काठमाडौं । कमिल मिशाराको सानदार अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजमाथि ६१ रनको फराकिलो जित दर्ता गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर कमिल मिशाराले कीर्तिमानी ब्याटिङ गर्दै ५९ बलमा ५ चौका र १० छक्काको मद्दतमा अविजित १२० रनको शतकीय पारी खेले ।
एनपीएलमा चितवनको यो अहिलेसम्मकै उच्च टिम स्कोर हो भने मिशाराको शतक यस सिजनको उत्कृष्टमध्ये एक हो । सुरुआतमा २२ रनमै २ विकेट गुमाएर दबाबमा आएको चितवनलाई उकास्न मिशाराले कप्तान रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको कीर्तिमानी शतकीय साझेदारी गरे ।
बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन जोडे । बलिङतर्फ काठमाडौंका कप्तान करण केसी र रासिद खानले समान २-२ विकेट लिए । २०५ रनको भारी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभर पूरा खेले पनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३० र सहान अराचिगेले २४ रन बनाए पनि अन्य ब्याटरले टिकेर खेल्न सकेनन् ।
चितवनका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंलाई सुरुदेखि नै दबाबमा राखे । घातक बलिङ गरेका रिजन ढकालले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट हात पारे भने उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । यसैगरी, कुशल मल्ल र सलाउद्दिन खानले १-१ विकेट बाँडे।
यो जितसँगै फाइनल प्रवेशका लागि चितवनले बिहीबार सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।