काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले तेस्रो संस्करणको उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीले कीर्तिमानी अविजित शतकीय पारी खेले । उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा १२५ रन बनाए । त्यस्तै, विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए ।
मुन्सी एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनी एनपीएलमा शतक बनाउने छैटौँ खेलाडीसमेत हुन् । यस सिजन शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक बनाएका थिए ।
सुदूरपश्चिमले लगातार तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक भने उपाधि जित्न सफल भयो । दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
गत वर्षको फाइनलदेखि यस संस्करणको क्वालिफायरसम्म लुम्बिनीले लगातार तीन खेलमा सुदूरपश्चिमलाई हराएको थियो । तर, फाइनलमा मुन्सीको विस्फोटक ब्याटिङसँगै सुदूरपश्चिमले ती हारको बदला लिँदै उपाधि आफ्नो पक्षमा पार्यो ।
यसअघि प्लेअफका दुई खेलमा खासै चल्न नसकेका मुन्सीले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ बलमा चौका र छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए भने ५४ बलमा १२५ रन बनाउँदै टोलीलाई सहज जित दिलाए ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ र डार्सी सर्टले २१ रन जोडे । सन्दीप जोराले ४ र आसिफ शेखले १ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।
लुम्बिनीका ओपनर आसिफ शेख तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एलबीडब्लू आउट भए । छैटौँ ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो बलमै डार्सी सर्टलाई बोल्ड गरे । सर्टले १८ बलमा ४ चौकासहित २१ रन बनाए ।
३५ रनमा दुई विकेट गुमाएको लुम्बिनीको इनिङ्स रोहित पौडेल र निरोशन डिकवेलाले सम्हाले । यी दुईले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेला ११औँ ओभरमा थरिन्दु रत्नायकेबाट बोल्ड भए । उनले १७ बलमा एक चौका र दुई छक्कासहित २८ रन बनाए ।
त्यसपछि रोहितले दिलीप नाथसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे । रोहित १५औँ ओभरको अन्तिम बलमा रनआउट भए । उनले ३१ बलमा चार चौकासहित ३० रन बनाए ।
त्यसपछि आएका सन्दीप जोरा ४ रन बनाएर आउट भए । दिलीप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरे । अलीले १२ बलमा समान दुई चौका र दुई छक्काको मद्दतमा २४ रन बनाए । दिलीपले ३१ बलमा तीन छक्कासहित अविजित ३९ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिए ।
उपाधि विजेता सुदूरपश्चिमले १ करोड १२ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।