सामाजिक उद्यमबाट १९ हजारलाई रोजगारी, ५ वर्षमा नबिलको ३१८ उद्यम

काठमाडौं । सामाजिक उद्यमशीलतामार्फत आर्थिक तथा सामाजिक रूपान्तरणलाई जोड दिँदै आएको नबिल बैंकको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले पाँच वर्षमा ३१८ वटा सामाजिक उद्यम स्थापना गर्न सहयोग गरेको छ । 

कार्यक्रममार्फत उद्यमशीलतासम्बन्धी ज्ञान र सीप हासिल गरेका उद्यमीले हालसम्म १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गरेका छन् ।

सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षको अवधिमा एक हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप तथा व्यावहारिक प्रशिक्षण प्रदान गरेको हो । 

सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट त्यसको दिगो समाधान खोज्ने उद्देश्यसहित सुरु गरिएको कार्यक्रमले छोटो अवधिमै सामाजिक उद्यमशीलताको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको बैंकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत सञ्चालित फेलोसिप र सर्टिफिकेट कोर्सबाट सहभागीहरू लाभान्वित भएका छन् । फेलोसिप कार्यक्रमका छ वटा समूहबाट ११३ जना प्रशिक्षित भएका छन् । उनीहरूको नेतृत्वमा ९३ वटा सामाजिक उद्यम स्थापना भएका छन् । 

त्यस्तै, विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएको सर्टिफिकेट कोर्सबाट एक हजार ४६७ जना लाभान्वित भएका छन् । उनीहरूले २२५ वटा उद्यम स्थापना गरेका छन् ।

नबिल एसएसईले व्यवसाय स्थापना गर्ने सीपमा मात्रै सीमित नभई सामाजिक समस्या समाधानलाई उद्यमशीलताको केन्द्रमा राख्दै आएको छ । 

कार्यक्रममार्फत सहभागीले व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन, लगानी आकर्षण तथा उद्यम सञ्चालनका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्दै आएका छन् ।

कार्यक्रमबाट प्रशिक्षित उद्यमीले स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गरी विभिन्न क्षेत्रमा नवीन उद्यम सञ्चालन गरिरहेका छन् । 

मौलिक संस्कृति र जीवनशैलीमा आधारित अनुभवमूलक पर्यटन, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरण, ड्रोन प्रविधिमा आधारित समाधान, स्थानीय कारीगरका उत्पादनको विकास तथा बजार विस्तार, सूचना प्रविधिमार्फत रोजगारीमा पहुँच र युवा तथा विद्यार्थीको मानसिक स्वास्थ्य प्रवद्र्धन यसका उदाहरण हुन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले पाँच वर्षको उपलब्धिले सामाजिक उद्यमशीलतामार्फत दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताए । 

उद्यमशीलता आर्थिक गतिविधिमा मात्रै सीमित नभई सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यम बनेको उनको भनाइ छ ।

‘सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा नेपाली युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने पछिल्ला पाँच वर्षका उपलब्धिले प्रमाणित गरेका छन्,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप छ महिनाको क्षमता विकास कार्यक्रम हो । 

यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास र लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्नेसम्मका गतिविधि समावेश छन् ।

बैंकका अनुसार हाल फेलोसिपको सातौं समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूह पनि सञ्चालन भइरहेका छन् । 

आगामी दिनमा कार्यक्रमको प्रभाव र दायरा विस्तार गर्दै थप युवालाई सामाजिक उद्यमशीलतासँग जोड्ने लक्ष्य बैंकले लिएको छ ।

Share News