यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७४ पैसा र बिक्रीदर चार रुपैयाँ ७६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा , ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
वीरगञ्ज नाकाबाट आयात १५.३० प्रतिशत बढ्यो, ६ महिनामा ४ खर्ब ३८ अर्बको सामान भित्रियो
काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ का वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब ३ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब १ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल आयात भएको छ । सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँ पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् ।
प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार सुजित श्रेष्ठले २६ हजार ३५१ कित्ता, बाबुराम महर्जनले २ हजार १९ कित्ता, सुरेश प्रसाद चौधरीले २ लाख ३८ हजार ४२० कित्ता, हरि प्रसाद शर्माले ६ हजार ४६१ कित्ता, जीवन काजी माकजु श्रेष्ठले ३७ हजार ९१९ कित्ता, दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता, हरिहर प्रसाद भण्डारीले ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, अञ्जना भण्डारीले ६ हजार ६४० कित्ता, राजकुमार थापाले १७ हजार २३४ कित्ता, बिनोद थकालीले २ लाख कित्ता, प्रविण कुमार श्रेष्ठले १४ हजार २१८ कित्ता, अनन्त अग्रवालले १ लाख ७ हजार २२० कित्ता र दिपक प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
भुजुङ्ग हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, ५० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले आज माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
सन् २०२६ मा बङ्गलादेशको कुल गार्हस्थ उत्पादन ५ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौं । बङ्गलादेश योजना मन्त्रालयको आइतबार जारी सन् २०२६ जनवरीको अद्यावधिक आर्थिक समीक्षाले सन् २०२६ मा बङ्गलादेशको अर्थतन्त्र करिब ५ प्रतिशतको दरले वृद्धि हुने अनुमान गरिएको छ । बङ्गलादेश योजना आयोगको सामान्य वित्त विभागले तयारी गार्मेन्ट क्षेत्रमा अर्थतन्त्रको अत्यधिक निर्भरता कम गर्न दिगो वृद्धिका लागि बलियो शासन, सुसङ्गत नीति तथा सीप र प्रविधिमा लगानी बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । बङ्गलादेशले अल्पविकसित देशको स्थितिबाट माथि उठ्ने र लोकतान्त्रिक संक्रमणकालमा अघि बढ्ने गर्ने क्रममा राजनीतिक स्थिरता, संस्थागत र प्राविधिक सुधारलाई अपनाउन महत्वपूर्ण रहेको प्रतिवेदनमा जोड दिइएको छ । रिपोर्टले सम्भ्रान्तहरू बीचको आर्थिक अनिश्चितता र संस्थागत कमजोरीहरू दीर्घकालीन वृद्धिको लागि प्रमुख जोखिम भएको बताएको छ। दिगो विकास लक्ष्यहरूतर्फ प्रगति सुस्त रहेको अवस्थामा प्रतिवेदनले दिगो स्थानीय विकासका उपलब्धिहरू प्राप्त गर्न गाउँस्तरीय हस्तक्षेपहरूको समर्थनमा प्रमाणमा आधारित नीति निर्माणको आवश्यकतालाई जोड दिएको छ।
बेइजिङ-अबुधाबी सिधा उडान सुरु, सन् २०२६ मा पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा
काठमाडौं । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइन्सद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो । बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो । मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ। एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।
बैंकका कर्मचारीलाई कुट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका संग्रौला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद संग्रौलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झापाको अर्जुनधारा नगरपालिका-११ घर भएका ४४ वर्षीय संग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । प्रहरी समक्ष बयान दिने क्रममा संग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने र श्रव्य दृश्य सामग्री प्रसारण गर्ने माथि निगरानी बढाएको छ ।
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
काठमाडौं । पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्ष अघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्याङजाको वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । ‘पुरानो पुस्ता गोल घरका बारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नु भएकै पनि होला,’ उनले भने, ‘समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यस प्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराका बारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।’ बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सह-कोषाध्यक्ष एवं गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ । ‘कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ । घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जाँतो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डो लगायतका सामग्री राखेर सजाइने छ,’ उनले भने । घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ । घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक २/२ वर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।