खानेपानीको बक्यौता तिरे ९० प्रतिशतसम्म जरिवाना छुट

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले महसुल बक्यौता असुलीलाई प्रभावकारी बनाउने उद्देश्यसहित ग्राहकलाई जरिवानामा विशेष छुट दिने भएको छ । कम्पनीले लामो समयदेखि बाँकी रहेको खानेपानी महसुल तिर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न अवधिअनुसार जरिवाना छुटको व्यवस्था गरेको हो ।

कम्पनीले २०८३ साल कात्तिक मसान्तसम्म बाँकी रहेको आफ्नो तर्फको महसुल बक्यौता बुझाउन आउने ग्राहकलाई यस्तो सुविधा दिने निर्णय गरेको छ । बक्यौता बुझाउनुअघि ग्राहकले आफ्नो ग्राहक विवरण तथा अभिलेख (केवाईसी) समेत अद्यावधिक गर्नुपर्नेछ ।

कम्पनीका अनुसार मङ्सिर १ गतेदेखि माघ मसान्तसम्म बक्यौता बुझाउने ग्राहकले जरिवाना रकममा ९० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, फागुन १ गतेदेखि चैत मसान्तसम्म बक्यौता बुझाउनेले ६० प्रतिशत छुट पाउनेछन् ।

यसैगरी, २०८४ वैशाख १ गतेदेखि असार मसान्तसम्म बक्यौता बुझाउने ग्राहकलाई जरिवाना रकममा ४० प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

समयअनुसार छुटको प्रतिशत घट्दै जाने भएकाले बक्यौता रहेका ग्राहकलाई निर्धारित अवधिभित्रै महसुल बुझाउन कम्पनीले आग्रह गरेको छ । यस व्यवस्थाले लामो समयदेखि महसुल नतिरेका ग्राहकलाई बक्यौता चुक्ता गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीको राजस्व सङ्कलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तर्फबाट लाग्ने जरिवानामा भने सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएबमोजिम मात्रै छुट लागू हुनेछ ।

Share News