विकासन्युज

अबदेखि सार्वजनिक गाडीमा लगेज ट्याग, नम्बर मिलाएर मात्रै झोला बुझाइने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।’ राष्ट्रिय यातायात व्यवसायीक महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो । उनले भने, 'जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।' यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ । यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ । यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३ को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान शुरू गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि...

काठमाडौं । चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट स्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छे नदी किनारमा जम्मा हुन थाले । नारायणी नदीमा भएको यो घटना कुनै भवितव्य दुर्घटना नभइ विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मी आफैले गराएको कृत्रिम अभ्यासको घटना हो । नवलपुरमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टरले जिल्लाको कावासोतीमा रहेका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी दिएको प्रशिक्षणमा सुरक्षाकर्मीले डुङ्गा पल्टाएका हुन् । डुङ्गा पल्टिएपछि पल्टिएको डुङ्गालाई कसरी सुल्टो बनाएर ज्यान जोगाउने भन्ने विषयमा नदीमा नै सुरक्षाकर्मीले अभ्यास गरेर देखाएका थिए । योसँगै उनीहरुले नदीमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा घरेलु सामग्रीले तयार पारिएका जीवन सुरक्षित पार्ने विधिसमेत प्रदर्शनी गरेका थिए । तालिमका क्रममा सुरक्षाकर्मीले घर वरिपरि फालिएका विभिन्न सामग्रीलाई सङ्कलन गर्दै बाढी तथा डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जान मिल्ने उपकरणको तयारीबारे समुदायलाई जानकारी दिएका थिए । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले खोलामा कसरी उद्धार गर्ने, कसरी सुरक्षित रहने तथा घरेलु उपकरण प्रयोग गरेर कसरी खोलामा डुब्नबाट जोगिन सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका थिए । खड्काले प्लाष्टिकका बोतल, जर्किन, सवारीसाधनको ट्युब, केराको थम्बा (बोट), सुकेको बाँसको सामग्री लगायतबाट नदीमा तैरिने सामग्री निर्माण गरी बाढी तथा डुबानजन्य विपद्बाट जोगिने उपायबारे समुदायलाई जानकारी गराएका थिए । उनले नदीजन्य विपद्मा परेका समुदायका उद्धारका लागि र्याफ्टिङ डुङ्गा लैजाँदा त्यसलाई कसरी सञ्चालन गर्ने र कसरी मानिसलाई उद्धार गर्ने भन्नेबारे सहभागीलाई जानकारी गराएका थिए । कारितास नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त प्रशिक्षणमा कावासोती नगरपालिकाका ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने तालिममा कावासोती नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका विपद् व्यवस्थापन समितिका सदय तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीको सहभागिता रहेको गौलीले बताए । प्रशिक्षणका क्रममा सशस्त्र प्रहरी बलको टोलीले सहभागीलाई एलपी ग्यासको सिलिण्डरमा आगलागी भएमा नियन्त्रण लिने उपाय, दुर्घटनामा घाइतेको उद्धार तथा नदीमा हुने विपद्मा उद्धारका अभ्यास गराइने उनले बताए । तालिममा सहभागी प्रशिक्षणपश्चात समुदायमा फर्किएर विपद्को समयमा खोज तथा उद्धारको काममा खटिने गौलीको भनाइ छ । सशस्त्र प्रहरी बलले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा समुदायमा रहेका व्यक्तिलाई विपद् प्रतिकार्य अभ्यास गराउँदै आएको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वार्टर नवलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताए । नवलपुरका धेरै पालिका मनसुनजन्य विपद्को जोखिममा रहेका भन्दै समुदायका हरेक व्यक्तिलाई यस प्रकारको तालीम आवश्यक रहेको बताए ।

गण्डकी र कोशीमा भारी पानी पर्ने, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै  स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना  छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू-भागमा तातो दिन तथा तराई  भू-भागमा तातो लहर हुने सम्भावना रहेको छ । साथै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली  प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।  समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ ।  निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरुलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ ।  समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई सात दिनभित्र जानकारी गराउन भनेको छ । विपद्सम्बन्धी जोखिम न्यूनीकरणका पूर्वतयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ । विपद्का बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बिमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ ।  

उपत्यका प्रहरी कार्यालयका डिआइजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत

काठमाडौं । काठमाडौं उपत्यकाको समग्र शान्ति, सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी पुरस्कृत भएका छन्  । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । विशेषगरी चोरी, डकैती, लागुऔषध कारोबार, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उनले सक्रियता बढाएको बताइएको छ । त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत भएका हुन् ।  ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न उल्लेखनीय भूमिका खेलेको जनाएको छ । उनको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ गर्नुका साथै सडक अनुशासन कायम गराउने अभियान प्रभावकारी बनेको थियो ।  विशेषगरी ट्राफिक जाम न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण, लेन अनुशासन लागू तथा आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उहाँले महत्त्वपूर्ण पहल गरेको जनाइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी चालकमा ट्राफिक नियमप्रति सचेतनासमेत वृद्धि भएको बताइएको छ ।  सडकमा हुने जाम, जथाभावी पार्किङलगायतका समग्र अव्यवस्था न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ ।  यसबाट प्रहरी सङ्गठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ ।

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं ।  प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।  बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहित टोलीले शुक्रबार (आज) प्रधान न्यायाधीश डा. शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो ।  भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।  बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ ।  ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।  

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका । शुक्रबार (आज) मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।  मधेस प्रदेशसभाको बैठकमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभामा विश्वासको पक्षमा ६२ जना प्रदेशसभाका सदस्यहरूले मत दिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेशसभाका सदस्यहरूको मत परेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गरेका थिए । साथै, प्रदेशसभामा १०७ सदस्य छन् । दुई जना सदस्य निलम्बित छन् भने चार जनाले राजीनामा दिए । अन्य तीन जना भने सभामा अनुपस्थित रहेका सभामुख यादवले जानकारी दिए । प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए ।  मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, नेकपा (एमाले) २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका एक सदस्यले विश्वासको मत दिएका हुन् ।

सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव, संख्याका भरमा दम्भ नपाल्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् । सरकारलाई जवाफदेहिता बन्न आग्रह सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाईको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेड पाएको भए पनि ठिक ढंगले नचलाएको बताए । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जवाफदेही हुन आग्रह गरे । ‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौं,’ थापाले भने, ‘तर, सरकार जवाफदेही बन्नुपर्छ ।’ विगतमा सुविधाजनक जनक बहुमत प्राप्त गरेका कार्यकाल पुरा नभएको स्मरण गर्दै त्यस्तो नहोस् भन्दै शुभकामना दिए । करिब दुई तिहाईको जनमत र लोकप्रिय छु भन्दैमा संवैधानिक सिमालाई ख्याल गर्न थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे । ‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’ पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, ’थापाले भने, ‘ कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए ।  सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोस पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्टे समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सिइओलाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’  चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरितका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहो¥याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने । थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’थापाले भने । नागरिकको जनजीविकामा गम्भीरता खै ? कांग्रेस सभापति थापाले आम नागरिकको जनजिविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ । ययसका लागि सरकारले काम गरोस् ।’  ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढेको बताउँदै भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए । ‘पम्प लगाएर सिँचाई गर्ने किसानलाई इन्धनको मूल्यवृद्धिले असर गरेको छ । मलको व्यवस्थापन हुन सकेको छैन । निर्माण क्षेत्रमा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार जिम्मेवार बनोस् हामी सहकार्य गर्न तयार छौं ।’ सहकारीबाट पीडित बनेकाहरुलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए । स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले आग्रह गरे । ‘स्वास्थ्य बिमा हामीले सुरु गरेको हो,’ थापाले भने, ‘ अहिले थला परेको छ । सरकारले व्यवस्थित गरोस् ।’   सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाई गर्दा सिमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवदेनशील बन्न आग्रह गरे । जनजिविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए । थापाले भने, ‘प्रधानमन्त्री तपाइँ कहाँ हुनुहुन्छ । हामी छलफल गर्न चाहान्छौं ।’ संविधान संशोधनलाई खेलाँची नठान कांग्रेस सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२को संविधानमा नेपालीको भावना जोडिएको बताए । ‘संविधानमा कतिपय नचाहेका विषय पनि छन् । संशोधन गर्नुपर्ने छ, थापाले भने, ‘हेक्का रहोस् यो भावनासँग जोडिएको विषय हो । ’ संविधान संशोधनलाई खेलाँचीको विषय नबनाओस् ।  ‘दुई चार जना बसेर संविधान संशोधन हुन सक्दैन,’ थापाले भने, ‘सरकारले ढंग पु¥याएको छैन ।’ विविधता भएको समाजका भावनालाई ठिक ढंगले संवोधन गरिएन भने दुर्घटना हुन सक्ने भन्दै संविधान संशोधनको बहसमा कांग्रेसको पनि सरोकार भएको बताए । भदौ २४को दोषीलाई कारबाहीको माग कांग्रेस सभापति गगन थापाले भदौ २४को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पुर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४को घटना पनि छानविन हुनुपर्छ ।’  ‘भाद्र २४मा सबैभन्दा धनजनको क्षति पुगेको छ,’ सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सुशासनमा गम्भीर बन थापाले शुसासनका मामलामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानविन गर्न सरकारले गठन गरेको आयोगको क्षेत्राधिकार प्रष्ट हुनुपर्ने बताए । सुशासनको विषयमा गल्ती गरेको भए परीक्षामा उत्रिन आँफू तयार भएको बताउँदै प्रधानमन्त्री र सरकारका मन्त्री यो परीक्षामामा सहभागी हुन तयार होकी होइन ? भनेर प्रश्न गरे । मन्त्रीहरुको विषयमा उठेका प्रश्नको विषयमा छानविन हुनुपर्ने थापाले बताए ।  ‘मन्त्रीहरुका सम्पत्ति विवरणमा वैघ स्रोत के हो ? परिवारले कहाँबाट आर्जन ग¥यो ? प्रश्न हुनुपर्ने बताउँदै थापाले सम्पत्ति वैध ढंगले सम्पत्ति कमाउने अधिकार सबैसँग भएको बताए ।