लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौं । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषाद्को आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले यही जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले नीता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको शुक्रबार (आज) बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । प्रदेशसभा सदस्यहरूले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरू सकारात्मक भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् । बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लिराज भुसाल, मीनाकुमारी श्रेष्ठ, वसन्ती न्यौपाने, यमबहादुर नेपाली सार्की, धनलक्ष्मी श्रेष्ठ, विष्णुप्रसाद पन्थीसहित १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए । उनीहरूले बजेट प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिएका थिए । प्रदेशसभाको बैठकमा शून्य समयमा दीलकुमारी बुढा, माया पुन, कृष्णाकुश्मा थारु र यमूना रोक्का तामाङले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
काठमाडौं । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर शुक्रबार (आज) एक मजदुरको मृत्यु भएको छ । गण्डकी गाउँपालिका-१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उनको भनाइ छ । दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो । हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियोे ।
डुबेर एकैदिन ४ बालिकाको मृत्यु
काठमाडौं । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार (आज) जिल्लाको मनरासिस्वा नगरपालिका-७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका-४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नगरपालिका-७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गौशाला नगरपालिका-४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन् । सुनसरी कोशी गाउँपालिका-१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिए । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गरे । उनले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताए ।
नेपाली बालिकालाई बेचबिखन बिक्री गर्न खोज्ने दुई भारतीय पक्राउ
काठमाडौं । बालिकालाई बेचबिखन गर्ने उदेश्यले भारत लैँजादै गरेको अवस्थामा दुई जना भारतीय पक्राउ परेका छन् । घर देखी फकाई फुलाई लगी बालिकालाई ड्रेससमेत चेन्ज गराई भारतको डिल्ली जाने बसको टिकट काट्दै गरेको अवश्थामा २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देन्वेन्द्र कुमार हरिजन पक्राउ परेका हुन् । राजस्थान प्रदेश मागेवास ग्राम पन्चायत जयपुर बरूणपथ जांगिड र राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपंचाय जयपुरका हरिजन रहेका छन् । ललितपुर प्रहरी परिसरका अनुसार ललितपुरको १४ खुमलटार बस्ने एक जना बालिकालाई उनीहरूले भारत लैजान लागेका थिए । पिडित बालिकालाई उद्दार गरी परिवारको जिम्मा लगाइसकिएको प्रहरीले बताएको छ । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपोसारमा मुद्धामा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
दुई दिने बिदाले चितवन निकुञ्ज घुम्ने नेपालीको सङ्ख्या सवा लाखभन्दा बढी
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो । गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे । बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् । गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए । नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ । उनले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन् ।’ गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उनले जानकारी दिए । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए । यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व सङ्कलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिए । उनका अनुसार काठदाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु एक करोड ९५ लाख ३१ हजार ७५५, दण्डसजायबाट रु १० लाख ७१ हजार ९०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको छ ।
संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग राय सुझाव माग
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ । संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सात दिनभित्र लिखित सुझाव माग गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेका उक्त कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ । कार्यदलले विभिन्न समयमा संविधानविद्, कानुनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक, पूर्वकूटनीतिज्ञ, सञ्चारकर्मी र राजनीतिक व्यक्तित्वहरुसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको जनाएको छ । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले संविधान संशोधन बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गरिरहेको जानकारी दिए ।