गाउँपालिकाका ६२ अध्यक्ष : जो अब बन्न पाउने छैनन् उम्मेदवार

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा देशभरका ६२ पालिकाका अध्यक्ष उम्मेदवार बन्न नपाउने भएका छन् । संविधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्थासँगै दोस्रो कार्यकालमा निर्वाचित भइसकेकाहरू पुनः उम्मेदवार बन्न नपाउने भएका हुन् ।

संविधानको धारा २१५ को उपधारा ७ अनुसार अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भइसकेको व्यक्ति सोही पदमा उम्मेदवार हुन पाउँदैन ।

यस व्यवस्थाले २०७४ र २०७९ को निर्वाचनमा एउटै गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका जनप्रतिनिधिका लागि २०८४ को निर्वाचनमा तेस्रो पटक प्रतिस्पर्धा गर्ने बाटो बन्द गरेको हो । 

संघीयताका जानकार अधिवक्ता रमेश काफ्लेका अनुसार दुई कार्यकाल लगातार पूरा गरेको हुनुपर्ने सर्त संविधानमा छैन । त्यसैले बीचमा एक कार्यकाल विश्राम लिएर पुनः अध्यक्ष निर्वाचित भएको अवस्थामा पनि दुई कार्यकालको सीमा पूरा भएको मानिन्छ ।

तर, अहिले दुईपटक मात्रै स्थानीय तहको निर्वाचन भएकोले पछिल्ला दुई निर्वाचनमा निर्वाचित भएकाले अहिले लगातार निर्वाचित पदाधिकारी बुझिने काफ्लेको भनाइ छ ।

संविधानको धारा २१५ को उपधारा ७ मा भनिएको छ,‘अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन ।’  यो व्यवस्थाले अध्यक्षका लागि कार्यकालको अधिकतम सीमा तोकेको छ । 

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा अध्यक्ष निर्वाचित भएका र २०७९ मा पुनः सोही पदमा निर्वाचित भएका जनप्रतिनिधिले अब तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । यसको उदाहरण सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह पनि हुन् । उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, २०७९ को निर्वाचनमा पनि पुनः अध्यक्षमा निर्वाचित भएका थिए ।

संविधानको व्यवस्थाअनुसार उनी पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने जनप्रतिनिधिको सूचीमा पर्छन् । दुई कार्यकालको सीमा लगातार निर्वाचित भएकोमा मात्रै लागू हुने नभई अध्यक्ष पदमा दुईपटक निर्वाचित भएको अवस्थासँग सम्बन्धित छ । 

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल पनि आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । उनीहरूको पनि दुई कार्यकाल पुरा भइसकेको छ । 

उपाध्यक्षलाई भने तेस्रो कार्यकालको बाटो खुला

गाउँपालिका अध्यक्षका लागि दुई कार्यकालको सीमा तोकिए पनि उपाध्यक्षका लागि संविधानले त्यस्तो बन्देज लगाएको छैन । धारा २१५ को उपधारा ७ मा अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्तिलाई मात्रै उम्मेदवार हुन रोक लगाइएको छ ।

उपाध्यक्षका हकमा दुई कार्यकालपछि उम्मेदवारी दिन नपाउने व्यवस्था छैन । यसअनुसार २०७४ र २०७९ दुवै निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका जनप्रतिनिधिले २०८४ मा पनि सोही पदमा उम्मेदवारी दिन सक्नेछन् । उनीहरूले संविधान र प्रचलित निर्वाचन कानुनले तोकेका अन्य योग्यता पूरा गरेको अवस्थामा तेस्रोपटक मात्रै होइन, त्यसपछिका निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नगरपालिकाको हकमा पनि संविधानले यस्तै व्यवस्था गरेको छ । धारा २१६ को उपधारा ७ ले नगरपालिकाको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्तिलाई नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । तर, उपप्रमुखका लागि भने कार्यकालको सीमा तोकिएको छैन । यसरी संविधानले गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखका लागि मात्रै दुई कार्यकालको सीमा निर्धारण गरेको छ । उपाध्यक्ष र उपप्रमुखका हकमा भने यस्तो बन्देज राखिएको छैन ।

संविधानको धारा २१५ को उपधारा ७ मा प्रयोग गरिएको शब्दावलीले अर्को कानुनी प्रश्न पनि उठाएको छ । उक्त व्यवस्थामा दुई कार्यकाल अध्यक्ष निर्वाचित भएको व्यक्तिले गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन भनिएको छ । यसमा सोही गाउँपालिकाको अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिन नपाउने भनेर सीमित गरिएको छैन । 

संविधानमा उक्त विषय नलेखिए पनि संविधानको मर्म कुनै व्यक्ति दुई कार्यकालभन्दा धेरै निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनैन् भन्ने रहेको बताउँछन् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा । संविधान सभा सदस्य समेत रहेका देवकोटा भन्छन्, ‘कानुनको स्पिरिट दुई कार्यकाल नै हो । यसमा थप व्याख्या आवश्यक पर्दैन ।’

देवकोटाका अनुसार व्यवस्थाको शाब्दिक अर्थले दुई कार्यकाल अध्यक्ष निर्वाचित भइसकेको व्यक्तिलाई गाउँपालिकाको निर्वाचनअन्तर्गतका अन्य पदमा समेत उम्मेदवार हुन रोक लगाएको देखिन्छ । अर्थात् त्यस्तो व्यक्ति तेस्रोपटक अध्यक्ष मात्रै होइन, उपाध्यक्ष वा वडाध्यक्षलगायत पदमा पनि उम्मेदवार हुन नपाउने व्याख्याको आधार रहन्छ ।

विशेषगरी २०७४ र २०७९ मा अध्यक्ष तथा प्रमुख निर्वाचित भएका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कुन पदमा उम्मेदवार बनाउन पाइन्छ भन्ने विषय राजनीतिक दल र निर्वाचन व्यवस्थापन गर्ने निकायका लागि महत्त्वपूर्ण बन्ने राजनीतिक विश्लेषक अधिवक्ता परसुराम घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार निर्वाचन आयोगले संविधानको धारा २१५ को उपधारा ७ र धारा २१६ को उपधारा ७ को कार्यान्वयनबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ । ‘दुई कार्यकाल निर्वाचित भएका अध्यक्ष र प्रमुखको उम्मेदवारी परीक्षण गर्दा निर्वाचन अधिकृतले अपनाउनुपर्ने प्रक्रिया तथा अर्को पालिकामा उम्मेदवारी दिन पाउने-नपाउने विषयमा पनि स्पष्टता आवश्यक छ,’ घिमिरेले भने ।

संविधानको धारा २१५ को उपधारा ६ ले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने व्यवस्था गरेको छ । तर त्यसपछिको उपधारा ७ ले अध्यक्षका लागि दुई कार्यकालको अधिकतम सीमा तोकेको छ । नगरपालिकाको हकमा धारा २१६ मा पनि यस्तै व्यवस्था छ । आयोग यस विषयमा छलफलमा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

उनका अनुसार निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको पूर्वतयारीमै रहेकाले उठेका विषयमा अध्ययन गर्दैछ । यसले स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल र पुनः उम्मेदवार बन्न पाउने योग्यतालाई फरक संवैधानिक आधारमा निर्धारण गरेको छ । 

दुईपटक अध्यक्ष वा प्रमुख निर्वाचित भएकाहरूका लागि आगामी निर्वाचनमा प्रतिस्पर्धाको ढोका बन्द हुने भए पनि दुई कार्यकाल उपाध्यक्ष वा उपप्रमुख भएका जनप्रतिनिधिका लागि भने तेस्रोपटक उम्मेदवार बन्ने बाटो खुला रहनेछ ।

६२ गाउँपालिका अध्यक्षलाई २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एउटै गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकाले नेपालको संविधानले तेस्रोपटक प्रतिस्पर्धा गर्न रोक लगाएको छ ।

यसरी उम्मेदवारीमा बन्देज लाग्ने जनप्रतिनिधिमा गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा, धुर्कोटका भुपाल पोखरेल, सर्लाहीको धनकौलका रामआश्रय साह, सिराहाको सखुवानन्कारकट्टीका केदारनाथ यादव र मुगुको मुगुम कार्मारोङका छिरिङ क्याप्ने लामा छन् ।

त्यस्तै, बैतडीको सिगासका हरिसिंह धामी र पञ्चेश्वरका गोरखबहादुर चन्द, डोटीको जोरायलका दुर्गादत्त ओझा तथा केआईसिंहका लोकेन्द्रबहादुर शाही पनि दुईपटक अध्यक्ष निर्वाचित भइसकेका जनप्रतिनिधि हुन् । गण्डकी प्रदेशको तनहुँस्थित ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ पनि यही सूचीमा छन् ।

आगामी स्थानीय निर्वाचनमा प्रदेशगत रूपमा कोशीमा १८, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा १५, लुम्बिनीमा ८, कर्णालीमा २ र सुदूरपश्चिममा ९ जना अध्यक्षले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।

यी हुन् सातै प्रदेशमा दुईपटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका जनप्रतिनिधिहरू

कोशी प्रदेश :

null

मधेश प्रदेश :

null

बागमती प्रदेश :

null

गण्डकी प्रदेश :

null

लुम्बिनी प्रदेश :

null

कर्णाली प्रदेश :

null

सुदूरपश्चिम प्रदेश :

null
अब निर्वाचन लड्न नपाउने ५३ मेयर

Share News