अब काठमाडौंमा चौबीसै घण्टा बजार खुल्ने, प्रशासनले थाल्यो तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई चौबीसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी सुरु गरेको छ । 

तर, यसका लागि आवश्यक पूर्वाधार र शान्ति सुरक्षाको बृहत् तयारी नभएसम्मका लागि भने हाल तोकिएकै समयसीमाभित्र मात्र व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा मंसिर १ गते जारी गरिएको  सूचना अनुसार काठमाडौं जिल्लाभित्रका दरबारमार्ग र ठमेल जस्ता पर्यटकीय क्षेत्रहरूलाई यसअघि नै चौबीसै घण्टा खुला राख्ने निर्णय भई ती क्षेत्रहरू हाल सञ्चालनमा रहेका छन् । 

संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लालाई पूर्ण रूपमा चौबीसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धका साथै अन्य न्यूनतम पूर्वाधारहरू जुटाउनुपर्ने प्रशासनको भनाइ छ ।

प्रशासनका अनुसार चौबीसै घण्टा बजार खोल्नका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत, इन्टरनेट, सीसीटीभी, सडक बत्तीको पर्याप्त व्यवस्थासहित यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको विश्वसनीय प्रबन्ध मिलाउने रणनीतिक तयारी भइरहेको छ ।

यस योजनालाई मूर्तरूप दिन निकट भविष्यमै काठमाडौं जिल्लाभित्रका अन्य सम्पूर्ण स्थानहरूका व्यापार, व्यवसाय, बजार क्षेत्रका सरोकारवालाहरू, स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसमेतको सहभागितामा छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने ब्यहोरा सूचनामा उल्लेख छ ।

बृहत् र भरपर्दो तयारी सकिएपछि मात्रै काठमाडौंको समग्र क्षेत्र चौबीसै घण्टा खुला गर्ने गरी निकट भविष्यमा निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

त्यसबेलासम्मका लागि पहिलेदेखि नै चौबीसै घण्टा खुला गरिएका ठमेल र दरबारमार्ग बाहेकका अन्य क्षेत्रका व्यवसायीहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि साविकबमोजिम तोकिएकै समयसीमाभित्र मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।

null

Share News