विकासन्युज

महालक्ष्मी विकास बैंकको साधारणसभा बैंशाख २१ मा, २३ करोड ७० लाख नगद लाभांश बाँड्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सञ्चालकको बैठकभक्ता र सुविधा वृद्धिको प्रस्ताव सभामा पेश हुने छ । बैंक अन्य कुनै बैंकसंग एकआपसमा गाभिने वा प्राप्तिका लागि उपर्यत बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्न सोका आधारमा सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै चलअचल सम्पत्ति दायित्व र कारोबार मूल्याँकन (डीडीए) नियुत्तः गर्न र प्राप्ती र एकआपसमा गाभिन प्रयोजनका लागि निर्णय लिन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

नागरिक लगानी कोष र पुनर्बीमा कम्पनी निक्षेप राख्न बैंक खोज्दै

काठमाडौं । दुई संस्थाले मुद्धति निक्षेपमा लगानी गर्ने वाणिज्य बैंकसंग प्रस्ताव मागेका छन् । नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफुसंग भएको वचत मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेका हुन् । लगानी कोषले न्युनतम त्रैमाशिक ब्याज भुक्तानी हुने गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा राख्ने जानकारी दिएको छ । आउदो बैशाख ५ गते निक्षेप लिनका लागि बोलपत्र बुझाउन कोषले भनेको छ । ब्याजदर न्युनतम १० प्रतिशतलाई मात्र मान्यता दिने जनाएको छ । यस्तै पुनर्बीमा कम्पनीले पनि आफुसंग भएको रकम २ वर्षका लागि मुद्धति निक्षेपमा राख्न प्रस्ताव मागेको छ । कम्पनीले बैशाखद ४ गतेसम्म प्रस्ताव बुझाउन भनेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि संस्थागत निक्षेपकर्ताबाट बैंकले १३ प्रतिशतमा निक्षेप लिएका थिए । निक्षेप महंगो भएको भन्दै बैंकले मुद्धतिमा बढीमा ११ र साधारण वचतमा ८ प्रतिशत भन्दा बढीमा निक्षेप नउठाउने आन्तरिक सहमति गरेका छन् । बैंकले सर्वसाधरणलाई बराबर ११ प्रतिशत ब्याजमा निक्षेप उठाउने भएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौतापत्र आदानप्रदान, लगानी बढ्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बनधमा कर्जा सम्झौता पत्र आदान प्रदान गरिएको छ । उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएको जनाइएको छ । दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । बैंकको अनुसार देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणलहरुले स्वदेशी बजारबाट पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न आजको आवश्यकता छ । चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा विक्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी गराएको छ । उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने । त्यस क्षेत्रमा लगानी बृद्धि हुनाले देशको आर्थिक वृद्धिमा सकरात्मक प्राभाव पर्ने बैंकले विश्वास लिएको छ । हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

कतार एयरवेले रुसको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको २५ प्रतिशत शेयर किन्दै

काठमाडौं । कतार एयरवेजले रुसको तेस्रो ठुलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको सम्भावित २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ । हस्ताक्षर समारोह बुधवार ४ अप्रिलमा दोहाको ओरिक्स रोटाना होटलमा भएको जनाइएकाे छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्डका अध्यक्ष विटली वान्ट्सेवसँगै सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । साथै उक्त कार्यक्रममा भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलका वाणिज्य उपप्रमुख एन्टन कुजनेट्सोवको पनि उपस्थिति रहेको बताइएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकेरले भनेका छन्, ‘हामी रूस र कतार राज्य बीचको सांस्कृतिक वर्ष मनाउने क्रममा, भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित २५ प्रतिशतसम्मको शेयर खरिदको लागि भएको सम्झौता घोषणा गर्न धेरै उत्साहित छौँ,’ उनले थपेका छन् ‘गत वर्षको अन्तमा सेन्ट पीटर्सबर्गसम्मको हाम्रो प्रत्यक्ष सेवा र साथै दैनिक तीन उडान सेवाको सुरूवातसँगै यस लगानीले उक्त देशसँग स्थापित भएको हाम्रो सम्बन्धलाई अझ प्रगाढ गर्ने कुरामा विश्वस्त छौँ ।’ स्काइट्रेक्सद्वारा २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित कतार राज्यको यस राष्ट्रिय विमान सेवाले २०१८/२०१९ सत्रमा लण्डन, ग्याट्विक एवं कार्डिफ, बेलायत; लिस्बन, पोर्चुगल; टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया लगायतमा नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने जानकारी गराएको छ ।

नयाँ बर्षमा मेगा बैंकको विभिन्न अफर, खाता खोल्ने ग्राहकलाई ५ लाखको बिमादेखि ११ प्रतिशत ब्याजसम्म

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ । मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवाहरु रहेका छन् । यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था समेत गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको बैंकको भनाइ छ । बैंकको अनुसार १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि सञ्चालनमा छ । ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकको भनाइ छ । ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।  

एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७५ सालको क्यालेन्डर

काडमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्बधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । मंगलबार सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको जनाइएको छ । बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बीके श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिक गरेका थिए । बैंकको अनुसार संस्कृतविद सत्यमोहन जोशीले समेत क्यालेन्डर निर्माणमा सहयोग पुर्याएका थिए । हाल बैंकले आफ्नो अत्याधुनीक सेवासहित देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटीएम मेसिन र विश्वभर फैलिएर रहेका संञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्रेट महाभारत ट्रेल पदमार्ग खाेज्दै अध्ययन टाेलि, प्रारंभिक चरणनै भेटिए प्रशस्तै सम्भावनाहरू (फोटो फिचरसहित)

काठमाडौं । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङनकर्ता लगायतका विज्ञहरु सहभागी रहेको जनाइएको छ । टोलीले नमोबुद्धबाट सिन्धुलीगढी हुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको जानकारी दिएको छ । सिन्धुलीगढी नपुग्दै दैनिक पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको टोलिमा सहभागी अभियन्ता सौरभ ढकालले बताए । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका उनको भनाइ छ । मौसममा सुधार हुनासाथ यात्रालाई निरन्तरतता दिने बताइएको छ । समृद्ध सिन्धुली अभियानको टोलि पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । उनले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनको भनाइ छ । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । ‘यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्न समेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने । आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए । अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको छ । यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठको भनाइ छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटलरएनालग नक्सा, फोटोरभिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरेका छौं,’ उनले भने । यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए । महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटी लगायतका संस्थाले सघाएका जनाइएको छ ।  

नेपाल प्रहरी र सशस्त्रको आइजीपीमा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरी र शसस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्रं खनाल नियुक्त भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको  मन्त्रिपरिषदको बैठकले  डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । नेपाल प्रहरीको आइजीपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। पधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच दुई खनाललाई प्रमुख बनाउन सहमति जुटेपछि मन्त्रिपरिषदको बैठकले अाैपचारिकता दिएकाे हाे । २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डिआईजीहरुले प्रतिस्पर्धा गरेका थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् । कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र र वरिष्ठताको आधारमा १ नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाउन लागेको हो। प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ ।नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छनभन्ने प्रमाणित गरेको छ। खनालका चर्चित काम मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाडौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे । विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए । पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्टी पुर्ने अभियान,चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् ।मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो ।