काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट कार्य नगरेको भन्दै नेप्सेले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ कम्पनी (सीडीएससी) ले भदौ ३ गते पत्र पठाउँदै बेनी सेक्युरिटिजलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम तीन कार्यदिनका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
नेप्सेले भदौ ३ गते नै बेनी सेक्युरिटिजलाई पत्र पठाएर निलम्बनबारे जानकारी गराएको हो । निलम्बन अवधिमा उक्त कम्पनीले धितोपत्र कारोबार गर्न पाउने छैन ।