काठमाडौं । डुलक्स पेन्ट्सको व्यापारबाट व्यावसायिक यात्रा सुरु गरेको ब्रजेश्वरी ओभरसिज प्रालि पछिल्लो समय मिठाईजन्य वस्तु तथा चुइङ्गमको वितरण व्यवसायमा केन्द्रित भएको छ । व्यवसायको स्वरूप परिवर्तन गर्दै अन्तर्राष्ट्रिय ब्रान्डका उपभोग्य वस्तुको वितरणमा प्रवेश गरेको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ७७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीको यो आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०.५७ प्रतिशत अर्थात् ३० करोड २० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले एक अर्ब ४६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । मिठाईजन्य वस्तु तथा चुइङ्गमको वितरण व्यवसायमा केन्द्रित भएपछि बजार विस्तार र बिक्री वृद्धिमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले बजारीकरणका गतिविधि तीव्र बनाउनुका साथै बजारमा नक्कली उत्पादनको प्रभाव घटाउने प्रयास गरेको छ । यसले वास्तविक ब्रान्डका उत्पादनको बजार उपस्थिति बलियो बनाउन र बिक्री आम्दानी बढाउन सहयोग पुगेको कम्पनीको भनाइ छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २५ करोड ९० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
आम्दानीसँगै कम्पनीको सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २.५७ प्रतिशत रहेको ब्याज, कर, मूल्यह्रास तथा अमोर्टाइजेसनअघिको सञ्चालन मुनाफा अनुपात गत आर्थिक वर्षमा बढेर ३.२६ प्रतिशत पुगेको छ । त्यस्तै, शुद्ध नाफा अनुपात पनि ०.४३ प्रतिशतबाट बढेर ०.८० प्रतिशत पुगेको छ ।
सन् २०१६ अक्टोबरमा स्थापना भएको ब्रजेश्वरी ओभरसिजले सुरुमा डुलक्स पेन्ट्सको व्यापार गर्दै आएको थियो । कम्पनीले सन् २०२४ देखि व्यावसायिक रणनीति परिवर्तन गर्दै द्रुत गतिमा बिक्री हुने उपभोग्य वस्तु (एफएमसीजी) को क्षेत्रमा प्रवेश गरेको हो ।
हाल कम्पनी नेपालमा परफेट्टी भ्यान मेलका सम्पूर्ण उत्पादनको राष्ट्रिय वितरकका रूपमा कार्यरत छ । ह्याप्पिडेन्ट, सेन्टर फ्रुट र अल्पेनलिबे लगायतका लोकप्रिय उत्पादन नेपाली बजारमा वितरण गर्ने जिम्मेवारी कम्पनीले पाएको छ ।
पेन्ट्सको व्यापारबाट सुरु भएको कम्पनीको व्यावसायिक यात्रा पछिल्लो समय अन्तर्राष्ट्रिय खाद्य तथा उपभोग्य वस्तुको वितरणसम्म विस्तार भएको छ । कम्पनीका एकल सेयरधनी शत्रुधन प्रसाद ढकाल हुन् । कम्पनीको सम्पूर्ण सेयर स्वामित्व उनकै नाममा रहेको छ ।
ब्रजेश्वरी ओभरसिज आबद्ध ब्रजेश्वरी समूहअन्तर्गतको ब्रजेश्वरी ट्रेडिङ युनिटले विद्युतीय सामग्री तथा घरायसी उपकरणको आयात र व्यापार गर्दै आएको छ । त्यस्तै, ब्रजेश्वरी इन्डस्ट्रिज प्रालि शिशुका लागि प्रयोग हुने पुल–अप डायपरको उत्पादन तथा व्यापारमा संलग्न छ ।
कम्पनीको आम्दानी र नाफामा सुधार देखिए पनि चालु पुँजी व्यवस्थापनमा भने चुनौती थपिएको छ । ग्राहकबाट रकम संकलन गर्न लाग्ने समय र मौज्दात व्यवस्थापन अवधि बढेपछि कम्पनीको सञ्चालन चक्र लामो भएको छ । अघिल्लो आर्थिक वर्षमा १०५ दिन रहेको कम्पनीको सञ्चालन चक्र गत आर्थिक वर्षमा बढेर १४६ दिन पुगेको छ । ग्राहकबाट रकम संकलन गर्न लाग्ने औसत अवधि ९२ दिनबाट बढेर १३५ दिन पुगेको छ । त्यस्तै, मौज्दात व्यवस्थापन अवधि पनि ३७ दिनबाट बढेर ५१ दिन पुगेको छ ।
ग्राहकबाट बिक्री भएको रकम समयमै उठ्न नसक्नु र मौज्दात लामो समयसम्म राख्नुपर्ने अवस्थाले कम्पनीको नगद प्रवाहमा दबाब सिर्जना गरेको छ । यद्यपि, आपूर्तिकर्तालाई भुक्तानी गर्न लाग्ने अवधिमा भएको वृद्धिले केही राहत दिएको छ । अघिल्लो आर्थिक वर्षमा २३ दिन रहेको भुक्तानी अवधि गत आर्थिक वर्षमा बढेर ४० दिन पुगेको छ । यसले ग्राहकबाट रकम उठाउन र मौज्दात व्यवस्थापन गर्न लाग्ने लामो अवधिको प्रभावलाई केही हदसम्म सन्तुलन गरेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९१ करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ । जसमा १३ करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र ७८ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
ब्रजेश्वरी ओभरसिजको व्यवसायमा अर्को प्रमुख चुनौती नेपाली बजारमा बढ्दै गएको नक्कली तथा प्रतिलिपि खाद्य उत्पादनको उपस्थिति हो । परफेट्टी भ्यान मेलका उत्पादनसँग मिल्दोजुल्दो देखिने वस्तु बजारमा आउँदा उपभोक्तामा अन्योल सिर्जना हुनुका साथै वास्तविक उत्पादनको बिक्रीसमेत प्रभावित हुने जोखिम छ ।
नक्कली उत्पादनले वास्तविक ब्रान्डको बजार हिस्सा घटाउनुका साथै उपभोक्ताको विश्वास र ब्रान्डको प्रतिष्ठामा असर पार्न सक्ने मूल्याङ्कन गरिएको छ । यसको प्रभाव तत्कालीन बिक्रीमा मात्र सीमित नभई दीर्घकालीन रूपमा कम्पनीको नाफा र वित्तीय स्थायित्वमा समेत पर्न सक्छ ।
कम्पनीले बजारीकरणका गतिविधि तीव्र बनाएर नक्कली उत्पादनको प्रभाव घटाउने प्रयास गरिरहेको छ । यसका साथै परफेट्टी भ्यान मेलले नेपालमै आफ्नै उत्पादन कारखाना स्थापना गर्नुले पनि उक्त जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमै उत्पादन सुरु भएपछि आपूर्ति शृङ्खलामाथिको नियन्त्रण बलियो हुने, वितरण प्रणालीको निगरानी प्रभावकारी बन्ने र बजारमा आधिकारिक उत्पादनको उपलब्धता बढ्ने अपेक्षा गरिएको छ । यसले नक्कली उत्पादनको प्रसार नियन्त्रण गर्न तथा वास्तविक ब्रान्डको बजार उपस्थिति कायम राख्न सहयोग पुग्न सक्छ ।