट दिएर फकाउँंदै थिए त कोही के खानेकुरा दिएर । कोही भने बोरा लिएर कुकुरलाई भित्र हालेर पक्रने अभियानमा देखिए । भक्तपुर नगरपालिकाद्धारा शुक्रबारदेखि सुरु गरिएको छाडा कुकुर बन्ध्याकरण र रेविजविरद्ध खोप अभियानमा मेयर खटिएका हुन् । कुकुरलाई बन्ध्याकरण र रेविजविरुद्ध खोप नगर्नाले कुकुरहरुवीच झगडा हुने, ठूलो समूह देखिने, छाउराछाउरीको संख्या बढ्ने मात्रै नभई कुकुरमा ट्युमर देखिने भएकाले बन्ध्याकरण र रेविजविरुद्ध खोप लगाउने अभियान थालिएको मेयर प्रजापतिले जनाए । त्यस क्रममा केही कुकुरहरुलाई त्यही पक्रेर सुई लगाइदिएको थियो । केहीलाई भने गाडीमा राखेर सुई लगाउन लगिएको थियो । सामान्यलाई त्यही र अलि फुर्तिलोलाई पक्रेर क्लिनिकमा लगेर सुई लगाउन लगिएको मेयर प्रजापतिले जनाए । घाँंटीमा सुन्तला रंगको पेटी लगाएको र दायाँं कानको टुप्पो अलि काटिएको कुकुर बन्ध्याकरण गरिएको र रेविजविरुद्ध खोप दिइसकिएको चिनिने जनाइएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा पाँंच सदस्यीय कार्यक्रम सञ्चालन समिति गठन गरिएको थियो । समितिमा पशु शाखाका उमेशलाल प्रधान, सुरेश कवां, भक्तपुर नगरपालिकाका दीलिपकुमार सुवाल सदस्य रहेका छन् । नगरपालिकाले नगरका टोलटोलमा पुगेर अभियान सञ्चालन गर्ने भएकाले टोलबासीहरुसँंग सहयोगका लागि अपिल गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको काम ७४ प्रतिशत मात्रै, ठेकेदारले मागे थप ३ वर्ष समय

चितवन । नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न ठेकेदारले थप ३ वर्षको समय माग गरेको छ । दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि नसक्किए पछि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको हो । तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेकाअनुसार तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम–रौताहा जेभीले १२ दशमलव १ किलोमिटर सडक विस्तार गर्न थप समय माग गरेको हो । सो कम्पनीले यसअघि नै १० महिना थप समय पाइसकेको छ । कम्पनीले भूकम्पका कारण काम हुन नसकेको भन्दै आठ दिन, मौसम खराब भएकाले १९६ दिन, तराई बन्दका कारण ४४ दिन, इन्धन अभावका कारण ४९ दिन, पहिरोले सडक अवरोध गरेका कारण ६० दिन, पूरा दिन काम गर्न नपाएको भन्दै ४३८ दिन, सडकमा सवारी जामका कारण १७ दिन, निर्वाचनका कारण ३० दिनर चाडपर्वका कारण ४९ दिन समय माग गरेको छ । त्यसैगरी पुलका कारण १० दिन, माघे संक्रान्तिको तीन दिन, बिजुलीको पोल समयमा नहटेका कारण ७७ दिन, जलबिरेमा सडक साँघुरो भएको भन्दै १९ दिन तथा काम थपिएको भन्दै १०९ दिन माग गरिएको घिमिरेले बताए । यसैगरी दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल–लामा जेभीले १० दशमलव ७ किलोमिटर सडक निर्माण गर्न ३३६ दिन थप समय माग गरेको छ  । जेभीले १० दशमलव ४ किलोमिटर सडक विस्तार गर्न थप ६८४ दिन समय माग गरेको छ । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले एक हजार ४९ दिन समय माग गर्ने तेस्रो खण्डलाई ९९ दिन, ३३६ दिन मागेको दोस्रो खण्डलाई ८९ दिन र ६८४ दिन थप समय मागेको पहिलो खण्डलाई ८५ दिन उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले समय थपको सिफारिस विभागमा पठाइएको बताए । उपयुक्त कारण रहेका र काम गर्न नसकिएको समयलाई मात्रै समय थपको सिफारिस गरिएको उहाँले बताउनुभयो । हालसम्म विभागले समय थपको निर्णय गरिसकेको छैन । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न लागिएको छ ।-रासस