विकासन्युज

कालिका पावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित कालिका पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा बुधबार निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि कालिकाले आईपीओ निष्कासन गर्नेछ । कालिकाले आईपीओ निष्कासन गर्न काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । कम्पनीमा संस्थापकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ ।

खानेपानीमन्त्रीले भनिनः ६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ

काठमाडौ । खानेपानीमन्त्री विना मगरले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छिन् ।  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दे उनले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिइन्। “छ महिनापछि मेलम्चीको पानी वितरण शुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उनले भनिन्। मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको सुनाए। कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राखेका थिए। मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ । उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि विसं २०६२ वैशाख ५ गते बोर्डको स्थापना भएको थियो । रासस

यो वर्षदेखि प्राथमिक तहका सबै पुस्तक रंगिन हुने, सिकाइमा सुधार हुने अपेक्षा

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार ल्याउन सरकारले यस वर्षदेखि प्राथमिक तहसम्मका विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक वितरण गरेको छ । शैक्षिक सत्र ०७५ देखि सरकारी स्कुलमा कक्षा १ देखि ५ कक्षासम्मका सबै विद्यार्थीले चार रंगका पुस्तक अध्ययन गर्न पाउने भएका छन् । कालो र सेतो रंगमा मात्र छापिएको पुस्तक वितरण हुदै आएकोमा विद्यार्थीको सिकाइमा अझ बढी प्रभावकारी बढाउन सबै पुस्तक रंगिन बनाइएको हो । सादा पुस्तक प्रतिपेज ३३ पैसामा छपाइ गरेकोमा रंगिन प्रतिपेज छपाई गर्दा ५० पैसा सरकारले तोकेको छ । रंगिन पुस्तक छपाइ गर्दा प्रतिपेज १७ पैसा मंहगो भएको छ । २०५७ सालदेखि २०७३ सम्म प्रतिपेज २६ पैसामा सरकारले निधारण गरेको थियो । २०७४ सालबाट बृद्धि भएर ३३ पैसा प्रतिपेज भएको छ । यस अघि कक्षा १–५ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिका विषयहरु गरी पाँचवटै पुस्तक कालो र सेतो रंगमा मात्र छपाइ भएकाले विद्यार्थीहरू वास्तविकता भन्दा निकै टाढा हेर बुझिरहेका थिए ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आर्चायलले विगत झै यो वर्ष पनि कक्षा १–५ सम्मका पाठ्यपुस्तक निजी र कक्षा ६–१०सम्म जनक शिक्षाले छाप्ने सरकारी निर्णय भएकोे बताए । उनले कक्षा १–५ सम्म ३४ लाख ५० हजार २३ विद्यार्थीकोलागि गत वर्ष १ करोड ७२ लाख ५० हजार ११५ थान किताब निजी प्रकाशकले छापेको थियो । “गतसाल हामीले ६० करोड रुपैयाँको किताब छापेकोमा १ करोड ४ लाख रुपिया बराबरको किताब थन्कियो” आर्चायलले भने “अब रंगिन किताब झनै महँगो हुन्छ र घाटमा जान्छ ।” ९९ प्रतिशत किताब छपाइको काम सकिएको र पहाडी र हिमाली जिल्लाहरुमा ९० प्रतिशत र तराईका जिल्लाहरुमा ५० प्रतिशतमात्र पुस्तकहरु पुगिसकेको छ । बिक्रेतालाई पुस्तक लिन आउन सुचना दिइरहेको उनले बताए । सातै वटा प्रदेशका कार्यलयमा पनि पुस्तकहरु पुगेको उनले दावी गरे । अब विद्यार्थीहरूलाई रंगित किताबले अकर्षित गर्ने र शिक्षकलाई पनि रंगिन किताब पाठ्य सामग्रीमा बुझाउन सजिलो हुने समेत उनको भनाई छ ।

केपी ओलीले यसरी गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, कालोपत्रे गर्ने जिम्मा चीनलाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठको दोश्रो साता बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट शिलान्यास गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेसँगै बाहिरी चक्रपथ आयोजना अघि बढ्ने सुनिश्चितता भएको हो । हाल शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका ओलीकै हातबाट बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट शिलान्यास गराउने तयारी अघि बढेको हो । ‘एक हप्ता भित्र जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित हुन्छ, ३५ दिने सूचनाको म्याद सकिएको एक हप्ता भित्रै प्रधानमन्त्रीद्धारा शिलान्यास गराउँछौं’, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा कार्यारम्भ गर्न लागिएको हो । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिर काम अघि बढाइएको छ । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए । आयोजनाले ग्राभेलस्तरको सडक तयार पारेपछि चीनले कालोपत्रे गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ । ७१ किलोमिटर लम्बाईको बाहिरी चक्रपथले उपत्यकामा नयाँ सभ्यताको विकास गर्ने अपेक्षा गरिएको छ । उपत्काको तीन वटै जिल्लाको काँठ क्षेत्रलाई समेट्ने बाहिरी चक्रपथले सो क्षेत्रको जमिन मूल्यांकन अधिक मात्रामा बढाउनेछ ।

नबिल फाउण्डेसनको नयाँ वर्ष बालबालिकाको साथमा

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययन्रत बालबालिकाका साथमा मनाएको छ । सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुसंग केही खुशीका रमाईलो क्षण बिताउन उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बालबालिकाहरुले कार्यक्रममा विभिन्न खेल, सांगीतिक कार्यक्रम, नृत्य साथ मनोरञ्जन गरेका थिए । गायिका सबिना कार्कीले पनि उक्त कार्यक्रममा आफ्ना प्रस्तुतीहरुद्वारा बालबालिकाहरुको मनोरञ्जन गरेका थिए । सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो जुन खास गरेर मस्तिष्कको राम्ररी विकास नभएका मस्तिष्क पक्षघातसँग सम्बन्धित हुन्छ । सेलेब्रल पाल्सीले प्रारम्भिक चरणमा शरीरको गति र माँसपेशीहरुको सन्तुलनमा असर पार्दछ । सेल्फ हेल्प ग्रुपको स्थापना ३१ वर्ष अघि भएको हो र यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसीत वयस्क र बालबालिकाहरुलाई सही उपचार गर्दै देखभाल गर्ने, सुविधा र राहत प्रदान गर्ने रहेको छ । समुहले त्यस्तो बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर विशेष शिक्षा कार्यक्रम, पुनस्थापना केन्द्र र प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने गरेको छ । प्रशिक्षित घरेलु प्रशिक्षक सेलेब्रल पल्सी ग्रस्त बालबालिकाहरुलाई घर घरमै गएर सेवा प्रदान गर्दछन् र उनीहरुलाइृ सामान्य थेरापी सीप र उनीहरुका अभिभावकहरुलाई त्यस्तै तरिकाहरुबारे सिकाउने गर्दछ्न् । नबिल बैंकले एसजिसिपिलाई सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुलाई पर्सामा संचालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरुको निमित्त आर्थिक सहयोग उपलब्ध गराएको पनि थियो ।

सचिवस्तरिय संयुक्त स्थायी समिति बैठकमा ऊर्जा बैंकिङ बनाउन भारत सहमत, बिजुलीको परिमाणको अध्ययन हुने

काठमाडौं । नेपालले ऊर्जा बैंकिङ बनाउन राखेको प्रस्तावमा भारत सहमत भएको छ ।नेपालमा वर्षादको समयमा बढी हुने बिजुली भारतलाई बिक्री गर्न र सुख्खायाममा आयात गर्ने नेपालको प्रस्तावलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकार गरेको छ । ऊर्जाको सन्तुलन कायम गर्नका लागि ऊर्जा बैंकिङ आवश्यक भन्दै नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले परिमाणको विषयमा संयुक्त अध्ययन गरी खाका तयार पार्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवत्ता तथा सहसचिव दिनेशकुमार घिमिरेले बताए । नेपालले दिन सक्ने र भारतले लिन सक्ने बिजुलीको परिमाणको विषयमा विषयमा संयुक्त अध्ययन भएपछि औपचारिक रुपमा ऊर्जा बैंकिङ अवधारण कार्यान्वयनमा आउने उनको भनाई छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन सुरु भएपछि वर्षादमा बिजुली बढी हुने र हिउँदमा कम भई भारतबाट आयात गर्नेपर्ने अवस्था रहने भएकाले नेपालले वर्षादको बिजुली दिएर सुख्खामा आयात गर्नका लागि यस्तो अवधारणा अघि बढाउन भारतसंग प्रस्ताव गरेको थियो । यस्तै बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनको कामा अघि बढाउन भारतको प्राधिकरण र नेपालको विद्युत प्राधिकरणले संयुक्त रुपमा अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । प्रसारणलाइनमा दुबै पक्षबाट हुने लगानी उठाउने विषयमा खाका तयार हुने भएको छ । यस्तै कुसाह–कटैया र परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनलाई डवल सर्किटमा विकास गर्न भारत सहमत भएको उनले जानकारी दिए । दुबै लाइनबाट १०० मेगावाटबाट बिजुली आयात भइरहेको छ । यस्तै टनकपुरमा ५० एमभीएको अर्को विद्युतीय ट्रान्सफरमर राख्न भारतले सहमति जनाएको छ । दुई देशबीच भारतको नयाँदिल्लीमा सचिवस्तरिय संयुक्त स्थायी समितिले सहसचिवस्तरीय संयुक्त कार्यसमूहले तयार पारेको प्रस्तावलाई स्वीकार गरेको थियो ।

११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले २५ हजारको जागिर गुमाए

काठमाडौं । ११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले सरकारी जागिर गुमाउनु परेको छ । रुपन्देही मझगावाँ मालपोत कार्यालय काम गर्दै आएका सुब्बा पौडेलले जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनीसँग घुस लिएपछि उनले जागिर गुमाउनु परेको हो । जग्गाको प्रमाणपूर्जा दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पौडेलले लेखापढी व्यवसायी राम लखन पाण्डे मार्फत छ हजार र सेवाग्राहीसंग पाँच हजार ११ हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट प्रमाणित भएको छ । उनी सहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई विशेष अदालत काठमाडौंमा मुदा दायार गर्ने अख्तियारले तयारी गरेको छ ।

मुगु जिल्लाको विभिन्न स्थानमा टेलिकमको जीएसएम सेवा

काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो । मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ । मुगु सदरमुकाम गमगढी र प्रसिद्ध राराताल देखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन् । अब यो सेवाबाट त्यस स्थानका करिव २ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।