काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.८ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । मंगलबार उपत्यकाको न्यूनतम र अधिकतम दुवै तापक्रम सोमबारको तुलनामा घटेसँगै चिसो महसुस गरिएको हो ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा झरेको छ । 

यस्तै, अधिकतम तापक्रमसमेत घटेर २१.१ डिग्री सेल्सियसमा सीमित भएको छ । सोमबार उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

एकै दिनमा तापक्रममा आएको यो गिरावटले उपत्यकामा चिसो ह्वात्तै बढाएको छ ।

महाशाखाले दैनिक रूपमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । जसअनुसार बिहान ८ः४५ बजे न्यूनतम तापक्रम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्ने गरिन्छ । 

मौसमविद्हरूका अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोपनलाई जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको मौसमको अवस्था मापन गर्छ । 

हाल उपत्यकामा मात्र नभई देशभरकै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।

Share News