इमेज सहकारी ठगी प्रकरणमा ढोरपाटनका पूर्वमेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद

फाइल तस्बिर ।

काठमाडौं । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जना दोषी ठहर भएका छन् । 

कास्की जिल्ला अदालतले उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते यस्तो फैसला गरेको हो ।

अदालतले सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय सुनाएको छ । उनलाई १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरू दुवैलाई जनही १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

अदालतले अन्य चार जनालाई पनि कैद र जरिवानाको फैसला गरेको छ । निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरूलाई जनही २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार बचतकर्ताले नेपालीसहित १५ जनाविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै अदालतले सात जनालाई सजाय सुनाएको हो । मुद्दामा १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग गरिएको थियो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

नेपाली २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

उनी बागलुङकै इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको अर्को मुद्दामा पनि थुनामा छन् । उनी २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।

नेपालीमाथि पोखरा र बागलुङमा रहेका इमेज सहकारीका अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Share News