२९ खर्ब नाघ्यो सार्वजनिक ऋण

चार महिनामै १ खर्ब ४१ अर्ब भुक्तानी

काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ । 

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक विनियोजित बजेटको ३३ दशमलव ७३ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । 

यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५ दशमलव प्रतिशत हो ।

सरकारले ऋणको साँवा तथा ब्याज तिर्न मात्रै वार्षिक बजेटबाट ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ । तर आर्थिक वर्षको एक तिहाइ अवधि पूरा हुँदा नै त्यसको एक तिहाइभन्दा बढी रकम खर्च भइसकेको छ । यसले सार्वजनिक वित्तमाथि ऋण भुक्तानीको दबाब बढिरहेको जनाउँछ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब १ अर्ब ७० करोड २ लाख रुपैयाँ थियो ।

कात्तिक मसान्तसम्म विनिमय दरमा भएको अनुकूल परिवर्तनबाट ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत छ । रकमका आधारमा सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ । आन्तरिक ऋण दायित्व भने १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो ।

सरकारले आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । चार महिनामा आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ ।

सार्वजनिक तथ्यांकअनुसार आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत मात्रै छ । प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १ दशमलव ७५ प्रतिशत रहेको छ ।

वार्षिक लक्ष्यअनुसार सरकारले अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ ऋण परिचालन गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋण २ खर्ब ८५ अर्ब र वैदेशिक ऋण २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ छ ।

ऋणको साँवा तथा ब्याज भुक्तानीमा भएको खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा आन्तरिक ऋणको छ । सरकारले चार महिनामा आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ ।

आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्म उक्त बजेटको ३६ दशमलव ३२ प्रतिशत खर्च भइसकेको कार्यालयले जनाएको छ ।

यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याजमा २३ दशमलव ४० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा चार महिनामा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । वैदेशिक ऋण भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो । यसअनुसार चार महिनामै वार्षिक बजेटको २४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको २४ दशमलव ०७ प्रतिशत र ब्याजमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा चार महिनाको अवधिमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा भएको खर्च कुल गार्हस्थ्य उत्पादनको २ दशमलव १४ प्रतिशत बराबर छ ।

सरकारले चार महिनामा १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ नयाँ सार्वजनिक ऋण प्राप्त गर्दा साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । 

Share News