काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने एन–ट्याग अब सानिमा बैंकका देशभरका शाखाबाट लिन सकिने भएको छ ।
सानिमा बैंक लिमिटेडले सुरुङमार्ग प्रवेशका लागि आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग वितरण सेवा देशभरका शाखाबाट उपलब्ध गराएको हो ।
यससँगै काठमाडौं उपत्यकाबाहिरका सवारीधनीले पनि आफ्नो नजिकैको सानिमा बैंक शाखाबाट एन–ट्याग लिन सक्नेछन् ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा टोल शुल्क भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ । यस प्रणालीअन्तर्गत सवारीसाधनको अगाडिको सिसामा एन–ट्याग स्टिकर टाँस्नुपर्छ ।
सुरुङमार्गको प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले उक्त ट्याग स्वतः पहिचान गर्छन् । त्यसपछि टोल शुल्क ट्यागमा रहेको रकमबाट स्वतः कट्टा हुन्छ र गेट खुल्छ । जसबाट सवारीधनीले टोल शुल्क तिर्न लाइनमा बस्नुपर्ने झन्झट हुँदैन ।
एन–ट्यागमा ईसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम रिचार्ज गर्न सकिने बैंकले जनाएको छ ।
एन–ट्याग लिन चाहने सवारीधनीले बैंकका जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा काठमाडौंमा मात्र सीमित नराखी देशभरका शाखाबाट उपलब्ध गराइएको छ ।