काठमाडौं । निर्वाचनमा अनपेक्षित पराजय बेहोरेपछि नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट नेता तथा कार्यकर्ताले चुनावी हारको समीक्षा मात्र नखोजी पार्टीको राजनीतिक दिशा, नेतृत्वको कार्यशैली र संगठन सञ्चालनको पद्धतिमै सुधारको अपेक्षा गरेका छन् ।
लामो समयदेखि पार्टीमा आबद्ध कार्यकर्तादेखि नयाँ पुस्ताका नेतासम्मको चासो अहिले एमाले कसरी पुनः जनताको विश्वास जित्ने अवस्थामा फर्किन्छ भन्नेमा केन्द्रित छ ।
गत फागुन २१ को निर्वाचन परिणामले एमालेको सांगठनिक शक्ति, नेतृत्वको लोकप्रियता र राजनीतिक कार्यदिशामाथि गम्भीर प्रश्न उठाएको छ । निर्वाचन परिणामपछि पार्टीभित्र समीक्षा र पुनर्गठनको बहस चलिरहेका बेला आयोजित राष्ट्रिय भेलालाई कार्यकर्ताले नेतृत्वसमक्ष आफ्ना असन्तुष्टि राख्ने र पार्टीको आगामी राजनीतिक बाटो तय गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
विकाशन्युजसँगको संवादमा रहेका कार्यकर्ताले भेलाबाट मुख्यतः चार अपेक्षा रहेको बताए । भेलामा भेटिएका अर्घाखाँचीका ऋषि भुसालले निर्वाचन पराजयको इमानदार समीक्षा, पार्टीभित्रको गुटबन्दी अन्त्य, संगठनमा योगदानका आधारमा अवसरको सुनिश्चितता र आगामी निर्वाचन जित्ने स्पष्ट राजनीतिक रणनीति आवश्यक रहेको बताए ।
निर्वाचन हारको जिम्मेवारी नेतृत्वले लिनुपर्छ
एमाले कार्यकर्ताको पहिलो अपेक्षा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको वास्तविक कारण खोतल्नु रहेको अर्का नेता गणेश खनालको मत छ । निर्वाचनमा पराजय हुनुमा बाह्य परिस्थिति र विपक्षी दलको प्रभावलाई मात्र कारण देखाएर नेतृत्व उम्किन नहुने उनको बुझाइ छ ।
पार्टीले जनताको विश्वास किन गुमायो ? नेतृत्वका निर्णयप्रति जनतामा असन्तुष्टि किन बढ्यो ? संगठन परिचालन प्रभावकारी किन हुन सकेन ? उम्मेदवार छनोटदेखि चुनावी अभियानसम्म कहाँ कमजोरी भयो ?
कार्यकर्ताले यस्ता प्रश्नको जवाफ खोजिरहेको विकासन्युजसँग संवादमा रहेका नेताहरूले बताए ।
निर्वाचन परिणामलाई सामान्य राजनीतिक उतारचढावका रूपमा व्याख्या गरेर मात्र पार्टी पुनर्जीवित हुन नसक्ने उनीहरूको निष्कर्ष छ । त्यसैले नेतृत्वदेखि स्थानीय तहसम्मका कमजोरीको निष्पक्ष समीक्षा गरी आवश्यक जिम्मेवारी निर्धारण गरिनुपर्ने अपेक्षा राखेको मुस्ताङका नेता दिपक लालचनले जानकारी दिए ।
गुटबन्दीको अन्त्य
एमाले कार्यकर्ताको अर्को प्रमुख अपेक्षा पार्टीभित्र मौलाउँदै गएको गुटगत प्रवृत्तिको अन्त्य हो । नेतृत्वको निकटताका आधारमा अवसर र जिम्मेवारी वितरण हुने प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको उनीहरूको गुनासो छ ।
पार्टीभित्र फरक मत राख्ने नेता तथा कार्यकर्तालाई प्रतिस्पर्धी वा विरोधीका रूपमा हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनीहरूको चाहना छ । दाङका नेता पूर्ण खत्री नेतृत्व चयनदेखि जिम्मेवारी बाँडफाँटसम्म सबैलाई समेट्ने वातावरण निर्माण हुनुपर्ने अपेक्षा रहेको बताउँछन् ।
निर्वाचनपछि देखिएको निराशा र असन्तुष्टिलाई सम्बोधन नगरे संगठन थप कमजोर हुन सक्ने चिन्ता आम कार्यकर्तामा छ । त्यसैले राष्ट्रिय भेलाले एकताको सन्देश मात्रै होइन, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने ठोस योजना दिनुपर्ने उनीहरूको माग छ ।
नयाँ पुस्तालाई अवसर
वर्षौदेखि पार्टी संगठनमा काम गरेका कार्यकर्ताको उचित मूल्यांकन नहुनु एमालेभित्रको अर्को असन्तुष्टि हो । पार्टीका लागि समय, श्रम र स्रोत खर्चिएका कार्यकर्ताले नेतृत्वको निकटताका आधारमा मात्र अवसर पाउने प्रवृत्ति अन्त्य हुनुपर्ने अपेक्षा गरेका छन् ।
स्थानीय तहमा जनतासँग जोडिएर काम गरेका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।
पार्टीको जिम्मेवारीमा युवा पुस्ता, महिला तथा नयाँ राजनीतिक सम्भावना बोकेका व्यक्तिलाई पर्याप्त स्थान दिनुपर्ने आवाज पनि कार्यक्रमस्थलमा भेटिएका कार्यकर्तामा देखिएको थियो ।
कार्यकर्ताको अपेक्षा केवल नेतृत्वमा पुस्तान्तरणको नारा होइन, निर्णय प्रक्रियामै नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु भएको रुपन्देहीका तारानाथ ढकालको विचार रहेको छ । क्षमता, योग्यता, सक्रियता र जनतामाझको प्रभावका आधारमा जिम्मेवारी वितरण गर्ने प्रणाली विकास हुनुपर्ने उनको चाहना छ ।
चुनाव जित्ने स्पष्ट रणनीति आवश्यक
एमाले कार्यकर्ताको चौथो अपेक्षा पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने स्पष्ट राजनीतिक कार्ययोजना हो । आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन र जनसम्बन्ध विस्तारको ठोस कार्यक्रम बनाउनुपर्ने उनीहरूको माग छ ।
पार्टीका गतिविधि नेताका भाषण र औपचारिक कार्यक्रममै सीमित हुन नहुने उनीहरूको बुझाइ छ । भोजपुरका मकर खड्काले महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासन, शिक्षा, स्वास्थ्य र जनजीविकासँग जोडिएका मुद्दामा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
जनताका समस्यामा प्रत्यक्ष जोडिने, स्थानीय तहमा संगठन सक्रिय बनाउने र सरकारका कामकारबाहीमाथि तथ्यपूर्ण राजनीतिक हस्तक्षेप गर्ने रणनीति आवश्यक रहेको उनको बुझाइ छ ।
नेतृत्वका लागि परीक्षा
राष्ट्रिय कार्यकर्ता भेलामा नेतृत्वले पार्टीको अवस्था, निर्वाचन परिणाम र आगामी राजनीतिक दिशाबारे धारणा राख्नेछ । तर कार्यकर्ताको चासो भाषण र प्रतिबद्धतामा मात्र सीमित छैन । उनीहरू ती प्रतिबद्धता पार्टीको व्यवहार र संगठन सञ्चालनमा देख्न चाहन्छन् ।
एमालेले लामो समयसम्म देशको प्रमुख राजनीतिक शक्तिका रूपमा आफ्नो प्रभाव कायम राखेको थियो । तर पछिल्लो निर्वाचन परिणामले पार्टीको राजनीतिक आधार र जनविश्वासबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको कार्यकर्ताको आवाज रहेको छ ।
त्यसैले यो भेला एमालेका लागि नियमित सांगठनिक कार्यक्रमभन्दा बढी राजनीतिक आत्मसमीक्षा र सुधारको अवसर बनेको नेता खनालले जानकारी दिए ।
कार्यकर्ताका चार अपेक्षा सम्बोधन गर्न नेतृत्व कति तयार हुन्छ भन्ने कुराले नै भेलाको उपलब्धि निर्धारण गर्ने भुसालले बताए ।