सरकारले वैदेशिक रोजगारलाई बाध्यता नभई विकल्प बनाउने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा ल्याउने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा ल्याउने बताएका हुन् ।
देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने
काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सांस्कृतिक तथा आरोग्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने बताएका हुन् । त्यसैगरी चलचित्र, आध्यात्मिक पर्यटन तथा अवकाश पर्यटनलाई समेत उदाउँदो पर्यटन गन्तव्यका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि र सांस्कृतिक पहिचान सुदृढ गर्ने लक्ष्य लिएको छ ।
पर्यटन बोर्डमा निजी क्षेत्र भित्र्याइँदै
काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिइने बताएका हुन् । सरकारले पर्यटन बोर्डको संरचना तथा सञ्चालनमा निजी क्षेत्रलाई थप सहभागी गराएर पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र बनाइने
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै नेपाललाई विश्वकै एक टेक हबका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ ।
सरकारले ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न एकद्वार प्रणाली र कानुन संशोधन गर्ने
काठमाडौं । सरकारले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्न प्रशासनिक र कानुनी अड्चनहरू फुकाउने नीति लिएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधारको घोषणा गरेका हुन् । सरकारले ऊर्जा उत्पादनलाई तीव्रता दिन र लगानीकर्तालाई आकर्षित गर्न एकद्वार प्रणाली लागू गर्ने र विद्यमान कानुनहरूमा परिमार्जन गर्ने योजना अघि सारेको छ ।
महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउने
काठमाडौं । सरकारले महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता रणनीति तर्जुमा गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिला उद्यमशीलता प्रवर्द्धनमार्फत उत्पादन र बजार पहुँच विस्तार गरिने बताएका हुन् । त्यसैगरी सरकारले श्रमप्रधान निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन तथा प्रविधिमा आधारित उद्योग विस्तारका लागि रोजगारी आवद्ध उत्पादन क्षेत्र स्थापना गर्ने नीति लिएको छ ।
देवभूमि नेपाल घोषणा, पर्यटक भिसा सेवा अनलाइनबाटै
काठमाडौं । सरकारले नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ घोषणा गर्ने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई आधुनिक, डिजिटल र सुरक्षित बनाइने बताएका हुन् । नीति तथा कार्यक्रममा पर्वतीय पर्यटनलाई आधुनिक प्रविधिसँग जोडेर सुरक्षित बनाइने उल्लेख गरिएको छ । साथै, पर्यटक आगमनलाई सहज बनाउन पर्यटक भिसा सेवासहित विभिन्न सेवा अनलाइनमार्फत उपलब्ध गराइने सरकारको योजना छ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न विशेष पहल गर्ने जनाएको छ । यात्रुहरूको प्रतीक्षा समय घटाउने तथा विमानस्थल सेवामा सुधार गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ । त्यस्तै, पर्यटनसँग सम्बन्धित साहसिक पर्यटन पूर्वाधार सुदृढीकरण गरिने र पाँच हजार होमस्टेलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गरिने सरकारको लक्ष्य छ । सरकारले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई पर्यटन विकाससँग जोड्दै नेपाललाई अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।
साना किसानको बाली तथा पशुधन बीमा डिजिटल प्रणालीमा जोडिने
काठमाडौं । साना किसानलाई लक्षित गर्दै बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बाली तथा पशुधन बीमासम्बन्धी सेवा डिजिटल प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रममा बाली तथा पशुधन बीमाको बीमालेख जारी गर्ने, प्रिमियम अनुदान उपलब्ध गराउने, भुक्तानी गर्ने तथा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख छ ।