ग्लोबल आईएमई बैंक र बेलायतको क्रसपेबीच रेमिट्यान्स कारोबार सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपेबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि क्रसपे मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन् । क्रसपेको बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ । २०७४ चैत्र मसान्तसम्म बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । हाल बैंकको ७५०० भन्दा बढि एजेन्टहरु रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरी नेपालीहरुलार्इ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको बताएको छ ।
शिखर इन्स्योरेन्सका सञ्चालक शेर्पाको राजिनामा स्वीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालक आं छिरिङ शेर्पाले राजिनामा दिएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शेर्पाले दिएका राजिनामा स्वीकृत गरेको हो ।
विश्व बैंकको निश्कर्षः वामपन्थी बजेटले आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या
काठमाडौं । विश्व बैंकले बामपन्थी सरकारहरुले ल्याएका बजेटहरुले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या आएको निष्कर्ष निकालेको छ । विश्व बैंकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै केपी ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटकै कारण आर्थिक तथा वित्तिय क्षेत्रमा वेथितीहरु देखा परेको निष्कर्ष निकालेको हो । हाल कार्यान्वयनमा रहेको बजेट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ल्याएका हुन भने गत आर्थिक बर्षको बजेट एमाले नेता विष्णु पौडेलले तयार पारेका थिए । सो भन्दा अगाडीको बजेट भने काँग्रेस नेता डा. रामशरण महतले ल्याएका थिए । विश्व बैंकले यस अघिका तीन वटा बजेटले आर्थिक तथा वित्तिय क्षेत्रलाई सहि ढंगले सम्बोधन गर्न नसकेको दावी गरेको हो । विकास साझेदार विश्व बैंकले नेपालको विकास अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै अवास्तविक तरिकाले बजेट निर्माण हुदा बैंकिङ क्षेत्रमा तरलताको संकट र समग्र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको बैंकले औल्याएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोशिकले सन् २०१५ यता बजेट तयारीमा वेथिती रहेको भन्दै अवास्तविक तवरले बजेट निर्माण भएको औल्याएको छ । ३ वर्षयता बनेका सबै बजेटमा उनले प्रश्न गरेका छन् । मुलुकको ढिकुटी रित्तियो भनेर आर्थिक श्वेतपत्र जारी गरेका डा. खतिवडा आफै सहभागी भएर बनाएको बजेटको कारण बैंकमा तरलताको संकट आएको हो । अव्यवस्थित ढंगले बजेट तर्जुमा गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव हुन पुगेको र त्यसको असर ब्याजदरमा पर्दा उत्पादन लागत महंगियएको अर्थशास्त्री कोसिकको भनाई छ । कोसिकले खर्च गर्नका नाममा सरकारले महंगो ब्याजदरमा आन्तरिक ऋण उठाउन वाध्य भएको बताए ।
एभरेष्ट बैंकको बासँगढीमा नयाँ शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंकले बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखाको विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाहिको उपस्थिति थियो । हालै भएको क्यामेल रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ओम डेभलपमेन्ट बैंकको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा, विकास बैंकहरुमा पहिलो
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह मा.बि.का विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको उद्धघाटन गरेका हुन् । विकास बैंकहरुमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ । बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरिएको र यसबाट बैंकिङ्ग सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए । शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख रुपैयाँ सम्म निक्षेप जम्मा गर्न र १ लाख रुपैयाँसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ । कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रकुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ४२१ कर्मचारीहरुद्धारा २ लाख ३१ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताएका छन् । साथै, उनले निशुल्क सि-आश्वा सेवा र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेको बताए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?
काठमाडौं । राष्ट्र बैंकको १ सय ५१ जनाको विज्ञापनमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले ३ तहको लागि खुलाएको विज्ञापनमा ठुलो संख्यामा दरखास्त परेको हो । बैंकले २ महिनाअघि खुलाएको असिस्टेन्ट सहयकमा ९६ जना, अफिसर तृतिय ४५ जना र अफिसरमा १० जना माग गरी विज्ञापन गरेको थियो । असिस्टेन्ट सहायकमा सबैभन्दा धेरै ४३ हजार ६ सय ६६ जनाले आवेदन दिएका छन् । त्यस्तै अधिकृत तृतिया तर्फ ४ हजार ३२ जनाले आवेदन दिएका छन् । त्यसैगरी अफिसरमा १ हजार १ सय ४४ जनाको आवेदन परेको छ । आवेदन दिएकामध्ये ७ हजार ६ सय ४८ जनाले परिक्षा दिन नपाउने भएका छन् । बैंकका निर्देशक गुरु पौडेलका अनुसार आवश्यक कागजपत्र नपुगेपछि उनीहरुले परिक्षा दिन नपाउने भएका हुन् । यसरी आवेदन रद्ध गरिएका व्यक्तिहरुलाई मोबाइलमा सूचना जाने निर्देशक पौडेलले जानकारी दिए । बैंकले आवेदन दस्तुरबाट मात्रै ४ करोड रुपैयाँ राजस्व उठाएको छ । बैंकका अनुसार परिक्षा सञ्चालन गर्न बैंकले लोकसेवालाई १५ दिनअघि पत्र काटिसकेको छ । लोकसेवाले नै अब परिक्षा सञ्चालन गर्ने निर्देशक पौडेलले बताए ।
युनाइटेड इन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेपछि यूनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न लगानीकर्ता झुम्मिएका छन । कम्पनीले चुक्तापुँजी बढाउन २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । यस्तै कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ ।लगानीकर्ता लोभिएपछि कम्पनीको बुधबार प्रतिकित्ता १ हजार १९० रुपैयाँ मात्रै ५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । १ हजार १९० रुपैयाँ पर्ने सेयर १ सय रुपैयाँमा किन्न पाइने भएपछि लगानीकर्ता यूनाइटेडको सेयरमा लोभिएका हुन् । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । युनाइटेडपछि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बढी कारोबार भएको छ । चिलिमेको प्रतिकित्ता ८३५ मा २ कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सेयर बजार ३१ अंकले बढ्दा १ अर्बबढीको कारोबार, लगानीकर्ताको विश्वास बढेकै हो ?
काठमाडौं । नयाँ वर्ष शुरु भएपछि सेयर बजार बढ्न थालेको छ । बजारमा सुधार आएपछि लगानीकर्ताको विश्वास पनि बढेको छ । लगातार घट्दै गएको बजारले निराशा बनाएको लगानीकर्तालाई आइतबारदेखिको वृद्धिले आशा जगाएको छ । निरन्तर बढ्दै गएको बजार बुधबार पनि ३१ अंकले बढेर १३६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा वृद्धि देखिएको छ । बुधबार मात्रै सेयर बजारमा १ अर्ब १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम एकवर्ष यताकै उच्च हो । सो दिनको बजारमा १६५ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । केही दिनयता सेयर लगानीकर्ताको विश्वास बढ्दै गएकाले बजारमा सुधार आएको विश्लेषकहरु बताउछन् । बुधबार ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी न्याङदी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ९.९५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ९.९०, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९.८६, कर्णाली डेभलपमेन्ट बैंकको ९.८४ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ । त्यसैगरी, हथवे फाइनान्स कम्पनी, सिनजी पावर डेभलपमेन्ट र राधी विद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ९.६६, ९.५६ र ९.५४ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । त्यसमध्ये सबैभन्दा बढी हाइड्रो समूहको सूचक १०७ अंकले उकालो लागेको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरु दोहोरो अंकले बढेका छन् ।