आशुतोष इनर्जीले मंसिर १४ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये पहिलो चरणमा ६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन हुनेछ ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको ६ लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ । यसमा लमजुङको दुधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दा समेटिएका छन् ।

बाँकी ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्रबाहेक लमजुङको दुधपोखरी र दोर्दी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् । 

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ ।  

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसका साथै आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  

Share News