विकासन्युज

दिल्लीबाटै रक्सौल–वीरगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यास, ३ वर्षमा सकिने

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ । हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ ।   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम शुरु हो । पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चरले पाएको छ । यस्तै अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोको चार वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ । कूल ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ । इण्डियन आयल कर्पोरेशनको लगानीमा सञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगञ्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै रहेको छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब सात किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६ किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु ५ करोड लागत रहेको छ । परियोजनामा नेपालतर्फ राखिने ३१ किमीभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रङको स्टिलको पाइप प्रयोग गरिएको छ । उक्त पाइप भारत महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको हो । पाइपलाइन निर्माण भएपछि वीरगञ्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगञ्ज–पथलैया–अमलेखगञ्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ । तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेटोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षपहिले उक्त पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए । नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइनको निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ । शिलान्यास समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय समकक्षी धमेन्द्र प्रधानको समेत उपस्थिति थियो । यस्तै नेपाली प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यसमेत सो अवसरमा उपस्थित थिए । सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा निर्माणसमेत ढिलो हुन पुगेको थियो । पाइपलाइन आयोजना निर्माण शुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइप लगायतका निर्माण सामग्री राख्नका लागि आयल निगमले वीरगञ्जमा बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । निगमले हाल भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टीतेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत अमलेखगञ्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नाका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ । पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य छ । पाइपलाइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ । रासस

बंगालबाट सिधै पानी जाहाज आउने, नेपाल अब भुपरिवेष्ठित मुलुक रहेन : प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं । बंगालको खाडीबाट नेपालमा सिधै पानी जाहाज सञ्चालन हुने भएको छ । बंगालबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच शनिबार नयाँदिल्ली सम्झौता भएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपाल अब सिधै समुद्रसंग जोडिनेछ । नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसंग सिधै जोडिने भएकाले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनले बताए । सम्बोधनका क्रममा मोदीले भने “सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिन्छ, जाहाज सञ्चालन हुन्छ । संयुक्त पत्रकारसम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब जाहाज चलाउने जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनको भनाई छ । यसविषयमा दुई देशबीच सम्झौता भएको उनले जानकारी दिए । नेपालको कोशीनदीसम्म जाहाज चल्ने भएको छ । बंगालको खाडीबाट सिधै जलमार्ग हुदै नेपालमा जाहाज आउने भएको छ । यसले गर्दा कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेको आयात–निर्यात व्यापार जाहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ ।

वीरगञ्जदेखि काठमाडौसम्म रेल आउने, भारतले बनाइदिने सम्झौता

काठमाडौं । भारतको सहयोगमा वीरगञ्जदेखि काठमाडौंसम्म रेल आउने भएको छ । वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण दुबै मुलुकबीच सम्झौता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले वीरगञ्जदेखि काठमाडौंसम्म सञ्चालन गर्ने विषयमा दुई देशबीच सम्झौता भएको जानकारी गराएका हुन् । नेपालमा लोकतन्त्रमा लोकतन्त्रको अवस्था निकै बलियो रहेको बताउँदै ओलीले नेपालको विकास साथसाथै नेपाली जनतालाई खुशि राक्ने बताए । नेपालको सहयोगको लागि भारत सधै तत्पर रहेको छ । काठमाडौंदेखि नयाँ दिल्ली जोड्ने रेलमार्ग निर्माण अब भारतले गर्नेछ । नेपाल र भारत दुबै कृषि प्रदान देश भएको र दुबै देशको सांकृतिक आदान प्रदान हुनुपर्ने हो मा जोड दिए । दुबै देशबिचको रक्षा र सुरक्षा नजिक रहेकोले खुल्ला सिमानाबाट दुबै देशले फाइदा लिन सक्ने बताए । नेपालले सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका छान्ने क्रममा रहेको छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं –वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।      

इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो । विद्यार्थी नआएपछि प्राध्यापक हाजिर गरेर घर फर्कने गरेका छन् । इतिहासका बारेमा अध्ययन हुने विषय नै आफै इतिहास हुने अवस्थामा पुगेको छ । पछिल्लो वर्षहरुमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै घट्दै गएर यस वर्ष शुन्यमा पुगेको छ विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय, इतिहास केन्द्रीय विभागको तथ्यांकअनुसार २०७० मा ७ जनामात्र विद्यार्थी भर्ना भएका थिए ।विश्वविद्यालयबाट इतिहास विषयनै हट्ने अवस्था आएको छ । सेमेस्टर प्रणाली सुरु भएपछि ०७१/०७२ मा ६ जनामात्र विद्यार्थी भर्ना भएका थिए । ०७२/०७३ मा २ जनामात्र विद्यार्थीले इतिहास विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिए । यो वर्ष इतिहास पढ्ने एकजना पनि विद्यार्थी छैनन् । इतिहास पढ्ने विद्यार्थीको संख्या कम हुँदै शून्यमा झरेकोमा इतिहासकै प्राध्यापकलाई समेत आश्चर्यमा पारेको छ । इतिहास विषय प्रमुख प्रा.डा शंकर थापाले इतिहास पढेर रोजगारी नभएकोे र लोक सेवामा समेत कुनै प्रश्नपत्र समावेश नभएपछि यसको महत्व घटेको बताए । “इतिहासको अध्ययनबिना उच्च शिक्षा पूर्ण हुँदैन तर नेपालमा यो विषयको अवस्था खस्किएर शुन्य भएको छ” उनले भने । इतिहास पढ्ने विद्यार्थीलाई मात्र नभई पढाउने शिक्षकहरुलाई समेत उत्प्रेरणाको अभाव रहेको उनी बताउँछन् । विश्वद्यालयका डिन शिव भुसाल त्रुटिपूर्ण शिक्षा नीति तथा इतिहासको महत्वलाई केन्द्रविन्दुमा राखेर पाठ्यक्रम नबन्दा, अस्पस्ट र अन्योलपूर्ण नीतिका कारण इतिहासप्रति विद्यार्थीको रुचि घट्दै गएका तर्क गर्छन । विद्यार्थी आकषर्णको लागि कार्यक्रमहरु ल्याउन र तल्लो तहबाटै यस विषयको पाठ्यक्रम सञ्चालन गर्ने बारेमा छलफल भैरहेको छ । भविष्य सुनिश्चित नहुँदा पनि विद्यार्थीको आकर्षण घटेको हो । अन्य मुलुकमा इतिहास विषय अध्ययनका लागि पर्याप्त पूर्वाधार हुने र इतिहासलाई अनुसन्धानसँग जोड्ने चलन भए पनि नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ । ‘हाम्रोमा अवसरमात्र होइन, अध्ययन गर्ने वातावरण समेत छैन । त्यसैले इतिहासप्रति विद्यार्थीको रुचि कम हुँदै गइरहेको छ” भुसालले भने । इतिहास विषयका अर्का प्राध्यापक डा. घनश्याम भट्टराई राज्यलाई इतिहास पढेका मान्छेको महत्व थाहा नहुँदा समस्या भएको बताउँछन् । अन्य मुलुकमा इतिहासको अध्ययन गर्नहरुलाई राज्यले नै प्राथमिकतामा राख्ने गरेकोमा नेपालमा राज्यकै वेवास्ताले इतिहास कमजोर हुँदै गएको भट्टराईको तर्क छ । इतिहास पढ्ने विद्यार्थीको अभावमा उक्त विषयका शिक्षकहरु समेत जिम्मेवारविहिन जस्तै भएका छन् । “विद्यार्थी संख्या नभएपनि राज्यले हामीलाई अध्ययन अनुसन्धानमा खटाउनु पथ्र्याे तर त्यस्तो हुन सकिरहेको छैन,’ भट्टराइले भने । इतहास विषयका प्राध्यापकको विज्ञतालाई राज्यले सदुपयोग गर्न नसकेको उनको आरोप छ । राज्यले इतिहाससम्बन्धी अध्ययन अनुसन्धानहरु गैरसरकारी संस्थाहरुलाई जिम्मा लगाउने गरेका कारण आफैसँग रहेको विज्ञहरुको प्रयोग हुन नसकेको उनको आरोप छ ।  

कुस्मा नगरपालिकाद्धारा वृद्धवृद्धालाई घरमै गएर वृद्धभत्ता वितरण

काठमाडौं । पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद उपाध्याले जानकारी दिए । कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएको छ । सबैको रकम बैंकमा जम्मा भएपछि गाउँमा चेक संकलन गरेर भुक्तानी दिइँदै आएको छ, भने कुस्मा र पोखरालगायतका शहरमा बस्नेले भने बैंकबाट नै रकम लिँदै आएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा नै सेवा दिने उद्देश्यले अनुरोध गरेपछि गाउँमै पुगेर भत्ता वितरण गरिएको बैंकका शाखा प्रबन्धक केशव आचार्यले बताए । कुस्मा नगरपालिका–७ मा मात्रै चार सय ५० जना भन्दा बढी बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम झर्नुपर्ने भएपछि पर्वतमा जनप्रतिनिधिले घरघरमै वितरण गर्न थालेका छन् । सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ । कुस्मा नगरपालिकाका–ं १४ ले पनि यसअघि सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गरेको थियो, भने पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका सबै वडामा नै घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण हुँदैआएको छ । यसैबीच कुस्मा नगरपालिका–३ ले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयले ८० वर्ष काटेका ८० जना वृद्धवद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सो कार्यक्रममा गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेकामा गण्डकी विकास बैंकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । रासस

बेनीमा पर्यटकीय पदमार्ग निर्माण शुरु

काठमाडौं । सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ । बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हुैंदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ । नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पु¥याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो । बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताउनुभयो । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ । रासस

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिएका छन् । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो समेत दिएका छन् । यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत गार्ड अफ अनर प्रदान गरिएको थियो । रासस

भारतले दियो ओलीलाई ‘गारत’ सम्मान

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले गारत सम्मान दिएको छ । सम्मान पछि पत्रकार सम्मेलनमा बोल्दै ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । उनले जनताको जीवनस्तर उकास्नका लागि दुई देश मिलेर काम गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थियो । रासस