अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति
काठमाडौं । हाल विश्वमा एक व्यक्तिमाथि अपार धन वर्षा भइरहेको छ । सम्पत्ति यति तीव्र गतिमा बढिरहेको छ कि उनी प्रायः हरेक दिन नयाँ कीर्तिमान बनाइरहेका छन् । ती व्यक्ति हुन्- एलन मस्क । रोयटर्सका अनुसार एलन मस्क इतिहासकै पहिलो व्यक्ति बनेका छन्, जसको नेटवर्थ ७०० अर्ब अमेरिकी डलर नाघेको छ । इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लामा मस्कलाई दिइएको ठूलो पारिश्रमिक प्याकेज अदालतको निर्णयबाट पुनः बहाल भएपछि उनको सम्पत्तिमा यसरी भारी वृद्धि भएको हो । गत हप्ता डेलावेयर सुप्रीम कोर्टले मस्कलाई सन् २०१८ मा दिइएको पारिश्रमिक प्याकेजसँग सम्बन्धित स्टक अप्सन पुनः बहाल गरिदिएको हो । यसअघि एक तल्लो अदालतले ती स्टक अप्सन रद्द गरेको थियो । यस निर्णयपछि मस्कको अनुमानित सम्पत्ति बढेर करिब ७४९ अर्ब डलर पुगेको छ । ती स्टक अप्सनको मूल्य अहिले करिब १३९ अर्ब डलर पुगेको छ, जुन पहिलो पटक सम्झौता स्वीकृत हुँदा रहेको ५६ अर्ब डलरको तुलनामा धेरै बढी हो । उच्च अदालतले एलन मस्कको पारिश्रमिक प्याकेज रद्द गर्ने अघिल्लो निर्णय गलत र अनुचित रहेको ठहर गरेको छ । अदालतले सन् २०२४ मा गरिएको त्यो फैसला उल्ट्याएको हो, जसमा उक्त सम्झौतालाई ‘अविश्वसनीय’ भनिएको थियो । प्याकेज पुनः बहाल भएपछि मस्कको सम्पत्तिमा अभूतपूर्व वृद्धि भयो र उनी ठूलो अन्तरसहित विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत नोभेम्बरमा टेस्लाका शेयरधारकहरूले एलन मस्कका लागि १ ट्रिलियन डलर बराबरको नयाँ पारिश्रमिक योजना स्वीकृत गरेका थिए । यो कुनै पनि कर्पोरेट कार्यकारीलाई अहिलेसम्म दिइएको सबैभन्दा ठूलो पारिश्रमिक प्याकेज हो । यसले टेस्लालाई केवल इलेक्ट्रिक कारमै सीमित नराखी कृत्रिम बौद्धिकता ९एआई० र रोबोटिक्स क्षेत्रमा पनि अगुवा बनाउने मस्कको योजनाप्रति लगानीकर्ताको बलियो समर्थन देखाउँछ । एलन मस्कका महँगा परियोजना टेस्लासम्म मात्र सीमित छैनन् । उनी स्पेशएक्सका संस्थापक तथा सीईओ हुन्, जुन पुनः प्रयोग गर्न मिल्ने रकेट र स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाका लागि चर्चित छ । उनका परियोजनामध्ये न्यूरालिंक पनि पर्छ, जसले ब्रेन(कम्प्युटर इन्टरफेस विकास गरिरहेको छ । उनी बोरिङ कम्पनीसँग पनि आबद्ध छन्, जसले सुरुङ निर्माण र नयाँ यातायात प्रणालीमा काम गर्छ । मस्क एक्स कर्प डटका प्रमुख पनि हुन्, जुन पहिले ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल प्लेटफर्मको प्यारेन्ट कम्पनी हो । साथै उनी एक्सएआई नामक एआई अनुसन्धान कम्पनीको पनि नेतृत्व गरिरहेका छन्। फोर्ब्सको सूचीअनुसार एलन मस्कको सम्पत्ति अहिले उनका सबैभन्दा नजिकका प्रतिस्पर्धी गुगलका सह–संस्थापक ल्यारी पेजभन्दा करिब ५०० अर्ब डलरले बढी छ । यसै हप्ताको सुरुवातमा मात्र मस्कको नेटवर्थ पहिलो पटक ६०० अर्ब डलर नाघेको थियो । स्पेसएक्सको आईपीओ आउने पनि कुरा छ जसले भविष्यमा उनको सम्पत्ति अझ बढ्न सक्ने संकेत गरेको छ ।
मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापनअन्तर्गत नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ। उक्त योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बीमाको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ । 'आजको लगानी, भोलिको सुरक्षा' भन्ने नारासहित मुक्तिनाथ क्यापिटलले लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीका अनुसार यो योजनाले एकातर्फ लगानीबाट लाभ आर्जन गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमबाट हुने आर्थिक क्षतिबाट समेत सुरक्षा प्रदान गर्नेछ ।
महुली लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ २० पैसाको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् १ करोड ७५ लाख ७१ हजार ३६६ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् ९ लाख २४ हजार ८०८ रुपैयाँ बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले सो आर्थिक वर्षको सञ्चित तथा खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४ रुपैयाँ ७६ पैसाको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत १० प्रतिशत अर्थात् ४ करोड ७ लाख ६९ हजार २३० रुपैयाँ ४८ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२३६ प्रतिशत अर्थात् २१ लाख ४५ हजार ७४८ रुपैयाँ ९७ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९ हजार ३८५.६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको कुल १३ प्रतिशत अर्थात् ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ । घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् १५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
५ दर्जन कम्पनीको लाभांश वितरण नगर्ने घोषणा
काठमाडौं । पुँजी बजारमा आबद्ध लगानीकर्ताहरूका लागि यो सिजन लाभांशको हो । सामान्यतया सेयरधनीहरूले आफूले लगानी गरेको कम्पनीबाट लाभांश प्राप्त गर्ने अपेक्षा राख्छन् । तर, पछिल्लो तथ्याङ्क अनुसार दर्जनौं कम्पनीले लाभांश वितरण नगर्दा सम्बन्धित कम्पनीका सेयरधनीहरू निराशा बनेका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये ८० बढी कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तर, विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार नेप्सेमा सूचीकृत ५ दर्जन कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् । १३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दा कुमारी बैंक र नेपाल बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । कुमारी बैंकले पुस ३० गते २५औँ वार्षिक साधारण सभा बोलाएको छ भने नेपाल बैंकले साधारण सभा बोलाउन बाँकी छ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार विभिन्न ३ वटा फाइनान्स कम्पनीले लाभांश घोषणा गर्दा ५ वटा फाइनान्स कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । सेन्ट्रल फाइनान्सका कम्पनी सचिव गोविन्द प्रसाई, रिलायन्स फाइनान्सका कम्पनी सचिव युज कुमार भैल, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका कम्पनी सचिव शिवराज भण्डारी र नेपाल फाइनान्सका कम्पनी सचिव बिष्णु प्रसाद गौतमका अनुसार सञ्चालक समितिको बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । यस्तै, जानकी फाइनान्सले लाभांश बिना नै पुस १९ गते २७ र २८औँ वार्षिक साधारण सभा बोलाएको छ । विभिन्न ४ वटा होटलले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका छन् । तर, ओरियन्टल होटलले गत भदौ २३ गते लाभांश बिना नै २८औँ वार्षिक साधारण सभा सम्पन्न गर्याे । बीमा कम्पनीहरु धमाधम गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरिरहेका छन् । तर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भने सेयरधनीहरूको हात रित्तो बनाउने भएको छ । गार्डियनले पुस १४ गते लाभांश बिना नै तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बोटलर्स नेपालका दुईटै कम्पनीले सेयरधनीहरूको हात रित्तो बनाएको छ । बोटलर्स नेपाल बालाजुले ४७औँ वार्षिक साधारण सभा र बोटलर्स नेपाल तराईले ३९औँ वार्षिक साधारण सभा पुस २३ गते बोलाएका छन् । तर, लाभांश वितरणको प्रस्ताव छैन । हालै आईपीओ जारी गरेको श्रीनगर एग्रिटेक इण्डस्ट्रीजले पनि बिना लाभांश पुस २४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, सागर डिष्टिलरीले लाभांश बिना नै पुस २७ गते तेस्रो वार्षिक साधारण बोलाएको छ । पछिल्लो तथ्याङ्क अनुसार १३ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेर सेवाग्राहीहरुलाई मख्ख बनाएको छ । तर, लक्ष्मी लघुवित्त, आरम्भ चौतारी लघुवित्त र सूर्योदय वोमी लघुवित्तले भने सेयरधनीको गोजि रित्तो पार्ने निर्णय गरेका छन् । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद श्रेष्ठ, आरम्भ चौतारी लघुवित्तका कम्पनी सचिव शिव प्रसाद ज्ञवाली, सूर्योदय वोमी लघुवित्तका कम्पनी सचिव प्रमेश आचार्यले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जानकारी दिए । यस्तै, नेपाल रिपब्लिका मिडियाले पुस ८ गते विशेष साधारण सभा बोलाएको छ, लाभांश छैन । पियोर इनर्जीले बिना लाभांश गत असोज ७ गते आठौं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । झापा इनर्जीले लाभांश बिना पुस १८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । यी हुन लाभांश नदिने ३७ वटा हाइड्रो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९७ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । जसमध्ये १५ वटा कम्पनीले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तर, सूचीकृत ३५ वटा हाइड्रोपावर कम्पनीले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेका हुन् । मनकामना इन्जिनियरिङले भदौ २० गते पाँचौं वार्षिक साधारण सभा, अरुण काबेलीले असोज ३ गते १५औँ वार्षिक साधारण सभा, अपर स्याङ्गे हाइड्रोले असोज ९ गते नवौं वार्षिक साधारण सभा, मोलुङ हाइड्रोले असोज १० गते १६औँ वार्षिक साधारण सभा, विकास हाइड्रोले असोज १० गते चौथो वार्षिक साधारण सभा, माथिल्लो मैलुङ खोला जलविद्युतले असोज १२ गते १२औँ वार्षिक साधारण सभा लाभांश बिना नै सम्पन्न गरिसकेका छन् । यस्तै, हिमालयन हाइड्रोपावरले कात्तिक ९ गते १८औँ साधारण सभा, सानिमा मिडिल तमोर हाइड्रोले असोज २९ गते १०औँ साधारण सभा, स्वेतगङ्गा हाइड्रोले असोज ३१ गते नवौं वार्षिक साधारण सभा, रावा इनर्जी डेभलपमेन्टले कात्तिक १२ गते छैटौं वार्षिक साधारण सभा, तेह्रथुम हाइड्रोले कार्तिक १७ गते आठौं वार्षिक साधारण सभा, बाराही हाइड्रोले कात्तिक २० गते १०औँ वार्षिक साधारण सभा, ग्रीन लाइफ हाइड्रोपावरले कात्तिक २८ गते १३, १४ र १५औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार हिमालयन उर्जा विकासले मंसिर २३ गते २५औँ वार्षिक साधारण सभा, बुद्धभूमि नेपाल हाइड्रोले मंसिर २४ गते १७औँ वार्षिक साधारण, मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंसिर २९ गते १३औँ र १४औँ वार्षिक साधारण सभा, माईखोला हाइड्रोपावरले मंसिर २५ गते पाँचौ वार्षिक साधारण सभा, मकर जितुमाया सुरी हाइड्रोपावरले मंसिर २६ गते १७औँ वार्षिक साधारण सभा, सगरमाथा जलविद्युत कम्पनीले मंसिर २६ गते पाँचौ वार्षिक साधारण सभा, शुभम पावरले मंसिर २६ गते ११औँ वार्षिक साधारण सभा सम्पन्न गरेर सेयरधनीहरुको हात रित्तो बनाएका छन् । लाभांश प्रस्ताव बिना नै पाँचथर पावर कम्पनीले १०औँ वार्षिक साधारण सभा पुस १३ गते, इङग्वा हाइड्रोपावरले १६औँ वार्षिक साधारण सभा पुस १६ गते, भिजन लुम्बिनी उर्जाले सातौं वार्षिक साधारण सभा पुस १९ गते, दोर्दीखोला जलविद्युतले, युनियन हाइड्रोपावरले १९औँ वार्षिक साधारण सभा पुस २१ गते, राधी विद्युत कम्पनीले पुस २२ गते वार्षिक साधारण सभा बोलाएका छन् । पञ्चकन्या माई हाइड्रोपावरले नवौं तथा दशौं वार्षिक साधारण सभा, पिपुल्स हाइड्रोपावर कम्पनीले १७औँ वार्षिक साधारण सभा, चिरख्वा हाइड्रोपावरले सातौं वार्षिक साधारण सभा पुस २३ गते, त्रिशुली जलविद्युतले १४औँ साधारण सभा, सयपत्री हाइड्रोपावरले नवौं साधारण सभा, रिडी पावर कम्पनीले २४औँ पुस २५ गते बोलाएका छन् । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०औँ वार्षिक साधारण सभा पुस २८ गते, छ्याङ्दी हाइड्रोपावरले १२औँ वार्षिक साधारण सभा, मन्दाकिनी हाइड्रोपावरले १२औँ वार्षिक साधारण सभा, बलेफी हाइड्रोपावरले १४औँ वार्षिक साधारण सभा र न्यादी हाइड्रोपावरले १८औँ वार्षिक साधारण सभा पुस २९ गते बोलाएका छन् ।