काठमाडौं । मोरङमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनका ५५ वर्षीय ससुरा पक्राउ परेका छन् ।
घटनालाई लिएर किशोरीलाई कुटपिट गर्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनका २३ वर्षीय श्रीमान् पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार कानेपोखरी गाउँपालिका–६ मा गत कात्तिक २९ गते राति किशोरीमाथि ससुरा जयराम दर्जीले जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो ।
उनीविरुद्ध मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
यसै घटनालाई लिएर किशोरीका श्रीमानले आफ्नी आमालाई समेत छेउमा राखेर पत्नीलाई सोधपुछ गर्दै कुटपिट गरेका थिए । उनले कुटपिटको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए ।
किशोरीमाथि भएको जबरजस्ती करणी र कुटपिटको भिडियो सामाजिक सञ्जालमा फैलिएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा किशोरीका श्रीमानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।