विकासन्युज

अम्बिका पौडेल महासंघको एसोसिएट सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को हालै सम्पन्न निर्वाचनमा अम्बिका प्रसाद पौडेल एसोसिएट सदस्यमा निर्वाचित भएका छन् । एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले १ हजार १९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । पौडेल तेस्रोपटक महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनी महासंघको कर तथा राजस्व समिति सभापतिको भूमिकामा थिए । पौडेल पुँजी बजारका लगानीकर्ताहरूको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष हुन् । उनी बैंक तथा वित्तीय संस्था, जलविद्युत्, निर्माण कम्पनी, पर्यटन तथा उत्पादनमूलक उद्योग क्षेत्रमा समेत सक्रिय रूपमा आबद्ध छन् । पौडेलले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे । उनले मतदाताले व्यक्त गरेको विश्वासलाई इमान्दारिता, जिम्मेवारी र परिणाममुखी कार्यमार्फत सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, व्यावसायिक वातावरण सुधार, निजी क्षेत्रको हित संरक्षण तथा समग्र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने दिशामा आफू दृढता पूर्वक अघि बढ्ने बताए । पौडेलले सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै व्यावसायिक हकहितका विषयमा बुलन्द आवाज उठाउने उल्लेख गरे । सम्पूर्ण व्यावसायिक समुदायको आवाजलाई सम्मान गर्दै साझा लक्ष्य हासिल गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बिहीबार अपराह्न ५ बजेका लागि आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ । लामो समयदेखि न्यायपालिकाको नेतृत्व चयन प्रक्रिया अन्योलमा रहेका बेला आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा प्रधानमन्त्री शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मुख्य विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, उपसभामुख रुबीकुमारी थापा तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी हुनेछन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि योग्य उम्मेदवारको नाम सिफारिस गरेपछि उक्त नाम संसदीय सुनुवाइ समितिमा पठाइने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति हुने प्रक्रिया अघि बढ्छ ।  

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।  जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो । वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई  धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ ।  गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ ।    

काँक्रो किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (नरिवल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली ज्यापू प्रतिकिलो रु ६०,सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु ९०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । 

विदेशमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ । वैशाख २१ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूेले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सरकारी जग्गाको भोगाधिकार स्वतः खारेज, संरचना खाली गर्न निर्देशन

काठमाडौं । सरकारी जग्गा भोगाधिकारमा लिएका तर तोकिएको समयभित्र लिजमा परिणत नगर्ने व्यक्ति, संस्था तथा निकायको भोगाधिकार स्वतः समाप्त भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) अनुसार भोगाधिकार प्राप्त जग्गालाई समयमै लिजमा परिणत नगरेको अवस्थामा भोगाधिकार स्वतः खारेज हुने जनाएको हो । मन्त्रालयका अनुसार तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले २०७३ जेठ ३१ र २०७४ वैशाख २१ गते सूचना प्रकाशित गर्दै ६ महिनाभित्र भोगाधिकार प्राप्त जग्गालाई लिजमा परिणत गर्न आवेदन दिन आह्वान गरेको थियो । तर, उक्त अवधिभित्र आवेदन नदिने व्यक्ति, संस्था तथा निकायको भोगाधिकार समाप्त भएको स्पष्ट पारिएको छ । मन्त्रालयले भोगाधिकार लिँदा गरिएको सम्झौताअनुसार तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गर्न र सम्बन्धित जग्गासहित त्यसमा निर्माण गरिएका संरचनासमेत तत्काल खाली गर्न निर्देशन दिएको छ ।

जडीबुटी-मनोहरा सर्भिस लेन अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्दै

काठमाडौं । सडक डिभिजन काठमाडौंले जडीबुटी मनोहरा पुल खण्डमा निर्माणाधीन सर्भिस लेन सुधारको ठेक्का अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं सडक डिभिजनले ‘सुजल/एम.डि. ब्रो जेभी, इलाम’लाई ठेक्का किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । डिभिजनका अनुसार अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि मनोहरा पुलसम्म दुवैतर्फ सर्भिस लेन सुधार कार्यका लागि उक्त कम्पनीसँग २०८० जेठ २५ गते ठेक्का सम्झौता भएको थियो । तर, पटक-पटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण प्रगतिमा सुधार नआएको, कार्यतालिका अनुसार काम नभएको र लामो समयदेखि आयोजना अलपत्र अवस्थामा रहेको जनाएको छ । कार्यालयले निर्माण कम्पनीले पटक–पटक प्रतिबद्धता जनाए पनि काम सुचारु नगरेको तथा आयोजना सम्पन्न गर्न आवश्यक तत्परता नदेखाएको उल्लेख गरेको छ । यसै आधारमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौताको जीसीसी क्लज ७२.१ अनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । डिभिजनले १५ दिनभित्र यथोचित कारणसहित आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता अन्त्यतर्फ कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली  भू-भागका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।