कलेजोका ९० प्रतिशत रोगमा लक्षण देखिँदैन, प्रत्यारोपणमा १५ लाखसम्म खर्च

फ्याटी लिभर र अल्कोहल मुख्य कारण

कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । यसले शरीरमा ५०० भन्दा बढी काम गर्छ । तर, कलेजो रोग लाग्दा सुरुवाती चरणमा प्रायः कुनै लक्षण देखिँदैन । चिकित्सकका अनुसार कलेजोका ९० प्रतिशतभन्दा बढी रोग लक्षणविनै विकसित हुने गर्छन् । यही कारण धेरै मानिसले रोगबारे थाहा पाउँदासम्म कलेजोमा गम्भीर क्षति पुगिसकेको हुन्छ । 

पछिल्लो समय मदिरा सेवनका कारण हुने कलेजो रोगसँगै मदिरा नपिउने व्यक्तिमा पनि फ्याटी लिभरको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । नेपालमा कलेजो रोगको अवस्था, उपचार र यसबाट बच्ने उपायबारे कलेजो रोग विशेषज्ञ डा. पुकार थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

हाल नेपालमा कलेजोसम्बन्धी रोगको अवस्था कस्तो छ ?

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग हो । कलेजोको त्यति नै धेरै कामहरू पनि छन् । जति धेरै काम हुन्छ, त्यति नै बिग्रन सक्ने सम्भावना पनि हुन्छ । तर कलेजो आफै पुनः निर्माण हुने अथवा पलाउने अंग भएकाले सुरुमा त्यति लक्षणहरू नआउने हुँदा हामी त्यसलाई बेवास्ता गर्छौं ।

कलेजोका रोगहरू अहिले बढ्दो क्रममा छन् । सबैभन्दा सामान्य भनेको मदिराजन्य कलेजो रोग हो । त्यसपछि अहिले अझ बढी सामान्य हुँदै गएको रोग फ्याटी लिभर हो । मदिरा सेवन नगर्ने मानिसहरूमा पनि फ्याटी लिभर देखिन्छ । त्यस्तै, भाइरल हेपाटाइटिस र वंशाणुगत अवस्थाका कारण पनि कलेजोमा समस्या हुन्छ ।

कलेजोका रोगहरू पहिलेदेखि नै थिए र अहिले पनि छन् । तर अहिले केही रोगहरू पहिलेभन्दा बढ्दै गएको प्रवृत्ति देखिएको छ ।

फ्याटी लिभर भनेको के हो ? 

फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्नु हो । यो अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ । एउटा मदिरा सेवन गर्ने मानिसहरूमा देखिने अल्कोहोलिक फ्याटी लिभर हुन्छ भने अर्को नन–अल्कोहोलिक फ्याटी लिभर जुन हाम्रो खानपान, रहनसहन, मोटोपना र सँगसँगै हुने उच्च रक्तचाप, मधुमेह तथा कोलेस्टेरोलसँग सम्बन्धित भएर आउन सक्छ ।

त्यो बोसोले कलेजोलाई नराम्रो असर पुर्याउँदै जान्छ र अन्तिममा कलेजो फेल हुने वा कलेजोमा क्यान्सर हुने अवस्थासम्म पुर्याउन सक्छ ।

null

कलेजो रोग विशेषज्ञ डा. पुकार थापा ।

कलेजोमा रोग लागिसकेपछि लक्षण किन देखिँदैन ?

कलेजोको एउटा नराम्रो पक्ष भनेकै लक्षण नदेखिनु हो । हाम्रो कलेजोमा दुखाइ महसुस गराउने स्नायुहरू हुँदैनन् । त्यसैले कलेजोमा क्षति भए पनि दुख्ने हुँदैन ।

कलेजोका जुनसकै रोगमा पनि लक्षण धेरै पछि मात्र देखिन्छ । रोग सुरु भइसकेपछि पनि सुरुमा लक्षण आउँदैनन् । जसलाई एसिम्टोम्याटिक अर्थात् लक्षणविहीन अवस्था भनिन्छ । कलेजो धेरै बिग्रेर फाइब्रोसिस वा सिरोसिस भएको, अथवा क्यान्सर विकसित भएको अवस्थामा मात्रै लक्षणहरू आउँछन् । त्यतिबेला धेरैजसो रोगहरू उपचार गर्न ढिला भइसकेका हुन्छन् ।

कलेजो बिग्रिसकेपछि जन्डिस हुने, थकान महसुस हुने, दुब्लाउँदै जाने, पेट सुन्निने, पेटमा पानी भरिने र रगत बान्ता गर्ने बेहोस हुने जस्ता लक्षणहरु देखिन्छन् । यस्ता समस्या देखिएमा कलेजो अन्तिम अवस्थामा पुगेको, सिरोसिस भइसकेको अर्थात् एन्ड स्टेज लिभर डिजिजको अवस्थामा पुगेको मान्न सकिन्छ । 

कलेजोको क्यान्सरको बारेमा बताइदिनूहोस् न

कलेजोमा पनि धेरै किसिमका क्यान्सर हुन्छन् । त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण प्राइमरी क्यान्सर हेपाटोसेलुलर कार्सिनोमा हो । कलेजोका कोषहरूको क्यान्सरलाई हेपाटोसेलुलर कार्सिनोमा भनिन्छ ।

यो विश्वमा धेरै हुने क्यान्सरहरूमध्ये छैटौं नम्बरमा पर्छ भने मृत्युदरमा तेस्रो नम्बरमा पर्छ । 

कलेजोमा क्यान्सर धेरै कारणले हुन्छ । जस्तै, सिरोसिस भन्ने अवस्था हुन्छ, जसमा कलेजो कडा भएर जान्छ । लामो समयदेखि मदिरा सेवन गरेको अवस्थामा वा लामो समयदेखि फ्याटी लिभर भएको अवस्थामा कलेजो सिरोसिसमा पुग्न सक्छ । सिरोसिस भएपछि क्यान्सर हुन सक्छ ।

त्यस्तै, हेपाटाइटिस बी र हेपाटाइटिस सीजस्ता भाइरसहरूले हाम्रो कलेजोमा सङ्क्रमण गर्छन् । यी सङ्क्रमण पनि धेरैजसो लक्षणविहीन हुन्छन् । यस्तो अवस्थामा लिभर सिरोसिस नभए पनि क्यान्सर हुने सम्भावना हुन्छ ।

कलेजोको क्यान्सर पूर्ण रूपमा निको पार्न कत्तिको सम्भव छ ?  

यो कलेजोको क्यान्सर कुन अवस्थामा र कुन स्टेजमा पत्ता लाग्छ भन्ने कुरामा भर पर्छ । क्यान्सर एकदमै प्रारम्भिक अवस्थामा छ, बिरामीको कलेजोको अवस्था राम्रो छ र क्यान्सर पनि अर्ली स्टेजमा पत्ता लागेको छ भने पूर्ण रूपमा उपचार हुन सक्छ ।

तर कलेजो नै अन्तिम अवस्थामा पुगिसकेको छ र त्यस्तो अवस्थामा क्यान्सर देखियो भने उपचार असम्भव हुन सक्छ । त्यसैले कलेजो कुन अवस्थामा छ, क्यान्सर कुन स्टेजमा पत्ता लागेको छ भन्ने कुरा उपचारका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । सबै क्यान्सर उपचार हुन्छन् भन्ने आवश्यक छैन, तर धेरै क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लागेको खण्डमा पूर्ण रूपमा उपचार हुन सक्छ ।

कलेजोको रोगहरू कुन उमेर र समूहमा बढी पाइएको छ ?

मदिराका कारण हुने सिरोसिस धेरैजसो पुरुष वर्गमा बढी देखिन्छ । यो मध्यम उमेरका मानिसहरूमा, जस्तै ३० देखि ३५, ४० देखि ५०–६० वर्षसम्मको उमेर समूहमा देखिने रोग हो ।

तर अहिले यसको प्रवृत्ति परिवर्तन हुँदै गएको छ । पहिले गरिएको अध्ययनमा पुरुषहरूमा सिरोसिस बढी देखिन्थ्यो । पुरुषहरूले मदिरा बढी सेवन गर्ने र मदिरा सेवन गरेलगत्तै सिरोसिस नभई लामो समयपछि देखिने भएकाले ३० देखि ६० वर्षको उमेरमा यो रोग देखिने गरेको थियो । 

अहिले महिलाहरूमा पनि सिरोसिस बढ्दै गएको छ । महिलाहरूले धेरै मदिरा सेवन गरेको पाइन्छ । त्यसैले अहिले ठ्याक्कै यही समूहमा बढी छ भन्ने स्पष्ट अध्ययन छैन । 

कलेजो रोगको रोकथाम कसरी गर्ने ?

कलेजोमा लक्षण नदेखिने भएकाले मानिसहरूलाई समस्या थाहा हुँदैन । अहिले पनि धेरै बिरामीहरू ढिलो गरी उपचारमा आउँछन् । कलेजोमा ठूलो रोग भित्रभित्रै विकसित भइरहेको हुन सक्छ, तर बाहिरबाट मानिस एकदमै स्वस्थ देखिन सक्छ । बाहिरबाट हेरेर कलेजोमा समस्या छ कि छैन भन्ने थाहा पाउने उपाय भनेको स्क्रिनिङ, निगरानी वा चेकजाँच नै हो । बिस्तारै अहिलेको जनसङ्ख्यामा जनचेतना बढ्दै गएको छ । सञ्चारमाध्यमका कारण पनि मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् ।

कलेजोका ९० प्रतिशतभन्दा बढी रोगहरू कुनै पनि लक्षणबिना रहन्छन् । त्यसैले रोग थाहा पाउने तरिका भनेकै चेकजाँच हो । अहिलेको पुस्तामा सञ्चारमाध्यम र स्वास्थ्यप्रतिको सचेतनाका कारण मानिसहरू आफै पनि कलेजोको अवस्था बुझ्न जाँच गराउन थालेका छन् । 

पहिले अल्ट्रासाउन्डमा फ्याटी लिभर देखिएको, मदिरा बढी सेवन गर्ने वा परिवारमा कलेजोको क्यान्सरको इतिहास भएको व्यक्तिहरू आफै जाँच गर्न आउने क्रम बढेको छ ।

कलेजोको जाँच गराउँदा कति–कति समयमा जाँच गर्ने ?

व्यक्तिको जोखिमअनुसार निर्धारण हुन्छ । जस्तै कसैलाई फ्याटी लिभर छ, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल छ र बीएमआई अर्थात् तौल बढी छ भने त्यस्ता मानिसहरूले छिटो–छिटो जाँच गराउनुपर्ने हुन्छ ।

कलेजोको रोग पहिलेदेखि नै लागेको छ भने अझ नियमित रूपमा जाँच गर्नुपर्छ । कुनै रोग नभएका मानिसहरूले ३० वर्षको उमेरपछि वर्षमा एकपटक कलेजोको अवस्था जाँच गर्दा उपयुक्त हुन्छ । तर मदिरा सेवन गर्ने वा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्तिहरूले त्योभन्दा छिटो जाँच गर्नुपर्ने हुन सक्छ ।

null

मधुमेह र उच्च रक्तचापले मिर्गौलालाई असर गरेजस्तै कलेजोलाई पनि असर गर्ने हो ?

मधुमेह र उच्च रक्तचापले कलेजोलाई प्रत्यक्ष रूपमा असर गर्ने भन्ने होइन । तर मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल र फ्याटी लिभर एउटै परिवारका दाजुभाइजस्ता हुन् । मधुमेह भएपछि त्यही मानिसलाई उच्च रक्तचाप र कोलेस्टेरोल हुने सम्भावना हुन्छ । फ्याटी लिभरबाटै यी समस्या सुरु हुन सक्छन् ।

कलेजो बच्चा गर्भमा आउँदाखेरि सबैभन्दा पहिले बन्ने अङ्गमध्ये एक हो । गर्भावस्थाको ४–६ हप्तामै कलेजो बन्न सुरु गर्छ र त्यतिबेलादेखि नै यसले काम गर्न थाल्छ । मधुमेह नियन्त्रण भएन भने कलेजोको कारणले पनि हुन सक्छ । इन्सुलिन रेसिस्टेन्स कलेजोबाटै सुरु हुन्छ । 

कोलेस्टेरोल बढी हुने, रगतमा बोसो बढ्ने र कोलेस्टेरोलको औषधि खानुपर्ने अवस्थासँग पनि कलेजो सम्बन्धित हुन्छ । कलेजोमा फ्याटी लिभर हुँदा यसले कोलेस्ट्रोल मेटाबोलिजम गर्न सक्दैन । त्यसपछि नचाहिने फ्याटी एसिड र नराम्रो कोलेस्टेरोल रगतमा जम्मा हुँदै जान्छ । यो प्रक्रिया कलेजोबाटै सुरु हुन्छ ।

त्यसैले कलेजोका कारण मिर्गौला वा मुटु खराब भयो भन्नुभन्दा पनि कलेजो, मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल एक-अर्कासँग सम्बन्धित समस्या हुन् । यी रोग भएका मानिसहरूमा अन्य समस्या पनि सँगसँगै आउन सक्छन् र त्यसले आफ्नै तरिकाले नराम्रो असर देखाउँछ ।

कलेजो रोगको उपचारको अवस्था नेपालमा कस्तो छ ? 

अहिले कलेजोका धेरैजसो रोगहरूको उपचार नेपालमै हुन्छ । मदिराका कारण हुने कलेजो रोग, फ्याटी लिभर, अटोइम्युन तथा वंशाणुगत अवस्थाका कारण हुने कलेजोका रोग, भाइरल हेपाटाइटिस बी र सी लगायत विभिन्न किसिमका कलेजो रोगहरूको उपचार नेपालमै सम्भव छ ।

कलेजोमा सिरोसिस भइसकेको अवस्थामा पनि त्यसलाई पूर्ण रूपमा पहिलेकै अवस्थामा फर्काउन नसकिए पनि कलेजोको अवस्था व्यवस्थापन गर्न, रोग नियन्त्रणमा राख्न र जटिलता कम गर्न सक्ने उपचारहरू नेपालमा उपलब्ध छन् ।

कलेजो प्रत्यारोपणको अवस्था नेपालमा कस्तो छ ?

अहिले नेपालमा कलेजो प्रत्यारोपण सुरु भइसकेको छ । केही अस्पतालमा यो सेवा भइरहेको छ । तर यसमा अझै सुधार गर्नुपर्ने ठाउँहरू छन् । नेपालमा एउटै केन्द्रमा धेरै संख्यामा र नियमित रूपमा कलेजो प्रत्यारोपण भइरहेको अवस्था अझै छैन । यो सुरुवाती चरणमा छ ।

कलेजो प्रत्यारोपणका लागि चाहिने सर्जन, हेपाटोलोजिस्ट, एनेस्थेसियालोजिस्ट लगायत सबै  विशेषज्ञको टिम तयार भएपछि नेपालमा पनि कलेजो प्रत्यारोपण अझै सहज रूपमा गर्न सकिन्छ ।

प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि हजारौं मान्छे लाइनमा छन् । कलेजो प्रत्यारोपणमा पनि त्यस्तै छ कि केही सहज छ ? 

कलेजो प्रत्यारोपणमा नेपालजस्तो ठाउँमा लिभिङ डोनर ट्रान्सप्लान्ट अर्थात् जीवित दाताबाट कलेजो प्रत्यारोपण गर्ने विधि छ । लिभिङ डोनर भनेको कसैले आफ्नै मान्छेलाई कलेजोको केही भाग दिने हो । यसमा दाता आफ्नो नातागोताभित्रको हुनुपर्ने कानुनी व्यवस्था छ ।

प्राविधिक समस्या, शल्यक्रियाका लागि आवश्यक पूर्वाधार र व्यवस्थापनमा सुधार गर्न सके कलेजो प्रत्यारोपण सहज रूपमा गर्न सकिने शल्यक्रिया हो । कलेजोको राम्रो पक्ष भनेको यो पुनः पलाउने अङ्ग हो । स्वस्थ कलेजो भएको दाताबाट आवश्यक अनुपातमा कलेजोको केही भाग लिइन्छ । दाता र बिरामी दुवैमा कलेजोको पर्याप्त भाग राखिन्छ ।

कति भाग दिने भन्ने कुरा गणना गरेर निर्धारण गर्नुपर्छ । ६०–४० प्रतिशत वा ५०–५० प्रतिशतजस्तो अनुपात हुन सक्छ । दाताबाट कलेजोको केही भाग लिएर बिरामीलाई दिइन्छ र दाताको कलेजोमा पनि पर्याप्त भाग राखिन्छ ।
त्यसैले गर्दा पनि कलेजो प्रत्यारोपण मिर्गौला प्रत्यारोपणको तुलनामा सहज छ ।

कलेजो प्रत्यारोपण गरेपछि बिरामीले मिर्गौला प्रत्यारोपण गरेजस्तै जीवनभर औषधी खानुपर्छ कि पर्दैन ?

कलेजो प्रत्यारोपणपछि पनि इम्युनोसप्रेसेन्ट अर्थात् शरीरले प्रत्यारोपित कलेजोलाई अस्वीकार नगरोस् भनेर दिइने औषधि लामो समयसम्म खानुपर्ने हुन सक्छ । तर मिर्गौला प्रत्यारोपणको तुलनामा कलेजो प्रत्यारोपणपछि औषधी कमै खानुपर्छ । केही समयपछि औषधी घटाउन वा बन्द गर्न पनि मिल्न सक्छ ।

कलेजो रोगको उपचारमा सरकारले अहिलेसम्म के काम गरेको छ ?  के गर्न आवश्यक छ ?

सरकारले गर्नसक्ने प्रमुख काम जनचेतना अभिवृद्धि हो । यो काम सबै तहबाट एकैसाथ भइरहनुपर्छ । कलेजोका सबै प्रकारका रोगको उपचारदेखि प्रत्यारोपणसम्म गर्न सक्ने एउटा कलेजो समर्पित अस्पताल स्थापना गर्न सकियो भने धेरै राम्रो हुन्छ ।

अहिले विभिन्न सरकारी तथा निजी संस्थामा कलेजो प्रत्यारोपण भइरहेको छ । वीर अस्पतालमा कलेजो विभाग छ । तर नेपालमा कलेजोका बिरामी धेरै छन् र बाहिरबाट पनि बिरामीहरू उपचारका लागि आउँछन् । 

हामीले गरेको एउटा सानो सर्वेक्षणमा काठमाडौंका करिब ४० देखि ५० प्रतिशत मानिसमा फ्याटी लिभर देखिएको थियो । कुनै रोग नभएका सामान्य मानिसहरूमा पनि यति धेरै फ्याटी लिभर देखिएको छ ।

दुईजनामध्ये एक जनालाई फ्याटी लिभर छ भने त्यो एक किसिमको रोग बोकेर हिँडिरहेको अवस्था हो । लक्षण नभएकाले मानिसहरू ढुक्कसँग हिँडिरहेका हुन्छन् । यति धेरै मानिसमा कलेजोको रोग वा कुनै न कुनै समस्या देखिएको अवस्थामा सरकारले कलेजो समर्पित अस्पताल स्थापना गर्न सके धेरै राम्रो हुन्थ्यो । 

null

कलेजो रोगकै कारण हुने मृत्युदरको अवस्था कस्तो छ ?

कलेजो रोगबाट हुने मृत्युदरमा ठ्याक्कै यति नै हुन्छ भन्न सकिँदैन । कुन रोग लागेको हो भन्ने कुरामा मृत्युदर फरक हुन्छ । लिभर सिरोसिसको मृत्युदर र कलेजोको क्यान्सरको मृत्युदर अलग हुन्छ ।

कलेजोको क्यान्सर विश्वभर क्यान्सरका कारण हुने मृत्युदरमा तेस्रो स्थानमा पर्छ । सिरोसिसका कारण पनि धेरै मानिसले आफ्नो ज्यान समयभन्दा धेरै अगाडि गुमाउनुपरेको हुन्छ । २०, २५ वा ३० वर्षको उमेरदेखि नै सिरोसिसका कारण मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन् ।

कलेजो प्रत्यारोपण कत्तिको खर्चिलो छ ? यसमा सरकारी सहयोग छ कि छैन ?

कलेजो प्रत्यारोपण अहिलेका लागि खर्चिलो उपचार हो । सरकारले कलेजो प्रत्यारोपणमा छुट्टै आर्थिक सहयोग दिने गरेको अवस्था छैन । आफैले उपचार गर्दा अस्पताल र उपचारको स्थानअनुसार खर्च फरक हुन्छ । 

टिचिङ अस्पतालमा पनि कलेजो प्रत्यारोपण सुरु भइसकेको छ । निजी मेडिकल कलेजहरूमा पनि यो सेवा उपलब्ध छ । भारतमा पनि कलेजो प्रत्यारोपण गरिन्छ ।

यी तीन ठाउँमा खर्च फरक–फरक हुन्छ । आवश्यक उपकरण र सामग्री प्रयोग गर्नुपर्ने भएकाले कलेजो प्रत्यारोपण खर्चिलो हुन्छ । टिचिङ अस्पतालमा गर्दा करिब १२–१५ लाख रुपैयाँदेखि सुरु भएर भारतमा उपचार गर्दा ३५–४० लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

कलेजोमा हुने समस्याबाट बच्न के गर्ने ?

कलेजोका समस्याबाट बच्ने उपायलाई दुई भागमा हेर्न सकिन्छ । पहिलो कुरा, कुन प्रकारको कलेजो रोग हो भन्ने पहिचान गर्नु हो । त्यसका लागि प्रारम्भिक पहिचान र जनचेतना सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

मदिरा सेवनका कारण कलेजो बिग्रिन्छ भन्ने थाहा भएपछि मदिरा सेवन नगर्ने, मोटोपनका कारण कलेजोमा बोसो जम्मा भइरहेको छ भने तौल घटाउने, हेपाटाइटिस बीका कारण कलेजोमा समस्या भइरहेको छ भने सङ्क्रमण समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।

कलेजो स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ । चिल्लो, तारेका खानेकुरा, रातो मासु र गुलियो पदार्थको सेवन कम गर्नुपर्छ । मदिरा सेवन गर्नु हुँदैन ।

यी कुरामा ध्यान दिन सके धेरै मानिसको कलेजोको अवस्था सुधार हुन सक्छ । भाइरल हेपाटाइटिस वा वंशाणुगत कारणले हुने कलेजोका रोगहरू भने पहिचान गर्न आवश्यक हुन्छ । त्यसका लागि समयमै जाँच गराउनुपर्छ ।आफ्नो कलेजोको अवस्था के छ भनेर नियमित जाँच गराउनु नै कलेजो स्वस्थ राख्ने महत्त्वपूर्ण उपाय हो ।

Share News