इनड्राइभको ‘अरोरा भेन्चर्स’ घोषणा, महिला उद्यमीलाई लगानी र नेटवर्कसँग जोड्ने
काठमाडौं । इनड्राइभले महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार महिला संस्थापकहरूले लगानी जुटाउने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेका थिए, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ मा भने उक्त अवार्डमा ११६ आवेदन मात्र परेको थियो । ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो । कम्पनीले ‘अरोरा टेक अवार्ड’बाट पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा यो कार्यक्रम तयार गरिएको जनाएको छ । अध्ययनअनुसार मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारमा महिला नेतृत्व भएका व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालिएको छ । १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी अध्ययनले लगानी जुटाउने क्रममा महिला उद्यमीहरूले अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ । अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका स्टार्टअपमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको छ । उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिने कम्पनीले जनाएको छ । अरोरा भेन्चर्सकी प्रमुख इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा पर्याप्त अवसर नपुगेकाले यस्तो पहल आवश्यक भएको बताइन् । इनड्राइभका चीफ ग्रोथ बिजनेसेस अफिसर एन्ड्रिज स्मिटले कम्पनीले सुरुवाती चरणमा भोगेको संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको उल्लेख गरे । उनले ‘अरोरा भेन्चर्स’लाई परोपकार मात्र नभई आफ्नै अनुभवबाट सिकिएको विश्वासको निरन्तरता भएको बताए । कम्पनीका अनुसार सन् २०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । भविष्यमा औपचारिक फण्ड संरचना विकास गर्ने तयारी पनि अघि बढाइनेछ । नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि यस प्रकारका कार्यक्रमले महिला उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता र नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ ।
२३५ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा थ्री स्टार हाइड्रो, सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचल फन्डको सूचक घटेकाे छ ।
सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, आजै नियुक्त हुनसक्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि तीनजना उम्मेदवारको नाम सिफारिस भएको छ । अध्यक्ष छनोट सिफारिस समितिले तीनजनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेकाे छ । स्रोतका अनुसार धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सिफारिस भएको छ । संक्षिप्त सूचीमा परेका आवेदकहरूसँग जेठ ८ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएपछि समितिले अन्तिम तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो । यसअघि प्रारम्भिक छनोटको पहिलो नम्बरमा रहेका बोर्डका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी भने अन्तिम सिफारिसमा नपरेकाे बुझिएको छ । उनी पनि चारजनाभित्र सर्टलिष्टमा परेका थिए । नयाँ अध्यक्ष चयनका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ३ बमोजिम गठित समितिले गत वैशाख १५ गते आवेदन माग गरेको थियो । तोकिएको समयावधिभित्र आवेदन दिने ४७ जना प्रतिस्पर्धीमध्येबाट समितिले संक्षिप्त सूची तयार पारी यो चरणसम्म आइपुगेको हो । सिफारिस गरिएका नामहरूमध्येबाट एक जनालाई नयाँ अध्यक्ष नियुक्त गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार दिउँसो साढे ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सम्भवतः आजै धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ । को हुन् तीन जना ? बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्यले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । उनी बोर्डबाट छिट्टै अवकास हुँदैछन् । उनले धितोपत्र बोर्डमा लामो समय व्यवस्थापन विभागमा रहेर काम गरेका छन् भने नियमन र सुपरिवेक्षणमा पनि दख्खल राख्छन् । मुकुन्द क्षेत्री नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट २०८१ चैतमा अवकाश भएका थिए । उनले राष्ट्र बैंकका तर्फबाट नेपाल स्टक एक्सचेन्जको सञ्चालक भएर पनि काम गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र बीकम गरेका उनले बेलायतको ब्राडफोर्ड युनिभर्सिटीबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गरेका छन् । डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनले ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी सेयरविज्ञका रूपमा पनि परिचित छन् ।
प्रहरी प्रधान कार्यालयमा पुगे जगतगुरू शंकराचार्य
काठमाडौं । जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन गरेका छन् । सोमबार जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपणसमेत गरेका थिए । अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित ‘शिव शम्भू’ (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरेका थिए । सो अवसरमा जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिएका थिए । उनले सत्य, सेवा, सुरक्षणम्को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा कृतज्ञता व्यक्त गरे । प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरीलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उनको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताए । आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहिमार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उनले व्यक्त गरे । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताए ।
पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
चितवन । ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ)विशेषज्ञहरुले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा. सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए । उनले भने, 'पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ ।' उनले घाँटीको अगाडि तलपट्टि हुने सानो ग्रन्थीलाई थाइराइड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिए । उनले भने, 'यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ ।' थाइराइड हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने डा खतिवडाको भनाइ छ । थाइराइड हर्मोन कमी भएमा केही लक्षणहरु देखिने भन्दै उनले हर्मोन बढी हुँदा केही किसिमका लक्षणहरु देखिने बताए । उनले भने, 'थाइराइड ग्रन्थी कहिलेकाहीँ आफैँ दुख्ने समस्या पनि आउँछ । थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरहरुमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो ।' थाइराइड बढ्यो भने आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुने देखिने बताउँदै डा. खतिवडाले भने, 'यसलाई दुब्लाउने थाइराइड भनेर चिनिन्छ । यसमा टी थ्री, टी फोर भन्ने हर्मोन बढेको हुन्छ भने टिएसएच घटेको हुन्छ ।' उनले यस्ता बिरामीलाई थाइराइड हर्मोन घटाउने औषधि दिनुपर्ने बताए । घाँटी दुख्दैमा थाइराइड नहुने भन्दै उनले कहिलेकाहीँ थाइराइड क्यान्सरमा परिणत हुन सक्ने बताए । उनले भने, 'घाँटीमा गाँठागुँठी जस्ता लाग्यो भने त्यसको अल्ट्रासाउन्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउनु पर्छ । कहिलेकाहीँ ट्युमरको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउनुपर्छ ।' यदि क्यान्सर पहिचान भयो भने शल्यक्रिया र रेडियोथेरापी गरेर निको पार्न सकिने उनको भनाइ छ । पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी महिलाहरुमा धेरै थाइराइडको समस्या हुने बताउँछन् । साधारणतया मानिसहरुलाई थाइराइड हर्मोन घट्ने र बढ्ने समस्या हुने जनाउँदै उनले भने, 'जब शरीरमा थाइराइड हर्मोन कम हुन्छ (घट्छ), तब टिएसएच परीक्षण गर्दा बढेर आउँछ । यसलाई हामीले घट्ने थाइराइड भन्छौँ । अथवा टी थ्री, टी फोर घटेको हुन्छ, अर्थात् नर्मलभन्दा तल हुन्छ । यस्तो थाइराइडलाई सुस्त हुने अथवा मोटाउने थाइराइड भनेर पनि चिनिन्छ ।' यसले केहीलाई थकाइ लाग्ने कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्ने समस्या पनि आउन सक्ने उनले बताए । उनले भने, 'थाइराइडको समस्या छ भने दैनिक बिहान एक घुट्की पानीसँग एउटा चक्की औषधि खाएमा राम्ररी नियन्त्रणमा आउँछ ।' महिलाहरुमा प्रसूतिदेखि लिएर २५ देखि ५० वर्षको उमेरमा बढी थाइराइड देखिने उनको भनाइ छ । उनका अनुसार महिनावारी बन्द हुनेभन्दा अगाडिको समयमा थाइराइड हर्मनको धेरैजसोमा कमी देखिने गर्दछ । इन्डोक्राइमोलोजिष्ट (मधुमेह, थाइराइड र हर्मन रोग विशेषज्ञ) डा. उमनाथ अधिकारी महिलाहरुमा थाइराइड बढी देखिने भन्नुको कारण अटो इम्युनिटी बढी हुने बताउँछन् । उनले पुरुषको तुलनामा अटो इम्युनिटी बढी हुने भएकाले महिलाहरुमा थाइराइड बढी देखिने बताए । महिलाहरुमा अटो इम्युनिटीले बाथरोगहरु धेरै देखिने भन्दै उनले पुरुषमा कम देखिने बताए । उनले भने, 'थाइराइड बढेपछि महिनावारी गडबढ हुन्छ । महिलाहरुमा अटो इम्युनिटीका कारण हर्मोनले थाइराइडको मात्रा बढी हुन्छ ।' महिलाहरुमा शरीर, दुख्ने, शरीर गल्ने र मोटाउने जस्ता लक्ष्यण थाइराइडले देखाउने उनको भनाइ छ । रासस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
काठमाडौं । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ । समुद्रको गहिराइमा वैज्ञानिकहरूद्वारा नियन्त्रित पनडुब्बीमार्फत गरिएको अवलोकनका क्रममा यो अक्टोपस पहिलो पटक देखिएको थियो । समुद्रजत्तिकै नीलो देखिने र आकारमा गल्फ बलभन्दा पनि ठूलो नभएको यो जीव देख्नेबित्तिकै एक वैज्ञानिकले उत्साहपूर्वक ‘ऊ सानो छ ! यो नीलो छ !’ भन्दै प्रतिक्रिया दिएको भिडियोमा रेकर्ड भएको थियो । चार्ल्स डार्विन फाउन्डेसनको टोलीले पत्ता लगाएको यस नयाँ प्रजातिबारेको अनुसन्धान सोमबार सार्वजनिक गरिएको हो । अक्टोपससम्बन्धी विज्ञ जेनेट भ्वाइटका अनुसार पहिलो दृश्य हेर्नेबित्तिकै उनलाई यो अत्यन्तै विशेष जीव भएको अनुभूति भएको थियो । अनौठो प्रजातिको पहिचान गर्न आग्रह गरिएपछि उनले यसको अध्ययन सुरु गरेका थिए । सुरुमा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका क्युरेटरहरूले उक्त जीवको तस्बिर र विवरणको अध्ययन गरेका थिए । त्यसपछि संरक्षित नमूना हुलाकमार्फत उनीसम्म पुगेको थियो । नमूना प्राप्त गरेपछि उनी चकित भएका थिए । उनका अनुसार त्यो जीव निकै आकर्षक र असाधारण देखिन्थ्यो । यो प्रजातिप्रति उनको रुचि तत्काल बढ्नुको एउटा कारण यसको सबैभन्दा नजिकको ज्ञात प्रजाति उरुग्वेको तटमा, दक्षिण अमेरिकाको अर्कै समुद्री क्षेत्रमा बसोबास गर्ने तथ्य पनि थियो । यसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति, विकास र वितरणबारे थप प्रश्न उठाउन प्रेरित गरेको छ । सामान्यतया नयाँ अक्टोपस प्रजातिको वैज्ञानिक विवरण तयार गर्न यसको शरीरको नमूना काटेर मुख, चुच्चो, दाँत तथा अन्य आन्तरिक संरचनाको परीक्षण गरिन्छ । तर यसपटक अनुसन्धानकर्ताहरूसँग एउटा मात्र नमूना भएकाले त्यसलाई काटेर जोखिम मोल्न उनीहरू इच्छुक थिएनन् । त्यसको विकल्पस्वरूप फिल्ड म्युजियमको टोलीले आधुनिक प्रविधिको सहारा लिएको थियो । सीटी स्क्यान प्रयोग गरी हजारौँ एक्स–रे तस्बिरहरू तयार गरियो र ती सबैलाई संयोजन गरेर अक्टोपसको विस्तृत त्रिआयामिक (३डी) मोडेल बनाइयो । यस प्रक्रियाले बाह्य संरचना बिगार्नुपर्ने आवश्यकता बिना नै यसको भित्री बनावट अध्ययन गर्न सम्भव बनायो । फिल्ड म्युजियमको एक्स–रे प्रयोगशालाकी प्रमुख स्टेफनी स्मिथले कुनै पनि व्यक्तिले पहिले कहिल्यै नदेखेको जीवको भित्री संरचना अवलोकन गर्दै दिन बिताउनु विशेष अनुभव हुने बताएका थिए । वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन् । यो प्रजाति आफ्नो नीलो रङका कारण विशेष रूपमा चिनिएको छ, किनभने प्रकृतिमा यस्तो रङ अपेक्षाकृत दुर्लभ मानिन्छ । अनुसन्धानअनुसार यो अक्टोपस सम्भवतः मेगालेडोनिडे परिवारसँग सम्बन्धित देखिन्छ । यस परिवारका सदस्यहरू प्रायः आकारमा धेरै ठूला हुन्छन् र अन्टार्कटिका आसपासको दक्षिणी महासागरमा पाइन्छन् । तर नयाँ प्रजाति भने सानो आकारको छ र फरक वातावरणमा भेटिएको छ । भ्वाइटका अनुसार यसको शरीरमा देखिने जिद्दी साना हात, प्रत्येक हातमा रहेको केवल एक पङ्क्तिको चुस्ने संरचना र पछाडिको सतहमा रहेको चिल्लो छालाले यसलाई धेरैजसो परिचित अक्टोपसहरूबाट अलग बनाउँछ । छोटा हात र एकल चुस्ने पङ्क्ति भएका अन्य प्रजातिसँग तुलना गर्दा पनि यसको रङ र छालाको बनावटले यसलाई विशिष्ट बनाएको उनले बताए । रङको बनावट पनि रोचक देखिएको छ । यसको माथिल्लो भाग हल्का नीलो देखिन्छ भने तल्लो भाग निकै गाढा बैजनी रङको रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूको अनुमानमा यो रङ संयोजनले जीवलाई गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्दत गर्छ । भ्वाइटका अनुसार यदि अक्टोपसले प्रकाश उत्सर्जन गर्ने कुनै शिकार समात्यो भने त्यसबाट निस्कने उज्यालोले ठूला शिकारीलाई आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अक्टोपसले आफ्नो गाढा रङयुक्त भाग प्रयोग गरेर शिकारमाथि छोप्ने सम्भावना हुन्छ, जसले आफैँलाई शत्रुबाट जोगाउन सहयोग पुर्याउँछ । वैज्ञानिकहरूले अझै पर्याप्त अध्ययन हुन नसकेका समुद्री क्षेत्रहरूमा गहिरो समुद्रका नयाँ अक्टोपस प्रजाति भेटिनु पूर्ण रूपमा असामान्य नभएको बताएका छन् । पृथ्वीको विशाल समुद्री भूभागको ठूलो हिस्सा अझै विस्तृत रूपमा अन्वेषण हुन बाँकी रहेको उनीहरूको भनाइ छ । यस सन्दर्भमा भ्वाइटले पृथ्वीको सम्पूर्ण स्थलीय भूभागलाई एकै ठाउँमा जोड्दा पनि प्रशान्त महासागर पूर्ण रूपमा नढाकिने उल्लेख गर्दै समुद्री गहिराइ कति विशाल र अझै अनपेक्षित रहस्यले भरिएको छ भन्ने कुरा औँल्याए । उनले पछिल्लो पटक सन् २०२३ मा कोस्टा रिकाको तट नजिक नयाँ अक्टोपस प्रजाति अवलोकन गरिएको जानकारी पनि दिए । हाल चर्चामा रहेको यो नीलो अक्टोपस भने पहिलो पटक सन् २०१५ मा डार्विन टापु नजिक देखिएको थियो । उक्त टापुको नाम ग्यालापागोस भ्रमणबाट विकासवादको सिद्धान्त निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अङ्ग्रेजी वैज्ञानिक चार्ल्स डार्विनको नाममा राखिएको हो । यस नयाँ प्रजातिसम्बन्धी विस्तृत अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल जुटाक्सामा प्रकाशित गरिएको छ । रासस
तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी
दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ । श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिए । रासस