काठमाडौं । मोरङ उद्योग व्यापार संघले आर्थिक विधेयक २०८३ मार्फत उद्योग व्यवसाय क्षेत्रका लागि प्रदान गरिएका कर छुट तथा पुराना बक्यौता फछ्यौटसम्बन्धी व्यवस्थाबारे अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय कर दिवसको अवसर पारेर बुधबार (मंसिर २ गते) संघले आन्तरिक राजस्व कार्यालय, विराटनगर र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङको सहजीकरणमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साहले आर्थिक विधेयक २०८३ ले ल्याएका कर छुट र बक्यौता फछ्यौटका सुविधाबारे कतिपय उद्योगी व्यवसायी स्पष्ट नहुँदा अवसरबाट वञ्चित हुन सक्ने भएकाले अभिमुखीकरण आयोजना गरिएको बताए ।
उनले यस सुविधाले समस्याग्रस्त उद्योगी व्यवसायीलाई व्यवसाय सुचारु गर्न र करको दायरामा आउन सुवर्ण अवसर प्रदान गरेको उल्लेख गर्दै समयमै यसको लाभ उठाउन आग्रह गरे ।
अभिमुखीकरणमा आन्तरिक राजस्व कार्यालय, विराटनगरका जीवराज निरौला र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका सीए युवराज उप्रेतीले सहजीकरण गरेका थिए ।
उनीहरूले स्वच्छ कर प्रशासन, करदाताको दायित्व तथा अधिकार, आर्थिक ऐन २०८३ का दफा २५, २६, २८, ३० देखि ३३ र ३७ देखि ४९ मार्फत दिइएका कर छुट र बक्यौता फछ्यौटका प्रावधानबारे प्रष्ट पारेका थिए ।
यस्तै, व्यक्तिगत आयकर, पुँजीगत लाभकर, सम्पत्ति शुद्धीकरण, ’ग्रेलिस्ट’ तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डड्र्स (एनएफआरएस) बारे समेत जानकारी दिइएको थियो ।
छलफलका क्रममा उद्योगी व्यवसायीले राखेका जिज्ञासाहरूलाई आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव प्रसाद उप्रेती र चार्टर्ड एकाउन्टेन्ट्स संघ मोरङका अध्यक्ष सीए अश्वनी बंशलले सम्बोधन गरेका थिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य देवकीनन्दन अग्रवालले करको दायरामा ल्याउन गरिएका व्यवस्था प्रोत्साहजनक रहेको बताए भने अध्यक्ष बंशलले यस पटकको सुविधा विगतको तुलनामा अझ प्रशंसनीय र अधिकांश व्यवसायीलाई लाभान्वित तुल्याउने खालको रहेकाले अधिकतम उपयोग गर्न सुझाव दिए ।
प्रमुख कर अधिकृत उप्रेतीले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नियमित कर भुक्तानी गर्न र राज्यको सामाजिक सुरक्षा प्रणालीबाट लाभ लिन व्यवसायीलाई आग्रह गरे ।
संघका उद्योग उपाध्यक्ष संजय कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल सारडाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा निजी क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी, कर अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।