डलर महंगिएर १०६ रुपैंयाँ नाघ्यो, नेपालीलाई मूल्य वृद्धिको जोखिम
काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर भएको छ । वैशाख सुरुभएयता डलर निरन्तर मजवुत र नेपाली रुपैयाँ कमजोर हुदै गएको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर १०६ रुपैयाँ १० पैसा बिक्री दर तोकेको छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । एक महिनाको अवधिमा डलरसंग २ रुपैयाँ १५ पैसा कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले आइतबारका लागि १ डलर बराबर ६६ भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्वले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आर्कर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ । फेडरल रिजर्वले ब्याजदर बढाएपछि आरबीआईले पनि बढाउने संकेत गरेपछि लागत बढ्ने र यसको असर अर्थतन्त्रमा पर्ने अनुमानका आधारमा लगानीकर्ताले भारतबाट लगानी फिर्ता लैजान थाल्दा यसको असर देखिएको हो । डलर बलियो हुँदा बेफाइदा विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ ।
पाँच लाखको संगम पाँच करोडमा पुग्यो, पछाडी फर्केर हेर्नु परेको छैन : संगम शर्मा
संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् । तर, विस्तारै लोकप्रियता बढ्दै गएर चेन रेष्टुराँको रुपमा संगम विस्तार भएको छ । दुई दशकअघि पहिलो दमकमा ५ लाख लगानीमा स्थापना भएको संगमको अहिले राजधानीको नयाँवानेश्वर, कमलादी मुख्य-मुख्य स्थानमा मात्रै अहिले तीन वटा आउटलेट सञ्चालनमा छन् । राजधानीबाहिर दमक, विर्तामोड, उर्लाबारीमा तीन आउटलेट विगतदेखिनै सञ्चालनमा आइसकेका थिए । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने भएको छ । प्रस्तुत छ अवसर र भावी योजनाको सम्बन्धमा सञ्चालक शर्मासंग विकासन्युजले गरेको विकास बहस: संगम शर्मा, संस्थापक, निर्देशक-संगम स्वीट्स संगम स्वीट सञ्चालनमा ल्याउनु अघि तपाइ के गर्नुहुन्थ्योे ? मैले सानोतिनो व्यवसाय गर्दै आएको थिए । व्यवसायमा संघर्ष गरिरहेको थिए । एउटा नहुँदा अर्को साना–साना व्यापार गरिरहन्थेँ । बीचमा केही समय निर्माण कम्पनीमा काम गरे । जागिर गर्दागर्दै पार्टटाइम व्यापार शुरु गरेको थिए । पछि पेटी कन्ट्याक्ट भएर काम गरे । संगम स्वीटको सुरुवात कसरी भयोे ? यसमा एकदम रोचक कहानी छ । म पहिले कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहाँ काम गर्दा भारतबाट कोइला ल्याएर बेच्ने समुहहरुसँग मेरो चिनजान भयो । त्यसपछि भारतबाट कोइला ल्याएर बेच्न शुरु गरेँ । मैले नेपालमा जहाँ–जहाँ कोइला बेच्थेँ त्यहाँ म नै साहु नै देखिन्थेँ । बास्तवमा म साहु थिइन । भारतबाट कोहीसँग उद्यारोमा कोइला ल्याएर यता बेच्थें । नेपालमा साहु म बने तर मेरो आफ्नै धेरै लगानी, पूँजी भएर गरेको भने थिइन । विश्वासको संस्कार सायद आमाले सानैदेखि दिनुभएर होला अहिले मेरो लागि त्यो अर्बौ रुपैयाँको भन्दा बढी मूल्यको भएको छ । भारतमा ठुला–ठुला पार्टीहरुले नेपालमा वस्तुहरुको बिक्री गर्ने गर्थे । त्यो सिलसिलामा भारतको ब्रिजकिशोर गुप्ताले मारुती कार किनेका रहेछन् । व्यवसायको सिलसिलामा धरान आउदै गर्दा बाटोमा कसैलाई गाडीले हानी दियो । विरामीलाई धरानको घोपा अस्पतालमा राखिएको थियो । त्यहाँ घोपामा उनीहरुलाई भारतीय भाषाको ज्ञान भएको मान्छेको खोजी थियो । त्यसो त बोर्डरमा पनि केशब पाण्डे, विमल आचार्यहरु थिए, क्लियरीङ एजेन्टको रुपमा काम गर्ने । उनीहरुले मलाई पनि लिएर धरान गए । मसँग पनि खास त्यस्तो केही थिएन । तर भाषा जान्ने भएको कारण सहज हुन्छ भन्ने लाग्यो होला उनीहरुले मलाई लिएर गए । घोपाबाट बिरामी हेरेर फर्कदा ठ्याक्कै दमकमा पुगेपछि बाटो बन्द भएको भन्ने खबर आयो । त्यसपछि हामी दमक गेस्ट हाउसमा बस्यौं । म शाकाहारी मान्छे त्यहाँ भेजिटेरियन होटल खोज्यौं भेटिएन । मैले त्यसअघि ननभेज होटलमा भेज खाना खाएको थिइन । विश्वासको आधारमा दमकको स्टाप होटलमा फ्रेस भेज खाना खाएँ । फेरी अर्को चरण बिरामी हेर्न धरानको घोपामा जानुप¥र्यो । उनको गाडी बेलबारी ठानामा थियो । उनलाई गाडी निकाल्ने चक्कर भयो । म फेरी उनैसँग गएँ । जाँदाखेरी दिउसो दमक पुगेका थियौं । बन्द भयो र जानै नसकिने भइयो । नखुल्ने संकेत आएपछि दमकमै बस्यौं फेरी ननभेज होटल खोज्यौं । दमकमा भेजिटेरीयन होटल भेटिएन । मेरो बानी मनको कुरा खोलिहाल्ने । मैले हिन्दीमै भने, ‘यस ठाँउमा सहकारी होटल खोल्छु । त्यो कुरा सुनेर उनीहरु हाँसे । शाकाहारी होटल भेटिएन भन्दैमा खोल्ने भन्ने कुराले हाँसे होला भन्ने लाग्यो । त्यो हाँसो मेरो लागि इगो बन्यो । सायद उनीहरु नहाँसेको भए भन्थे फेरी भोलिपल्ट बिर्सिन्थेँ होला, होटल खोलिन्दैन थिए होला । कोइलाको काम सिजन, अफसिजनमा हुन्थ्यो । वर्षा याममा चल्दैन । हिउँदमा सिजन हुन्छ । त्यसैले पनि अर्को बिजनेशको खाँचो थियो मलाइ । त्यतिखेर म सानै थिए । अनुभवी भने थिइन । बाबु बाजेले पनि यस्तो काम गरेको थिएन । भारतको सिलगुडीको चोकैमा भेजिटेरियन महाविर भोजनालय थियो । जहाँ–जहाँ भेजिटेरियन छ । म त्यहीँको ग्राहक थिएँ । उक्त भोजनालयको ग्राहक बन्ने क्रममै त्यहीको स्टापहरुसँग लिङ्क गरेर त्यहीँको कुकहरुलाई सेट गरेर एकै पटक मैले भव्य रुपमा दमकमा संगम स्वीट्स खोले र नाम पनि संगम स्वीट नै नाम राखेँ । मैले पहिलेदेखि काम गरेकोले बोडरसम्मकै लिङ्क थियो । पैसा कमाइ जे–जस्तो भएपनि पहिलाको ब्यापारी भनेर ठुलो पहिचान थियोे । कतिपय मैले कोइला सप्लाइ गरेकाहरु अहिले ठुलो बिजनेशमेन भएका छन् । उनीहरुले मलाई बोसकै रुपमा मान्थे । मैले बोलाएपछि आउने भए । त्यसरी त्यो डेजिनेसनले काम गर्यो । मलाई याद छ, दमकको राजकुमार अधिकारी, शुरुमा होटलको लागि उनको घर अगाडी ठाँउ खोजियो । मेनलाइन मेरो प्राथमिकतामा परेन । किनभने मान्छेले शान्त वातावरणमा शाकाहारी भोजन गर्न भन्ने मेरो सोच थियो । त्यसैले अलि भित्र खोलेको थिए । मेरो चिनजानका छक्क परे । कसरी स्वीट्स चल्छ ? केन्द्रदेखि पनि भित्र भएपछि । चिया–समोसा खान कसरी ग्राहक जालान ? मेरो मामा पर्नु हुने भट्टराई हुनुहुन्थ्यो । उहाँले अब भान्जा डुब्छ भन्ने सोचेका थिए । उद्घाटनकै बेलुकी साझमा एउटा नागसर्प पसलको अगाडी हुदै गयो । म उभिरहेको थिए । त्यतिखेर एकजना मेरो साथीले भन्यो ‘यो सर्प पश्चिदेखि पूर्वतिर गयो । यो तेरो लागि शुभ संकेत हो भन्यो ।’ त्यसले मलाई हौसला बढायो । त्यो संकेत शुभ होस् या अशुभ । त्यसले मेरो व्यापारमा ठुलो महत्व राख्यो । त्यो दिनदेखि मेरो आफ्नो औकात, हैसियत, क्षमतालाई अगाडी बढाउने क्रममा पछाडी फर्केर हेर्नुपरेको छैन । शुरुमा संगम स्वीटमा कति लगानी गर्नुभयो ? त्यतिखेर दमकमा काठको तक्ता ओछ्याएर शोकेस नभएपनि मिठाइ बिक्री गर्ने चलन थियो । मैले त्यो चलन तोडेको थिएँ । मेरोमा शोकेसभित्र मिठाइ हुन्थ्यो र त्यो नौलो थियो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी भएको थियो । होटलको सम्पुर्ण आवश्यकता पुरा गरेको थिए । त्यसपछि अर्को आउटलेट कहाँ खोल्नुभयो ? त्यसयता संगमा शाकाहारी भोजनालयको व्यवसाय वृद्धि हुदै गयो । कहीँ शाखा खोलिन । कोइलालाई ५/७ वर्षसम्म निरन्तरता दिएँ । मैले दोस्रो शाखा करिब ८ वर्षपछि काठमाडौंको कमलादीमा खोलेँ । त्यो बीचमा मैले टीभीएस मोटरसाइकलको डिलरशिपहरु पाएको थिए । बजाजले पनि अफर गर्यो । बजाजको डिलर २०६२ सालमा पाए । बीचमा केही नकेही गरिरहेको थिएँ । बजाजको डिलरशिप अहिले पनि छ । संगम स्वीटको दोस्रो शाखा कमलादीमा खोलेँ । तर म त्यसै बसिन । केही नकेही नयाँ ब्यापारहरु गर्दै गएँ । कमलादीपछि बानेश्वरमा अर्को शाखा खोलेँ । कमलादीमा शाखा बिस्तार गर्ने क्रममा पनि सो स्थानमा मान्छेको समुह हिड्दैन थिए । गाडीबाट मात्रै हिड्थे । जहाँ बसपार्क पनि छैन, मान्छेको भीडभाड पनि थिएन । कुनै मल तथा जमघट स्थान थिएन । कसरी चल्छ ? भन्ने प्रश्न आएको थियो । अहिले छेउमा अर्को दुई ओटा त्यस्ता होटल खुलिसकेका छन् । त्यसबेला मैले छनौट सहि स्थानमै गरेको रहेछु भन्ने लाग्छ । काठमाडौंमा जम्मा तीन ओटा शाखा छ । अर्को कालिमाटीमा छ । राजधानीबाहिर दमकमा, बिर्तामोडमा र उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको तीन महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं । त्यसपछि विस्तारै अघि बढ्छौं । यद्यपी मैले चाहेँ भन्दैमा हुदैन, २÷४ वर्ष खोल्दिन भनेको कुरा २/४ महिनामै पनि खोल्ने अवस्था आउन सक्दछ । समयले आफै जुराउने हो । म पहाडको मान्छे । मेरो यो नौलो कामले गर्दा मलाई सबैतिरबाट सहयोग । हौसला दुबै छ । तपाईले ५ लाखदेखि शुरु गर्नुभएको संगम स्वीटको भ्यालु अहिले कति पुग्यो ? मेरो सबै आउटलेटलाई पनि जोड्ने हो भने ५ करोड रुपैयाँ नाघ्छ । संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् । हामीले सरकारलाई नियमित रुपमा कर तिरी राखेका छौं । हाम्रोतर्फबाट सरकारलाई राम्रै सहयोग पुगेको छ । मैले शाकाहारी खानामा लतै बसाइ दिएको छु । त्यस्तो कुरा मैले भन्दा पनि समाजले महशुस गर्ने हो । हाम्रोमा निम्नदेखि उच्च स्तरको ग्राहकले ननभेजिटेरीयन विभिन्न आइटम खानाको परिकार खान सक्छन् । हाम्रो उद्देश्य नै २०/२५ रुपैयाँको ग्राहकदेखि ५ हजार रुपैयाँ पनि खर्च गर्नेलाई समेत समेट्न सकौं भन्ने हो । अहिले पनि नीति त्यही नै हो । हामीले अहिले उपलब्ध गराउदै गरेको आइटम सिल्गौडी लगायत अन्यमा खाएभन्दा सस्तो छ । संगममा के–कस्ता शाकाहारी खाना उपलब्ध छन् ? साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको ननभेजिटेरीयन परिकार खान सक्छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौ । हामी खानामा कुनै पनि वस्तु मिसावट गर्दैनौं । जसको ३ कारण छ । सकभर मिसावटयुक्त खरिद गर्दैनौं । किनभने एक मसँग मिसावट सम्बन्धि ज्ञान छैन । जब त्यसको ज्ञान छैन किन मिसावट गर्ने अर्को आवश्यक पनि छैन । दोस्रो संगम स्वीटले मेरो परिवारलाई न्युनतम आवश्यकताहरु पुर्याइदिएको छ । आज ६ ओटासम्म आउटलेट भइसकेको छ । अब किन मिसावट गर्नुपर्यो ? तेस्रो आमाको इमान्दारीताको संस्कार हो । अहिले आमाले दिएको संस्कारनै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको छ । सामान्य व्यक्तिले यतिको ठुला चेन रेष्टुराँ खोल्नु भयो अहिले जागिर खोज्दै हिडेकाहरुलाई तपाईको सुझाव केछ ? म यसमा चिन्तित छु । अब समाजलाई राम्रो प्रभाव पर्ने काम गर्ने मेरो सोच छ । हामीले प्रभाव पर्ने गरी ठोस काम गर्नुपर्छ । मुलुकमा करिब ३ करोड जनसंख्या छ । मलाई लाग्छ यहाँबाट रोजगारीमा १ जना पनि मुलुकबाहिर जान पर्दैन । यहाँ जागिर र व्यवसाय दुबै छ । भने पनि यहाँ दिनरात किसानी गरेर आफैसँग बसी आयआर्जन गर्नेभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् । हामीले साइकलमा कार्टुन जम्मा गर्नेदेखि लिएर सबै कामको कदर गर्नुपर्छ । तर, त्यो गरेनौं । मिडियाले पनि तरकारी फलाएर, बेचेर उदाहरणिय बनेकाहरुलाई सम्मान गर्नुपर्छ । म सिन्धुली वीपी राजमार्ग हुदै पुर्वजाने र आउने गर्छु । त्यो बाटोमा अहिले पनि राम्रो चिया बनाउने १०० ओटा पसल चल्छ । मुलुकमा व्यवसायको अपार सम्भावना छ । मुलुक आफै धनी छ । विदेश् हेरी नेपालमा धेरै राम्रोे सम्भावना छ । पछिल्लो राजनैतिक परिवर्तनले आश जगाएको छ । मान्छेमा धैर्यता हुनुपर्छ । अहिले यहाँ इमान्दारीपुर्वक जागिर खाने मान्छेले २०/२५ हजार कमाउन समस्या पर्दैन । पर्याप्त जागिरको सम्भावना छ । मुलुकको माया गर्नेहरुलाई स्वदेशमै राख्नुपर्छ । निजी क्षेत्रले पनि त्यसको लागि भूमिका खेल्नुपर्छ । यहाँ सफल व्यवसायी बन्नु भएको छ, यहाँले व्यवसायलाई विविधिकरण र अघि बढाउन के कस्ता योजना बनाउनु भएको छ ? जुन क्षेत्रमा सम्भावना छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु । जसरी मैले भेजिटेरीयन स्वीट खोले त्यसरी नै सके भने संगम नामबाटै होटल एण्ड लज खोल्ने इच्छा छ । सुद्ध साहाकारी मात्रै होटल एण्ड लज हुनेछ । यो काम मेरा लागि चुनौतिपुर्ण छ । यद्यपि चुनौतिसँग सामना गर्ने इच्छा छ । त्यसको लागि कडा गृहकार्य गरिरहेको छु । जहाँ–जहाँ संगम स्वीट छ । त्यहीँ स्थानहरुमा पहिले त्यस्ता होटलहरु खुल्नेछन् ।
प्रतिकित्ता ५२३ मा निर्धन उत्थान बैंकको संस्थापक सेयर लिलामीमा, बंगलादेशको ग्रामीण ट्रष्ट बाहिरिदै
काठमाडौं । बंगलादेशको ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको छ । ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको ३ लाख ५७ हजार ८३ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम मूल्य ५२३ रुपैयाँ राखेर बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिद गर्नका लागि जेठ २० गतेभित्र बोलपत्र पेश गर्न बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १०० कित्ताका लागि र बढीमा जति पनि लिन पाइनले एनआईबीएलले जनाएको छ । सेयरको न्युनतम् मूल्य १८ करोड ६७ लाख रुपैयाँ हुने छ ।
९ महिनामा सानिमा बैंकले गर्यो १२० करोड नाफा
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २० करोड ५६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनको अवस्था राम्रो रहेको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत ७.३२, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१८, आधार ब्याजदर १०.६३ र कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) ४ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । गत पुसमा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो । बैंकको निक्षेप बढेर ७१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको निक्षेप ६८ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार आएको छ । गत चैतसम्म ६४ अर्ब ३२ करोड रुपैयाँ छ । गत पुसमा ६० अर्ब ५२ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
वन्यजन्तुको चोरीसिकार र अबैद व्यपार नियन्त्रण आवश्यक
काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए । रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अबस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने प्रष्ट्याए । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम गरिरहेको जनाएको छ । उनको अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो । निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले जनाएका छन् । सोही अवसरमा बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि सञ्चालन गरिएको जानकारी दिएको छ ।
आन्दोलन फिर्ता लिन व्यवसायीलाई चेम्बरको अनुरोध
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्वरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनु पर्ने माग चेम्वरको माग छ । ‘आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशक भन्दा वढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन,’ चेम्बरले भनेको छ ‘सरकारको सिन्डिकेट अन्त्यको प्रयासमा सहयोग गर्न चेम्वरले सवैसँंग विशेष आग्रह गरेको छ ।’ सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन समेत चेम्वरले सरोकारवाला यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
कोसी करिडोरको निर्माण सुरु
पाँचथर । पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोरको काम अघि बढेको छ ।पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोसी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् । पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताए । उनकाअनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुनबाँकी छ । ६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको उनले जानकारी दिए । ४ अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले बताए । हालै दुई प्याकेजका लागि १ अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ । एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो । दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो । शुरुमा ७ अर्ब रुपैयाँको अनुमानित लागत तय गरिएको थियो । सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ । १४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो । यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ । ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताए । पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ । प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ । पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ । यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ । यो सडकलाई काठमाडौंँसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको छ । मध्यपहाडी लोकमार्गको कार्यालयमार्फत आयोजनाको काम अघि बढाइएको इञ्जिनियर पौड्लले बताए । कोशी तथा तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेशचोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ । ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ । यो सडक बनेपछि पूर्वी पहडाका बासिन्दालाई तराई तथा काठमाडौंँसम्म पुग्न सहज हुने उत्तर–दक्षिण लोकमार्गका डिभिजनल इञ्जिनियर कुबेर नेपाली बताउछन् । पूर्वका जनतालाई तराईका धरान, विराटनगर, इटहरी तथा काठमाडौँं जान छोटो बाटोको रुपमा यसलाई लिइएको उनको भनाइ छ । प्रदेशको राजधानी तथा ठूला अस्पताल जान पनि यो सडक सहज हुनेछ । धनकुटाको मूलघाटदेखि सुभाङ खोलासम्म तमोर करिडोरको बाटो कोसी करिडोरमा समायोजन गरिएको छ । तमोर नदीको किनारै–किनार यो सडक मूलघाटदेखि चीनको सीमा क्षेत्रमा ओलाङ्चुङगोलातर्फ अघि बढाइएको थियो । करिडोरमार्फत निक्कै ठूलो बजेटका साथ अघि बढेकाले राम्रो सडक बन्ने नेपाली बताउँछन् । चतरादेखि मूलघाटसम्म ३५ र बाँकी मूलघाटदेखि गणेशचोकसम्म रहेको छ । यो ठेक्का अुनसारको काम सकिँदा सडक कालोपत्रे हुने चरणमा पुग्नेछ । चौडाइ विस्तार, घुम्ती, नाला निर्माण तथा ग्राभेलको काम हुनेछ । यो सडकलाई आधार बनाएर विभिन्न शाखा सडकमार्फत विभिन्न बस्तीका बासिन्दाले राहत पाउने देखिन्छ । मोटोको बजेट भएकाले यो सडक चाँडो बन्नेमा स्थानीयवासी उत्साहित छन् । यो सडकबाट काठमाडौंँ जान ४४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । ‘पूर्वी पहाडलाई तराई तथा राजधानी जोड्ने यो छोटो बाटो हो । रासस
हिरो मोटरसाइकलले छान्यो नयाँ बर्ष योजनाका भाग्यशाली
काठमाडौं । काठमाडौं । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले नयाँ बर्ष २०१८ का विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले न्यु इयर मा पर्छ पर्छ योजनामा शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत क्यास ब्याक पाउने विजेताहरुको नामावली सार्वजनिक गरेको हो । शतप्रतिशत रकम फिर्ता पाउनेहरुमा मुस्तकिम बैढा, राम राजाशाह, हरिनारायण प्रसादशाह र पुनमकुमारी चौधरी रहेका छन् । त्यस्तै, दोस्रो पुरस्कार वापतद ७५ प्रतिशत रकम फिर्ता पाउनेहरुमा बसु थापा, मधु चौधरी, सिंह बहादुर राई र ज्योती मैनाली रहेका छन् । त्यसै गरि तेस्रो पुरस्कार वापत ५० प्रतिशत रकम फिर्ता पाउनेहरुमा अजोधया प्रसाद चौधरी, ढुण्डि राज गौतम, रमेशकुमार मेहता र सहिल मुसलमान रहेका छन् । हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकहरुले स्क्य्राच कार्ड बाट ५ हजार देखि १ लाख सम्म जित्न सक्ने लगायतका योजना ल्याएको थियो ।