काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ ।
भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने छन् ।
समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ ।
यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहने छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ ।
ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका खड्कासँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको जिम्मेवारीमा रहेर काम गरेको अनुभव समेत छ ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई स्वागत गर्दै आईएमई समूहका हरेक कम्पनीलाई अझ बलियो बनाउने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न सक्नेमा विश्वस्त रहेको बताए ।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्टु खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा नतिजा निकाल्न आफ्नो ध्यान केन्द्रित रहने बताए ।
नेपालको अग्रणी व्यावसायिक समूहको रुपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ ।