सुनको मूल्य १ हजार रुपैयाँले घट्यो
आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा १ हजार रुपैयाँले घटेसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो । आज १० ग्राम सुनको मूल्य भने २ लाख ५६ हजार २६० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी २५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यौन हिंसा रोक्न कडा कानून ल्याइँदै
काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेसँगै अघि बढाएको पहिलो महत्त्वपूर्ण निर्णय कार्यान्वयनको चरणमा पुगेको छ । जबरजस्ती करणी, करणी पश्चात् हुने हत्या, यौनजन्य हिंसा र बालबालिका विरुद्धका जघन्य अपराधमा संलग्न कसुरदारलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्न तथा पीडितलाई शीघ्र न्याय दिलाउन गठित अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाको संयोजकत्वमा गठित १० सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदलले प्रचलित अपराध संहिता लगायतका कानूनहरूमा रहेका कानूनी अड्चन र अवरोधहरूको सुक्ष्म अध्ययन गरी सुधारका उपायहरू सिफारिस गरेको छ । कार्यदलमा सर्वोच्च अदालतका सह-रजिष्ट्रार मुना अधिकारी ढकाल, महान्यायाधिवक्ताको कार्यालयकी सह-न्यायाधिवक्ता बिना दाहाल, नेपाल बार एसोसिएसनका प्रतिनिधि र कानून विज्ञहरूको संलग्नता रहेको थियो । अध्ययन कार्यदलले बुझाएको उक्त विस्तृत प्रतिवेदनलाई मुख्य आधार बनाएर सरकारले कानून परिमार्जनको प्रक्रिया थालनी गरिसकेको छ । यौन हिंसा र बालबालिका सम्बन्धी गम्भीर कसूरमा शून्य सहनशीलताको नीति अपनाउँदै, पीडितको न्यायमा पहुँच सहज बनाउन आगामी संघीय संसदको अधिवेशनमा संशोधन विधेयक पेस गर्ने गरी मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको छ ।
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गरी शिखा स्कुलले उपाधि जितेको हो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगञ्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिए । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरिका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी व्यक्त गरे । नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। यसअघि कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरू आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गरिन् ।
सलिकोको नाफा १३ करोड ३२ लाख, स्पेसल रिजर्भ २ अर्ब माथि
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको २०८२/८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९९ प्रतिशतले बढेको हो । अघिल्लो आवको यही समयमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । चैत्रसम्ममा कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ थियो । त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।
ट्राफिक कारबाहीमा ४ लाख ४८ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ४८ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।
बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका-१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजेका लागि बोलाइएको बैठक महाधिवेशनको तयारी, संगठन पुनर्संरचना तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने भएको छ । पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको जानकारी दिएका छन् । उनका अनुसार बैठकले सबैभन्दा महत्वपूर्ण रूपमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको हो । रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ । २०७९ साल असार ७ गते स्थापना भएको पार्टीले महाधिवेशन गर्ने मिति पटक–पटक तय गरे पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । पछिल्लो समय पार्टीभित्र संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणको आवश्यकता बढ्दै गएपछि महाधिवेशनलाई निर्णायक मोडका रूपमा हेरिएको छ । आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला, वडा–पालिका–जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको विशेष कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ । रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउन नयाँ संरचनात्मक मोडालिटीमा जाने तयारी गरेको नेताहरूले बताएका छन् । त्यस्तै बैठकले पार्टीका आयोग तथा विभागका पदाधिकारी मनोनयनसम्बन्धी निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ । संगठनभित्र लामो समयदेखि रिक्त रहेका केही विभाग तथा जिम्मेवारीलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ । यसैबीच रास्वपाले केही जिल्ला समिति विघटन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । पार्टी नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसकेका, निष्क्रिय रहेका वा आन्तरिक विवादमा फसेका जिल्लाका संरचनालाई पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । बैठकमा अनुशासनसम्बन्धी विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पछिल्लो समय पार्टीका केही सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिलाई लिएर नेतृत्वभित्र असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने, पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिने तथा आन्तरिक विषय सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै नेतृत्वले त्यसप्रति कडाइ गर्ने संकेत दिएको छ । रास्वपाका नेताहरूका अनुसार बैठकले अनुशासन उल्लंघनका घटनाबारे समीक्षा गर्दै आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने सम्भावनासमेत रहेको छ । पार्टीभित्र आन्तरिक एकता र सन्देश व्यवस्थापनलाई सुदृढ बनाउन नेतृत्व थप सचेत देखिएको छ । यस्तै सचिवालय बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ भने समसामयिक राजनीतिक विषय, संगठन विस्तार र पार्टी रणनीतिसम्बन्धी विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।
स्ट्रेट अफ हर्मुजमा अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने
काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भने, ‘विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानून’ को रूपमा पारित गरिनेछ ।’ उनले भने,‘विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ ।’ अजिजीले यसअघि बिहीबार भनेका थिए, ‘इरानले हर्मुजको जलमार्गमा सँधै सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न प्रयास गरेको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।’ यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु हो । उनले भनेका छन्, ‘इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैं यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ ।’ अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारण भएको उनले बताए । उनले भने, ‘विदेश मन्त्रालय र बन्दरगाह सङ्गठनजस्ता सम्बन्धित निकायसँग व्यापक छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइएको छ ।’ इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको थियो ।