विकासन्युज

ज्योति विकास बैंकको नयाँ शाखा कालिमाटीमा, थप १० वटा संचालनमा ल्याउने तयारी

काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा कालिमाटीमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि(रिलायवल कर्पोरेट इमेज) बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीआश्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १५ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १३ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

नेपालको बिजुली किन्न भारत बल्ल राजी, जलविद्युतमा निजी लगानी बढ्ने

काठमाडौं । लामो कसरतपछि नेपालको बिद्युत खरिद गर्न भारत सहमत भएको छ । यसअघि नेपालमा बढी भएको विद्युत खरिद गर्ने बताउँदै आएपछि भारतले औपचारिक जानकारी भने गराएको थिएन् । भारतमा भर्खरै सम्पन्न सचिव स्तरिय संयुत्त उर्जा समिति बैठकमा भारतले नेपालको विद्युत खरिद गर्ने औपचारिक जानकारी गराएको हो । भारतले केही समयअघि मात्रै विद्युत खरिद निर्देशिका मार्फत भारत सरकार संलग्न रहेका आयोजनाको विद्युत मात्रै खरिद गर्ने व्यवस्था गरेको थियो । त्यसले नेपालको जलविद्युत विकासमा स्वदेशी तथा विदेशी निजी लगानी निरुत्साहित गरेको थियो । अब भने भारतले नेपालमा उत्पादित विद्युत खरिद गर्ने औपचारिक जानकारी गराएको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । दुई देशको सचिवस्तरिय बैठकमा विद्युत मन्त्रालयका सचिव ए के भल्लाले भारतको ऊर्जा प्रणालीलाई सन्तुलनमा राख्न नेपालको जलविद्युत आवश्यक पर्ने भन्दै नेपालमा बढी हुने बिजुली आयात गर्ने जानकारी गराएका हुन् । नेपाली प्रतिनिधिमण्डलसंगको भेटमा भारतका विद्युतमन्त्री आर के सिंहले पनि नेपालमा बढी भएको बिजुली भारतले किन्ने प्रतिवद्धता जनाएको  अधिकारले बताए । नेपालले दिन सक्ने र भारतले लिन सक्ने बिजुलीको परिमाणको विषयमा विषयमा भारतको केन्द्रीय विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले संयुक्त अध्ययन गर्ने सहमति भएको उनले जानकारी दिए । विद्युतमन्त्री र सचिव दुबै प्रणाली सन्तुलनमा राख्न नेपालको बिजुलीले सहयोग पुर्याउने र आयात पनि गर्ने प्रतिवद्धता जनाएकाले वर्षादमा बढी हुने बिजुली भारतलाई बेच्न सकिने वातावरण बनेको उनले जानकारी दिए । “सोलार र वायु ऊर्जामा लगानी बढाइरहेका बेला प्रणाली सन्तुलन कायम राख्न भारतले नेपालको बिजुली चाहिन्छ भनेको छ” उनले भने “भारतले धेरै लचक भएर पहिलो पटक औपचारिक रुपमा नेपालको बिजुुली किन्ने प्रस्ताव समेत गरेको छ ।” नेपालले ऊर्जा बैंकिङ बनाउन राखेको प्रस्तावमा भारत सहमत भएको उनले बताए । नेपालमा वर्षादको समयमा बढी हुने बिजुली भारतलाई बिक्री गर्न र सुख्खायाममा आयात गर्ने नेपालको प्रस्तावलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकार गरेको छ । ऊर्जाको सन्तुलन कायम गर्न ऊर्जा बैंकिङ आवश्यक भन्दै विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले परिमाणको विषयमा संयुक्त अध्ययन गरी खाका तयार पार्ने सहमति भएको अधिकारीले बताए । नेपालले दिन सक्ने र भारतले लिन सक्ने बिजुलीको परिमाणको विषयमा विषयमा संयुक्त अध्ययन भएपछि औपचारिक रुपमा ऊर्जा बैंकिङ अवधारण कार्यान्वयनमा आउने छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन सुरु भएपछि वर्षादमा बिजुली बढी हुने र हिउँदमा कम भई भारतबाट आयात गर्नेपर्ने अवस्था रहने भएकाले नेपालले वर्षादको बिजुली दिएर सुख्खामा आयात गर्नका लागि यस्तो अवधारणा अघि बढाउन भारतसंग प्रस्ताव गरेको थियो । यस्तै बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनको काम अघि बढाउन भारतको प्राधिकरण र नेपालको प्राधिकरणले संयुक्त रुपमा अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । प्रसारणलाइनमा दुबै पक्षबाट हुने लगानी उठाउने विषयमा खाका तयार हुने भएको छ । केही समय नेपालले प्रसारणलाइन शुल्क (ह्लिङ चार्ज) र त्यसपछि भारतले तिर्ने सहमति भएको छ । यस्तै कुसाह–कटैया र परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनलाई डवल सर्किटमा विकास गर्न भारत सहमत भएको उनले जानकारी दिए । दुबै लाइनबाट १०० मेगावाटबाट बिजुली आयात भइरहेको छ । यस्तै टनकपुरमा ५० एमभीएको अर्को विद्युतीय ट्रान्सफरमर राख्न भारतले सहमति जनाएको छ । दुई देशबीच भारतको नयाँदिल्लीमा सचिवस्तरिय संयुक्त स्थायी समितिले सहसचिवस्तरीय संयुक्त कार्यसमूहले तयार पारेको प्रस्तावलाई स्वीकार गरेको थियो ।  यस्तै सन् २०१४ मा दुई देशबीच भएको विद्युत खरिदबिक्री सम्झौता (पीटीए) मा नेपालले प्रस्ताव गरेको बुँदमा भारतले सहमति जनाएको छ ।

छिनछिनमै बिजुली जान्छ, के यो लोडसेडिङको संकेत हो ? प्राधिकरणका प्रवक्ता भन्छन्- होइन

काठमाडौं । छिनछिनमै बिद्युत काटिन थालेपछि नागरिकमा फेरी लोडसेडिङको त्रास उत्पन्न भएको छ । केहि दिनदेखि दैनिक पाँच/सात पटक बिजुली जाने/आउने क्रम प्रक्रिया जारी छ । के यो लोड सेडिङको संकेत हो ? भन्ने प्रश्नको जवाफमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन,‘होइन् ।’ उनले चैत बैशाख महिनामा हावा हुरीले विद्युत प्रसारणलाइनमा समस्या उत्पन्न गरेकाले छिनछिनमै विद्युत जाने र आउने क्रम बढेको बताए । ‘लोडसेडिङ हुँदैन्, हावा हुरीले समस्या आएको हो, हामी उचित व्यवस्थापन गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता अधिकारीले भने । ढल्केबर देखि हेटौडासम्मको विद्युत प्रसारणलाइनमा अधिक समस्या देखिएको उनले बताए । सो प्रसारणलाइनले १९० मेगावाट विद्युत बोक्ने क्षमता राख्छ । हावा हुरीले विद्युतका पोल ढाल्ने क्रम नरोकिएकाले केहि समस्या देखिएको उनले स्वीकार गरे । उनले विद्युत लाइन ट्रिपिङको समस्या पनि देखिएको बताए । विद्युतको भाषामा उर्जाको मात्रामा हुने घटबढको मात्रालाई ट्रिपिङ भनिन्छ । विद्युत उत्पादन र आयातमा कुनै समस्या नरहेको पनि उनले स्पष्टीकरण दिए । हाल आन्तरिक उत्पादन र भारतबाट आयात गरेर १०५० मेगावाट विद्युतको आपुर्ति भैरहेको छ । भारतबाट ४५० मेगावाटसम्म विद्युत आपुर्ति भैरहेको छ । विद्युतको माग भने १२५० मेगावाट रहेको छ । वितरण प्रणालीमा गरिएको व्यवस्थापनका कारण नागरिकले लोडसेडिङ व्यहोर्नु नपर्ने अधिकारले बताए ।

तरलता धेरै घटेपछि राष्ट्र बैंकले आज ५ अर्ब बजारमा पठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलतामा भारी गिरावट आएपछि नेपाल राष्ट्र बैंकले बिहीबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले बैंकसंग भएको ट्रेजरी बिल्स खरिद गरेर सो रकम बजारमा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ हारहारीमा रहेकाले अधिक तरलता घटेर १० अर्ब रुपैयाँमा झरेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाएर सन्तुलन कायम राख्न खोजेको हो । चैत मसान्तमा करवापत अर्बो रुपैयाँ सरकारको ढुकुटीमा जम्मा भएकाले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बजारमा पैसा पठाएको केन्द्रीय बैंकले जनाएको छ । राजश्वको रुपमा सरकारको ढुकुटीमा रकम जम्मा भएपछि केही दिनसम्म बैंकिङ प्रणालीमा तरलताको अभाव हुने छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत तल रहेकाले रिपो निष्कासन गर्न नपाएको केन्द्रीय बैंकले जनाएको छ ।  

केरुंग–काठमाडौं रेल र तातोपानी नाका खोल्न चीनमा पहल गर्दै पराष्ट्रमन्त्री प्रदिप ज्ञावाली

काठमाडौं । नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच आज बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकासमा समान धारणा व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशका मन्त्री आपसी सम्बन्ध अतिआत्मिय रहेकामा प्रशन्नता प्रकट गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउन सहमत भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएका सम्झौतासहित विगतमा नेपाल र चीनबीच भएका सबै सम्झौता तथा समझदारीलाई तीव्र गतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका बेइजिंगस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयन एवं सहजीकरणका लागि समन्वय तथा कार्यान्वयन संयन्त्र गठन गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनता–जनताबीचको सम्बन्ध विस्तारलाई मूर्तरुप दिन चीनले अघि सारेको एक क्षेत्र एक मार्ग प्रयास बिआरआइबाट सम्भव हुनेमा दुवै देशका परराष्ट्रमन्त्रीले समान धारणा व्यक्त गरेका थिए । बिआरआइअन्तर्गतका सहायता परियोजना चयन गर्न पनि दुवै देश सहमत भएका छन् । केरुंग–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारे पनि दुवै देशबीच गहन छलफल भएको उक्त दूतावासले जनाएको छ । दुईपक्षीय संयन्त्रका बैठक नियमितरुपमा आयोजना गर्न तथा सम्झौता वार्तालाई निरन्तरता दिन पनि दुवै देशले सहमति जनाएका छन् । वार्तामा मन्त्री ज्ञवालीले भविष्यमा नेपाल र चीनबीच थप सीमा नाका खोल्नुपर्ने तथा रसुवागढी र तातोपानी नाकाको स्तरोन्नतिमा जोड दिएका छन् । साथै उनीहरुबीच तातोपानी नाका शीघ्र सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । मन्त्री ज्ञवालीले नेपालको चीनतर्फको व्यापार बढोत्तरी तथा बढ्दो व्यापार असन्तुलन घटाउन गरिएको आग्रहलाई सकारात्मकरुपमा ग्रहण गर्दै चीनका विदेशमन्त्री बाङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच उपलब्ध गराउने आश्वासन दिनुका साथै चीनले अवलम्बन गरेका सुधार तथा खुला व्यापारका नीतिबाट फाइदा दिन आह्वान गरे ।-रासस

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई ५ हजार जरिवाना

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उनले भने । ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत उनले आग्रह गरे । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे । महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”

जेठदेखि नेपालमा चिनियाँ गुणस्तरको सिमेन्ट उत्पादन हुदै, बजारमा वार्षिक २६ लाख टन थप

काठमाडौं । नेपालमा उत्पादित चिनियाँ गुणस्तरको होङसी शिवम् सिमेन्ट बेच्ने हो ? अब धेरै दिन छैन, चिनियाँ र नेपाली संयुक्त लगानीमा स्थापना भएको होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले आउदो जेठको दोस्रो सातादेखि चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । कम्पनीले चिनियाँ र नेपाल गुणस्तर मापदण्ड अनुसार सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ । उद्योगले देशभर ४६ सिमेन्ट वितरक नियुक्तिको तयारी थालेको छ । सिमेन्टसंगै होङसीले १२ मेगावाट क्षमताको तापीय प्लाण्टबाट ऊर्जा पनि उत्पादन गर्ने भएको छ । उद्योगले दैनिक ६ हजार र वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ । १३ करोड टन उच्चगुणस्तरको आफनो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरिएको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ । उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।