काठमाडौं । मतदाता जहाँ छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था आगामी स्थानीय तह निर्वाचनमै लागू गर्ने विषयमा निर्वाचन आयोगभित्र मतभेद देखिएको छ । दुई निर्वाचन आयुक्तले पाइलट प्रोजेक्टका रूपमा भए पनि आगामी स्थानीय निर्वाचनबाटै अन्तरजिल्ला मतदानको अभ्यास सुरु गर्नुपर्ने पक्षमा पैरवी गरिरहेका छन् ।
तर, प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्थानीय निर्वाचनमा यस्तो व्यवस्था कार्यान्वयन गर्न कठिन हुने धारणा राख्दै आएका छन् ।
आयोगभित्रको यही मतभेदका कारण आसन्न स्थानीय निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था लागू हुने सम्भावना कमजोर बनेको छ । आयोगको पछिल्लो तयारी भने स्थानीय निर्वाचनबाट पछि हटेर प्रदेशसभा निर्वाचनमा यस्तो व्यवस्थाको परीक्षण गर्ने दिशामा केन्द्रित देखिएको छ ।
आयोगका उच्च अधिकारीहरूका अनुसार प्रमुख निर्वाचन आयुक्त कार्कीले आन्तरिक छलफलहरूमा आगामी स्थानीय निर्वाचनमा अन्तरजिल्ला मतदान लागू गर्न असहज हुने बताउँदै आएका छन् । स्थानीय निर्वाचनको जटिलता, उम्मेदवार र मतदान केन्द्रको व्यवस्थापन तथा प्राविधिक तयारीलाई आधार बनाउँदै उनले तत्काल कार्यान्वयनको सम्भावना नरहेको धारणा राख्ने गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिए ।
तर, निर्वाचन आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा भने परीक्षणकै रूपमा भए पनि आगामी स्थानीय निर्वाचनबाट यस्तो व्यवस्था सुरु गर्नुपर्ने पक्षमा छन् । उनीहरूले सीमित स्थान छनोट गरेर पाइलट प्रोजेक्ट सञ्चालन गर्न सकिने र त्यसबाट प्राप्त अनुभवका आधारमा आगामी निर्वाचनमा विस्तार गर्न सकिने तर्क गर्दै आएका छन् ।
आयोगका उच्च अधिकारीहरूका अनुसार अन्तरजिल्ला मतदानको विषयमा आयुक्तहरूबीच फरक धारणा रहे पनि अहिलेको संस्थागत तयारी स्थानीय निर्वाचनभन्दा प्रदेशसभा निर्वाचनलाई पहिलो परीक्षण बनाउनेतर्फ उन्मुख छ ।
आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत विधेयकको मस्यौदामार्फत विदेशमा रहेका नेपालीका लागि बाह्य मतदान र नेपालभित्रै आफ्नो मतदाता नामावली रहेको जिल्लाबाहिरबाट मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ ।
तर, प्रस्तावित व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने विषयमा आयोगभित्रै एकमत हुन सकेको छैन । आयोगका सहप्रवक्ता प्रकाश न्यौपाने आयोगले यस विषयमा छलफल गरिरहेको बताउँछन् । न्यौपानेका अनुसार आयोगले विभिन्न चरणमा यस विषयमा छलफल गर्ने कार्य गरिरहेको छ ।
किन देखियो असहमति ?
अन्तरजिल्ला मतदानको अवधारणा सामान्य देखिए पनि स्थानीय तह निर्वाचनमा यसको व्यवस्थापन जटिल रहेको तर्क प्रमुख आयुक्त कार्कीले गर्दै आएको स्रोत ले जनाएको छ ।
प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा निश्चित निर्वाचन क्षेत्रका उम्मेदवारलाई मत दिनुपर्ने भएकाले मतपत्र र मतदान केन्द्र व्यवस्थापन तुलनात्मक रूपमा सहज हुन सक्छ । तर, स्थानीय निर्वाचनमा मतदाताले आफ्नो गाउँपालिका वा नगरपालिका मात्र होइन, वडाका उम्मेदवारसमेत छानेर मतदान गर्नुपर्ने हुन्छ ।
नेपालमा ७५३ स्थानीय तह र ७ हजार ६४३ वडा रहेका छन् । एउटा जिल्लामा बसेर अर्को जिल्लाको स्थानीय तह र वडाका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था मिलाउँदा प्रत्येक मतदाताको स्थायी निर्वाचन क्षेत्र पहिचान गरी सोहीअनुसार मतपत्र उपलब्ध गराउनुपर्ने हुन्छ ।
बैठकहरुमा प्रमुख आयुक्त कार्कीले डोटीको उदाहरण दिँदै यसपटक उक्त व्यवस्था गर्न कठिन हुने बताउने गरेको उच्च स्रोतले बताएको छ । ‘उदाहरणका लागि डोटीको मतदाता काठमाडौंमा बसेर मतदान गर्न चाहन्छ भने उसले काठमाडौंका उम्मेदवारलाई होइन, आफ्नो मतदाता नामावली रहेको डोटीको सम्बन्धित स्थानीय तह र वडाका उम्मेदवारलाई मतदान गर्न पाउनुपर्छ । यसका लागि देशभरका उम्मेदवार, निर्वाचन क्षेत्र, मतदाता विवरण र मतदान केन्द्रलाई एकीकृत प्रणालीमा जोड्नुपर्ने हुन्छ । कार्कीले तत्काल यो कति सम्भव हुन्छ भनेर प्रश्न गर्ने गरेका छन्,’ प्रमुख आयुक्त कार्कीलाई उदृत गर्दै आयोग स्रोतले भन्यो
त्यसमाथि नियमित मतदान केन्द्रमा मतदान गरिसकेको मतदाताले अर्को जिल्लाको अस्थायी मतदान केन्द्रबाट पनि मत हाल्न नपाउने सुनिश्चित गर्नुपर्छ । मतदाताको पहिचान प्रमाणीकरण, मतको गोपनीयता र दोहोरो मतदान रोक्ने प्रणाली विश्वसनीय नभएसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्न कठिन हुने कार्कीले बताउने गरेका छन् ।
पूर्ण तयारीबिना स्थानीय निर्वाचनमा तत्काल यस्तो प्रणाली लागू गर्दा व्यवस्थापकीय जोखिम बढ्न सक्ने प्रमुख आयुक्त कार्कीको तर्क रहँदै आएको छ । तर, राजनीतिक दल र अन्य जानकारहरु यो व्यवस्था छिटो लागू गर्नुपर्ने अडानमा देखिएका छन् ।
नेपाली कांग्रेस सभापति गगन कुमार थापाले अन्तरजिल्ला मतदानको व्यवस्था छिटो मिलाउन माग गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पनि अन्तरजिल्ला मतदान केन्द्रबाट मतदान गर्न पाउनु मतदाताको अधिकार भएकाले उक्त अधिकारको सम्मान गर्दै छिटो कार्यान्वयन गर्न माग गरेका छन् ।
वाग्ले र सुव्बा पाइलट प्रोजेक्टकै पक्षमा
प्रमुख आयुक्तको तुलनामा आयुक्तद्वय वाग्ले र सुब्बा भने नयाँ व्यवस्थालाई व्यवहारमा परीक्षण गर्न ढिलाइ गर्न नहुने पक्षमा छन् । उनीहरूले सीमित जिल्लामा वा निश्चित मतदान केन्द्रबाट पाइलट प्रोजेक्टका रूपमा अन्तरजिल्ला मतदान सुरु गर्न सकिने धारणा राख्दै आएका छन् ।
आयोगले यसअघि नै यस विषयमा कानुनी र प्राविधिक अध्ययनका लागि छुट्टाछुट्टै समिति गठन गरेको थियो । गत साउन २७ गते गठन गरिएका समितिमध्ये कानुनी अध्ययनको जिम्मेवारी आयुक्त वाग्ले र प्रविधिसम्बन्धी अध्ययनको जिम्मेवारी आयुक्त सुब्बालाई दिइएको थियो ।
आयुक्तद्वयको बुझाइमा सबै मतदातालाई एकैपटक यस्तो सुविधा दिन सम्भव नभए पनि सीमित स्थानमा परीक्षण गर्न सकिन्छ । परीक्षणबाट देखिएका समस्या समाधान गर्दै आगामी निर्वाचनमा प्रणाली विस्तार गर्न सकिने उनीहरूको तर्क छ ।
ती अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आयोगले बाह्य मतदान र अन्तरजिल्ला मतदानलाई निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत विधेयकमा समेट्ने प्रस्ताव अघि बढाएको हो । तर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता उपसचिव श्रृजना सिंह भने यस विषयमा जानकारी दिन तयार भइनन् । सिंहले कानुन संशोधनको विषयमा जानकारी दिन नमिल्ने बताइन् ।
प्रदेश निर्वाचनलाई पहिलो परीक्षण बनाउने तयारी
आयोगभित्रको छलफल र तयारीले अन्तरजिल्ला मतदानको पहिलो परीक्षण प्रदेशसभा निर्वाचनबाट गर्ने सम्भावना बलियो देखाएको छ । प्रदेश निर्वाचनमा मतदाताले आफ्नो निर्वाचन क्षेत्रका प्रदेशसभा उम्मेदवारलाई मतदान गर्ने भएकाले स्थानीय तहको तुलनामा मतपत्र व्यवस्थापन र निर्वाचन क्षेत्र पहिचान सहज हुने आयोगको आँकलन छ ।
प्रदेशसभा निर्वाचनमा सीमित स्थान छनोट गरी अर्को जिल्लामा बसोबास गर्ने मतदातालाई आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारलाई मतदान गर्न दिने व्यवस्था परीक्षण गर्न सकिन्छ । यसबाट मतदाता प्रमाणीकरण, मतपत्र व्यवस्थापन, मतदान अभिलेख र दोहोरो मतदान रोक्ने प्रणालीको प्रभावकारिता जाँच्न सकिने आयोग स्रोतले जानकारी दियो ।
कानुन मन्त्रालय स्रोत भने मन्त्रालयले गहनताका साथ निर्वाचन कानुन संशाेधन र अन्तरजिल्ला मतदानको विषयमा छलफलमा नरहेको बताएको छ ।
विदेशमा रहेकाको अनिश्चित
अन्तरजिल्ला मतदानसँगै विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय पनि आयोगको प्रस्तावमा समेटिएको छ । विदेशमा रहेका नेपालीले सम्बन्धित देशका नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भएर, हुलाकमार्फत वा इन्टरनेटमा आधारित प्रणालीबाट मतदान गर्न सक्ने तीन विकल्प प्रस्ताव गरिएको छ ।
तर, विदेशमा रहेका नेपालीको हकमा पनि तत्काल कार्यान्वयनको अवस्था सहज छैन । विदेशमा रहेका नेपालीको यकिन विवरण, मतदाता पहिचान प्रमाणीकरण, सम्बन्धित मुलुकसँगको समन्वय, मतको गोपनीयता र साइबर सुरक्षाजस्ता विषय समाधान गर्नुपर्नेछ ।
सर्वोच्च अदालतले २०७४ चैत ७ गतेनै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी, प्राविधिक र व्यवस्थापकीय व्यवस्था मिलाउन सरकार र निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।
तर, ९ वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त आदेश कार्यान्वयन हुन सकेको छैन । यसपटक आयोगले अध्ययन गरेर कानुनी व्यवस्थाको प्रस्ताव अघि बढाए पनि त्यसको कार्यान्वयन कहिलेदेखि हुने भन्ने स्पष्ट भइसकेको छैन ।
सरकार र संसदको निर्णय निर्णायक
निर्वाचन आयोगले तयार पारेको प्रस्ताव कार्यान्वयनमा ल्याउन अब सरका र संसद्को भूमिका महत्त्वपूर्ण हुने कानुनका जानकारहरु बताउँछन् । अधिवक्ता पर्शुराम घिमिरे निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत विधेयकमा प्रस्तावित व्यवस्था समेटेर कानुन निर्माण गर्नु आजको पहिलो आवश्यकता हो । उनका अनुसार त्यसपछि मात्रै आयोगले आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाउन सक्नेछ ।
तर, कानुन बन्नु मात्रै पर्याप्त नहुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यको भनाइ छ । आचार्य भन्छन्, ‘मतदाता नामावलीको एकीकृत अभिलेख, पहिचान प्रमाणीकरण, विशेष मतदान केन्द्रको व्यवस्था र दोहोरो मतदान रोक्ने संयन्त्र पनि तयार हुनुपर्छ ।’
रोजगारी, अध्ययन र व्यवसायका कारण आफ्नो स्थायी थातथलोभन्दा बाहिर बस्ने लाखौं नेपालीका लागि अन्तरजिल्ला मतदान महत्त्वपूर्ण विषय हो । विदेशमा रहेका नेपालीको हकमा पनि मताधिकार सुनिश्चित गर्ने यो व्यवस्था लोकतान्त्रिक सहभागितासँग जोडिएको छ ।
तर, मतदातालाई जहाँ भए पनि मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने प्रस्ताव अघि बढाएको आयोगभित्रै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु गर्ने भन्नेमा एक मत छैन ।