पूर्वाधार मन्त्रालयले सेवाबाट हटायो ७ जना इन्जिनियर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ बमोजिम इन्जिनियर पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठलाई सेवाबाट हटाएको हो ।

मन्त्रालयले कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ । सेवाबाट हटाइएका सबै कर्मचारी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, भवन तथा वास्तुकला उपसमूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर हुन् ।

मन्त्रालयका अनुसार पदमेन्द्रप्रसाद श्रेष्ठलाई निजामती सेवा ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (छ) बमोजिम बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको हो ।

अन्य छ जना इन्जिनियरलाई भने सोही ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (ज) बमोजिम कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

Share News