मध्य मर्स्याङदीको मर्मत तीब्र गतिमा, फागुन १७ गतेसम्म सक्न निर्देशन
काठमाडौं । लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्य मर्स्याङदी जलविद्युत केन्द्रको बाँधको देब्रेतिर र विद्युत गृहको मर्मत तीब्र रुपमा भइरहेको छ । बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारबाट सुरु भएको हो । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ । काम २४ सै घण्टा भइरहेको छ । मर्मत भइरहेकाले १० फागुन विहीबार राती ११ बजेबाट केन्द्रबाट विद्युत उत्पादन बन्द छ । केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११ बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र (एलडिसी)बाट सट डाउन पाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट विद्युत उत्पादन हुने मध्यमस्र्याङदी बन्द हुँदासमेत आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताए । ‘वैकल्पिक व्यवस्थाकोरुपमा कुलेखानी चलाएर विद्युत आपूर्ति गरिरहेका छौं, मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत व्यवस्थापनका लागि चाप पर्छ’, उनले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिंदै भने, ‘एक दिन अघि सकिदिनु भयो भने धेरै काम गर्छ यसको ठूलो भूमिका रहन्छ, त्यसैले काम छिट्टो गर्नुहोस्, तोकिएकै समयमा काम सक्नुहोस् ।’ उनले मध्यमस्र्याङदी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआए र विद्युत आपूर्ति अवरुद्ध नभएको जानकारी दिएका छन् । विद्युत गृहमा रहेको एउटा युनिटको बृहत मर्मत पनि ६ फागुनबाट भइरहेको छ । विद्युत गृहमा ३५/३५ मेगावाटका दुई युनिट छन् । केन्द्र प्रमुख पशुपतिराज गौतमकाअनुसार, २३ फागुनभित्रमा दुवै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अहिले सबै काम तय गरिएको तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने बताए । युनिटको मर्मतका लागि दैनिक ५० कर्मचारी खटिएका छन् । केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ । गौतमले बाालुवाको बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिएका छन् । केही रकम जिल्ला समन्वय समिति र नगरपालिकालेसमेत पाउने छन् । यसबाट केन्द्रलाई एकातर्फ आम्दानी पनि भएको छ भने अर्कोतर्फ जलाशयको भण्डार क्षमतामा समेत बृद्धि हुने देखिएको छ । गौतमले भने, ‘बालुवा निकालिएपछि जलाशयको भण्डार क्षमता बढ्छ, जसले गर्दा विद्युत उत्पादनमा बृद्धि हुन्छ ।’ बाँधको संरचनालाई असर नपर्ने र सुरक्षा व्यवस्था आफैं गर्ने गरी केन्द्रले बढी रकम कबोल गर्ने कम्पनीलाई बालुवा निकाल्ने जिम्मा दिएको हो ।
सिरियामा युद्धविरामका लागि प्रस्ताव, अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का
सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपील गर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौँ नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको समाचारमा जनाइएको छ । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ । यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा शङ्का रहेको बताउँछन् । उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ । त्यसैगरी रुसी राजदूतले पनि सुरक्षा परिषदको प्रस्तावमा हुन लागेको भनिएको सो युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो । यसमा परी कैयौँ व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन । रासस/एएफपी
एनसीसी बैंकको संस्थापक सेयर सस्तोमा लिन संचय कोषको मोलमोलार्इ, प्रतिकित्ता १५४ प्रस्ताव
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि कर्मचारी संचय कोषले मोलमोलाइ (बार्गिनिङ) गर्न थालेको छ । संचय कोषले एनसीसीको बुक भ्यालु प्रतिकित्ता १५४ रुपैयाँमा सेयर किन्ने प्रस्ताव गरेको छ । यो बुकभ्यालु गत असारसम्मको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको बुकभ्यालु बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । बैंकले नाफा ४ सय प्रतिशत बढाएपछि बुकभ्यालु बढेको हो । बैंकबाट लिएको ऋण तिर्नका लागि एनबी समूहले संस्थापक सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँ न्युनतम मूल्य राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको थियो । प्रतिकित्ता २१० रुपैयाँमा ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । संचय कोषले प्रस्ताव गरेको दरमा एनबी समूहको कर्जा तिर्नलाई रकम पुग्दैन् । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको नाममा लिएको ऋणको सावाँ र ब्याज गरी ९० करोड रुपैयाँ र अन्य बैंकको ६० करोड रुपैयाँ कर्जा रहेको छ । नागरिक लगानी कोषले बैंकको संस्थापक सेयर खरिदका लागि कुरा गरेकोमा संचय कोषले अझ घट्ने भन्दै उसलाई किन्नलाई रोकेको छ । संचय कोषले अहिले बार्गिनिङ गरेर बुकभ्यालुमै एनसीसीको संस्थापक सेयर हत्याउन लागेको हो । यसअघि संचय कोषले १५८ रुपैयाँ बुकभ्यालु भएको बैंक अफ काठमाण्डु लिमिटेडको ६२ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५१ रुपैयाँमा खरिद गरेको थियो । तर कोषले अहिले बुकभ्यालुमा सेयर दिन माग गरिरहेको छ । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।एनसीसीको ५० प्रतिशत हकप्रद सेयर आउन बाँकी छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । हालसम्म व्यक्ति तथा संस्था कसैको पनि आवेदन नपरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । संचय कोष, लगानी कोष र एक बैंककरले खरिदका लागि चासो देखाएको उनले बताए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । एनबी समूहले सेयर बिक्री गरेर कर्जा तिर्ने भएपछि चालु आवमा एनसीसीको नाफा बढ्नुका साथै खराब कर्जा पनि घट्ने छ । सबैभन्दा ठुलो कर्जा असुली भएपछि बैंकको नाफा बढ्ने देखिएको हो । यस्तै एनसीसीको नाफा ४०० प्रतिशतले बढेको छ । २०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।
कैलाश विकास बैंकको सिल्भर जुब्ली बचत योजना अन्तर्गत ३ महिने मुद्दतीमा १२% ब्याज
काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी ‘कैलाश सिल्भर जुब्ली बचत’ योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले २५औँ वर्षमा प्रवेश गरेको रजतवर्षको अवसरमा यो योजना प्रस्तुत गरेको हाे । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले २६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । ४३ वटा शाखाबाट आप्नो वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले यही फाल्गुन मसान्तसम्ममा विराटनगरमा र यही आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ ।
लक्ष्मी बैंकको शाखा सुनसरीको भोक्राहामा, चौकी निर्माणका लागि ५ लाखको सहयोग
काठमाडौं । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको छ । उक्त अवसरमा बैंकले सोही स्थानको प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई ५ लाख रुपैयाँको चेक प्रदान गरेका छन् । गाउँपालिका प्रमुख महेन्द्रकुमार यादवले आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् ।
राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हालको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
मेची-महाकाली जोड्ने चौथो विकल्प: १२ सय किलोमिटरको चुरे राजमार्ग
काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग बन्ने भएको छ । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची-महाकली जोड्ने चौथो विकल्पका चुरे राजमार्ग निर्माण गर्न लागेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरे राजमार्गबाट मेची महाकालीलाई जोडेर नयाँ लाइफलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागेका छौं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान चतरा गाइघाट सिन्धुली हेटौँडा सडकलाई नै चुरे राजमार्गका रुपमा विकास गर्न लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । मेची महाकाली जोड्ने १२ सय किलोमिटरको चुरे राजमार्गको काम अघि बढेको छ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।
उपमहानगरले उठायो ५ करोड ७१ लाख राजश्व
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको हो । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ । गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ । नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ । उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ । गत वर्ष रु १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आवमा उपमहानगरपालिकाको रु १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए ।-रासस