काठमाडौं परिसरले भन्योः भ्रम छर्नेविरुद्ध कानुनी बमोजिम कारबाही हुन्छ

काठमाडौं । इनम सापकोटा प्रकरणमा भिडियो र मोबाइलको लोकेशन लगायतको विषयमा सार्वजनकि भएपछि काठमाडौं जिल्ला प्रहरी परिसर पुनः बोलेको छ ।

परिसरका अनुसार सापकोटाविरद्ध कानुन, विधि, प्रक्रिया बमोजिम अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ । मुद्दाको अनुसन्धानका विषयवस्तुहरू गोप्य रूपमा अनुसन्धान भइरहेकोसमेत प्रहरीले बताएको छ । 

संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए । 

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न प्रहरी र परिसर सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ । अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम कारबाही गरिने थापाले उल्लेख गरे ।

मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुने भएकाले आधिकारिकता पुष्टि गर्न उनले अनुरोध गरेका छन् ।

सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। 

Share News