रिलायबल नेपाल लाइफको १.१६ अर्बको सेयर बेच्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो ठूलो परिमाणको संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकेर सेयर बिक्रीका लागि निवेदन दिएको छ । यसअनुसार बैंकले बिक्री गर्न लागेको सेयरको न्यूनतम मूल्य १ अर्ब १६ करोड ९२ लाख ८० हजार रुपैयाँ पुग्छ ।

सेयर बिक्री प्रक्रियाअन्तर्गत पहिलो प्राथमिकता रिलायबल नेपाल लाइफका विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र रकम खुलाएर निवेदन दिनुपर्नेछ ।

संस्थापक समूहको सेयर बिक्री गर्दा प्रचलित व्यवस्थाअनुसार पहिलो अवसर विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने हुन्छ । उनीहरूले सेयर खरिद नगरेको अवस्थामा मात्रै अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने व्यवस्था छ ।

ग्लोबल आइएमई बैंक रिलायबल नेपाल लाइफको सबैभन्दा ठूलो सेयरधनी हो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा बैंकको १० प्रतिशत अर्थात् ५१ लाख ९६ हजार ८०० कित्ता सेयर स्वामित्व छ ।

Share News